श्रीराधाकृष्ण खट्यात्राको मार्ग परिवर्तन

पानीटंकी–रोडशेषदेखि राजवंशी चोक–पुष्पलालचोकको मार्ग तय

आइतबार, भाद्र १३, २०७८ || 614  पटक पढिएको
फ़ाईल तस्बिर

भदौ १५ गते मंगलबार विराटनगरमा निस्कने ९० औं संस्करणको श्रीराधाकृष्ण खटयात्राले रोडशेष चौकदेखि राजवंशी चोकसम्मको यात्रा बनाउँदै पुष्पलालचौक भएर मन्दिर परिसर पुग्ने कार्यक्रम तय गरेको छ । बरगाछीदेखि उत्तर र विराटनगरको पुरानो वस्ती उत्तरी विराटनगरतर्फ यसखाले धार्मिक यात्रा पहिलो पटक भएको हो । यस्तै ट्राफिकचोकबाट रोडशेषचोकको यात्रा पनि नयाँ हो ।

नेपाल प्रहरीको बैण्डबाजाले खटयात्राको अघिल्लतिर रहेर विराटनगरवासी र भक्तजनलाई स्वागत गर्ने छ । यसअघिको रथयात्रा महेन्द्रचौकदेखि बरगाछीसम्मको मात्रै यात्रा तय गर्ने गरेको थियो । कोभिड–१९ महामारीको अवस्था सामान्य भएपछि पुनः आगामीी वर्षदेखि रथयात्राले पुरानै बाटो तय गर्ने छ । बि.स. १९८८ सालदेखि विराटनगरमा खटयात्रा र २०२५ सालदेखि खटयात्रा, रथयात्राको रूपमा निस्कन थालेको हो । मंगलबार विराटनगरमा निस्कने खटयात्राको ९० औ संस्करण र रथयात्राको ५३ औं संस्करण हो ।

शनिबार विराटनगरमा बसेको श्रीराधाकृष्ण रथयात्रा समारोह समितिको बैठकले इतिहासमा पहिलो पटक खटयात्राले रोडशेष चोकदेखि राजवंशी चोकसम्मको लामो यात्रा तय गर्ने सहमति भएको उपाध्यक्ष नन्दकिशोर राठीले जानकारी गराए । मंगलबार अपरान्ह कुनै समयमा विराटनगर–१ स्थित पानीटंकीबाट गाडीमा निस्कने युगल जोडी भगवान राधाकृष्ण सवार मूर्तिको खटयात्रा मेनरोड भएर रोडशेष चौक पुग्ने छ ।
रोडशेष चोकबाट महेन्द्रचोक, बरगाछीचोक, कञ्चनबारी चोक हुँदै राजवंशी चोक पुग्नेछ । राजवंशी चोकबाट पुष्पलालचोक हुँदै पुनः रथ पानीटंकीमा विसर्जन हुने छ । रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझा नेतृत्व समितिका पदाधिकारीहरू शनिबारनै नेपाल प्रहरीका १ नं. प्रदेश प्रहरी प्रमुख अरूण बीसीलाई खटयात्राले तय गर्ने यात्राबारे जानकारी गराए ।

विराटनगरमा निस्कने श्रीराधाकृष्ण रथयात्रा दक्षिण एशियाकै जगन्नाथ पुरीभन्दा दोस्रो ठूलो रथयात्रा हो । जसको सुनसरी मोरङ र झापासहित भारतका ५ लाखभन्दा बढी भक्तजनले रथयात्राको अवलोकन गर्ने गरेका थिए । कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष रथयात्रा खटयात्राकै रूपमा निस्किएको थियो । अघिल्लो वर्ष विराटनगरमा निषेधाज्ञा जारी रहेको कारण गोप्य समयमा निकालिएको खटयात्राको बारेमा विराटनगरवासीले थाहै पाएनन् ।

अघिल्लो वर्ष विराटनगरको पानीटंकीबाट निस्किएको खटयात्रा नगरक्षेत्रको विभिन्न भाग परिक्रमा गर्दै ३० मिनेट भित्र मन्दिर प्रवेश गरेको थियो । अघिल्लो वर्षको तुलनामा विराटनगरमा कोभिड–१९ महामारीको संक्रमण कम हुँदै गएको र दिउँसोको निषेधाज्ञा हटिसकेको र बजार खुल्ला रहेको अवस्थामा सम्पूर्ण विराटनगरवासी भक्तजनहरूले खटयात्राको अवलोकन गर्न पाउने छन् ।

विराटनगर–१ पानीटंकी स्थित श्रीराधाकृष्ण मन्दिरमा पुजारीले रथको पुजा गरिसकेपछि गाडीमा निस्कने खटयात्राको अगाडि नेपाल प्रहरीको बैण्डबाजाले विराटनगरवासीलाई स्वागत गर्ने छन् । गाडीमा सजावट गरी युगलजोडी राधाकृष्णको मूर्ति राख्ने र कतै नरोकी डेढ घण्टाको समयभित्र पुरा विराटनगरको परिक्रमा गराउने सचिव कैलाश रेग्मीले जानकारी गराए ।

रथयात्रा समारोह समितिले रथयात्राको समयमा ११ हजार दिई विशेष पुजा गराउने चलनलाई प्रतिबन्ध लगाइएको कोषाध्यक्ष बजरङ्ग बाहेतीले जानकारी गराए । युवा समाजसेवी मनोजििवक्रम शाहले भगवान राधाकृष्णको युगलजोडीलाई परिक्रमा गराउने गाडीदेखि सजावटसम्मको व्यवस्था गर्ने छन् ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!