चिनबाट फैलिएको कोरोना भाइरसले नेपालमा दिनप्रतिदिन त्रास फैलिरहेको छ । छिमेकी राष्ट्र भएकाले चिनबाट भाइरस नेपाल भित्रिने त्रास हुनु स्वभाविक नै हो । त्रासकैबीच सिन्धुपाल्चोकमा कोरोनाको लक्षणसँग मिल्ने गरी सयौँ नागरिक विरामी परेपछि तरङ्ग सृजना भएको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको विरामी बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली जाँच गर्न त्यसतर्फ गएको छ । कोरोनाको लक्षणसंग मिल्ने रुघाखोकी र उच्च ज्वरोले सयौं स्थानीयवासी विरामी परेपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी खटाएको हो ।

कोरोनाको आशंका हुने गरी यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको थियो । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन् । माघ २३ गतेबाट यस्तो लक्षण देखिन सुरु गरेको थियो । कोरोनासंग लक्षण मिलेपनि गुम्बा गाउँमा चीनबाट फर्केको कोही नभएकाले कोरोनाको शंका गर्ने आधार नरहेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले उल्लेख गरेको छ ।

जुगलको गुम्बामा स्वास्थ्यकर्मि, औषधिहरु र माक्स खरीद गरी पठाईसकिएको छ । हाल सम्म बिरामी परेकाहरुको अवस्था भने सामान्य रहेको छ । यस्तो संक्रमण देखिएकाहरुलाई अरु ब्यक्ती संग सम्पर्कमा नआउन र छुटै बस्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

आशंका कोरोनाकै भए पनि अहिलेसम्म त्यसको पुष्टि नभएको र बिरामी निको हुँदै गएकाले कोरोनाको सम्भावना ज्यादै कम रहेका त्यहाँ खटिएका स्वास्थ्यकर्मीहरुले बताएका छन् । संक्रमित भेटिएको स्थान चीनसँगको सीमानजिकै पर्छ । यद्यपि, चीनसँग आवतजावत गर्ने बाटो भने त्यहाँ छैन । यसअघि चीनबाट संक्रमण फैलन सक्ने भन्दै चीनसँग जोडिएको यहाँको तातोपानी नाका बन्द गरिएको थियो ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनसहित विश्वका दुई दर्जन बढी मुलुकमा फैलिएको कोरोना भाइरसबाट लाग्ने रोगको नामाकरण गरेको छ । रोगको औपचारिक नाम ‘कोभिड–१९’ दिइएको छ । कोरोनाको संक्रमण जटिल बन्दै गइरहेका बेला डब्लूएचओले नयाँ नाम दिएको हो ।

कुनै भूगोल, जनावर, व्यक्ति तथा समूहजनित शब्द उपयुक्त नहुने भएकाले उच्चारण योग्य र रोगसँग सम्बन्धित नाम जुराइएको हो । यसअघि इन्टरनेसनल कमिटीले एसएआरएस–कोभ–२ मा कोरोना भाइरसलाई वर्गीकरण गरेको थियो । कोरोनाको इपिसेन्टर वुहान रहे पनि चीनसहित दुई दर्जन देशमा संक्रमित भेटिएका छन् । भाइरसबाट सबैभन्दा बढी प्रभावित चीनमा हालसम्म हजार बढीको ज्यान गएको छ । बुधबारमात्रै एक सय बढीको ज्यान गएको थियो ।

४२ हजारभन्दा बढी यो नयाँ भाइरसबाट संक्रमित भएका छन् । डब्लूएचओले संक्रमण फैलँदै गएकाले यसविरुद्ध आक्रामक रूपमा लड्न विश्व समुदायलाई आग्रह गरेको छ ।

यसैबीच कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पताल पुगेका एक बिरामी भागेका छन् ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार उनी साउदी अरबका नागरिक हुन् । चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र ज्वरो आएपछि एक साताअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका थिए ।

सामान्य चेकजाँच गर्ने क्रममा उनलाई कोरोनाको आशंका भएपछि अस्पतालले निगरानीमा राख्ने निर्णय गरेको थियो । तर, निगरानीमा राख्ने तयारी गर्दागर्दै उनी भागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!