
विराटनगर। नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल सितोरियो कराते संघको स्वीकृतिमा मोरङ जिल्लामा आयोजित जिल्ला स्तरीय कराते छनौट प्रतियोगिता शनिबार सम्पन्न भएको छ। प्रतियोगिता विराटनगरस्थित शहिद मैदानको कवर्ड हलमा सम्पन्न भएको हो।


नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरको संयुक्त कार्यक्रम तथा आयोजनामा हुन गइरहेको राष्ट्रिय काष्ठमण्डव कराते प्रतियोगिता र लगनखेल डोजो ललितपुरको आयोजनामा हुने ५औं कृष्णप्रसाद भट्टराई स्मृति कप प्रतियोगिताका लागि खेलाडी छनौट गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको थियो।

२०८२ साल माघ ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने राष्ट्रिय काष्ठमण्डव कराते प्रतियोगिता तथा २०८२ फाल्गुन ७ गतेदेखि ९ गतेसम्म हुने ५औं कृष्णप्रसाद भट्टराई स्मृति कपका लागि मोरङ जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडीहरूको छनौट यसै प्रतियोगिताबाट गरिएको हो।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री माननीय रामप्रसाद महतोले गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै मन्त्री महतोले करातेसहित सम्पूर्ण खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारको तर्फबाट सकेसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले खेलाडीहरूको उज्ज्वल भविष्य निर्माणका लागि आवश्यक पहल गर्ने समेत बताउनुभयो।
जिल्ला छनौट प्रतियोगितामा १८ वर्षभन्दा माथिका खेलाडीहरूको सहभागिता रहेको थियो। कुमुते तर्फ पुरुष ७ जना र महिला ८ जना खेलाडी छनौट भएका छन्। प्रतियोगितामा पुरुष तथा महिला कुमुते तौल समूह, एकल काता र टिम काताका स्पर्धा सञ्चालन गरिएको थियो।
नेपाल कराते महासंघका मोरङ जिल्ला सचिव राम लिम्बूले आगामी माघ ४र ५ गते प्रदेश स्तरीय छनौट प्रतियोगिता आयोजना हुने जानकारी दिनुभयो।