बिहिबार, भाद्र १०, २०७८ || 1067  पटक पढिएको

यस वर्षको तीज (हरितालिका) भदौ २४ गते परेको छ । यसपटक पनि गत बर्षजस्तै कोरोना महामारी बढिरहेको छ । मृत्यु र संक्रमणको खबरले समाजलाई छोपेको छ । विगतमा एक महिना अगावै हुने पार्टी, भोज त भएका छैनन् ।

प्रशासनले चाडवाडमा भीडभाड नगर्न सुझाई रहेको छ । महिलाले महान पर्व तीज हरेक वर्ष उल्लासमय रुपमा मनाउँदै आएका छन् । कोरानाकाल भन्दा अघि १ महिनासम्म लाग्ने तीज पछिल्लो समय घरमा मात्र सीमित भएको छ ।
साथीसङ्गी भेला गरेर दर खाने कार्यक्रम बन्द भएको छ । कसरी मन बुझाइरहेका छन् नारीहरूले ? विवाहित महिलाले आफ्नो पतिको दिर्घायुको कामना र अविवाहित महिलाले सुयोग्य वर पाउँ भनी निराहार ब्रत बसेर तीज मनाइन्छ । अघिल्लो दिन मिठा मिठा खानेकुरा खाने र राती उठेर पनि मिठामिठा खानेकुरा (दर) खाएर भोलीपल्ट महिलाहरू दिनभरी पानी समेत नखाई ब्रत बस्ने गर्दछन् । ब्रतको दिन नजिकैको शिव मन्दिरमा पूजाआजा गर्ने र दिनभरी पानी पनि नखाई नाचगान गरेर यो पर्व मनाउने गरिन्छ ।

टाढा रहेका आफ्ना छोरी चेलीलाई बोलाएर मिठामिठा खानेकुरा ख्वाइने यो पर्व महिलाहरूको सबैभन्दा प्रिय र महत्वपूर्ण चाँड हो । पराइघर गएका दिदीबहिनीलाई आफ्ना दाजुभाई घरमै लिन आउने कति राम्रो पर्व हो तीज । लामो समयसम्म माइती जान नपाएका चेलीलाई यो पर्वले केही दिन भएपनि माइतीमा रमाइलो गर्ने अवसर जुराएको छ । पहिलाका तीज गीत कति राम्रा हुन्थे ।

अहिले पनि ती गीत सुन्दा आनन्द आउँछ । ‘तिजको बेलामा सबै जान्छन माईत, आफ्नो माइती मुङलान पारी छैन साहित’ कति मर्मस्पर्शी गीत छ । तर अहिलेका तीज गीत सुन्दा लाज लाग्ने खालका छन्–यसापालाको तीजमा कोरोनाले बीचबीचमा….

केही वर्षदेखि तीजलाई देखासिखीको रुपमा मनाउन थालिएको छ । नयाँ नयाँ साडी चोलो र गरगहना महिलाहरूले देखाउन पाएका छैनन् । बर्षौ भेट नभएका छोरी चेलीसँग आमाबुवा र दाजुभाईको भेटघाट र आपसी भाइचार बढाउने यो पर्व आपसी देखासिखीले यसको गरिमालाई ओझेल पारेका छ । १ महिना अघिदेखि दरको नाममा गरिने फजुल खर्चले पनि यो पर्वको महत्वलाई घटाइरहेको छ ।

प्रत्येक दिन दरको नाममा गरिने फजुल खर्चले न्यून आय भएका सर्वसाधारण पीडामा परेका छन् । छिमेकीले बोलाउँछन् जानै प¥यो, अरुकोमा गएर खाएपछि १ दिन त आफुले पनि ख्वाउनै प¥यो । सबैलाई भेलापार्दा मोटो रकम खर्च हुन्छ । नजादा पनि समाजमा नमिले जस्तो, साथीभाईसँग टाढिए जस्तो हुने । अहिले कोरोनाले गर्दा फजुल खर्च नगर्ने महिलाहरू खुशी भएका छन् । तर तिजमा रमाइलो गर्ने र तीजको नाममा राम्रै खर्च गर्दै आएका महिलाहरू कोरोनाको कारणले रमाइलो गर्ने बाटो बन्द भएको गुनासो गर्छन् । पार्टी प्यालेसमा सयौं महिला भेला भएर दर खाने कार्याक्रम बन्द भएको छ ।

२ वर्षदेखि महिलालाई पापी कोरोनाले गर्नुसम्म गरेको छ । न त महिना दिनसम्म दर खान पाएका छन् नत भेला भएर नाचगान नै गर्न पाएका छन् । तीजका लागि किनेका नयाँ नयाँ साडी चोलो र गरगहना तराजमै थन्किएका छन् । बजारमा आएका नयाँ नयाँ गीत घर–घरमा मात्र गुन्जीएका छन् । महिलाहरुले नयाँ गितमा कम्मर मर्काएर नाच्न पाएका छैनन् ।

नयाँ लुगा गाएर नाचगान गरेको टिकटक बनाउन पाएका छैनन् । कम्ता पीडा छ महिलालाई । वर्ष दिनमा आउने चाडपनि राम्ररी मनाउन नपाइने । अहिले पनि घरमा भेला भएर दरखाने कार्य जारी छ । यस पर्वलाई सर्वस्वीकार्य रुपमा मनाउनु पर्छ । यस पर्वको गरिमालाई बचाउने जिम्मेवारी महिलालाई नै छ । पर्व मनाउनुपर्छ तर सामान्य रुपमा कसैलाई करकापमा पारेर हैन । आफ्नो आय अनुसारको पर्व मनाउनु पर्छ । तडकभडकले कसैलाई पनि फाइदा गर्दैन । कुनै पनि पर्वले आर्थिक भार नपारोस ।

यसपटकको तीजलाई पनि घर भित्रै सीमित गर्नुहोस् । ज्यान रहे तीजका आउँदा कार्यक्रमहरू गर्दै गरौला । लुकेर कुनै कार्यक्रम नहोस् । भीडले संक्रमणलाई व्यापक बनाउँछ । सीमित आफन्तजन बसेर पर्व मनाउँदा केही विग्रन्न । तपाईंको सानो गल्तीले कोरोना फैलन दिनु हुन्न । कसैकोमा दर खान नजानूस र अरुलाई पनि निम्तो नदिनुहोस् । यसपटक धेरै महिलाको सिउँदो पुछिएको छ पापी कोरोनाले ।
१० हजारभन्दा बढीको ज्यान गएको छ । महिलाहरुलाई तिजको शुभकामना ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!