बुधबार, माघ २९, २०७६ || 796  पटक पढिएको

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागीदेखि लिएर प्रदेश २ को सरकार परिवर्तन गर्नेसम्मको गृहकार्यमा लागेको बोला ती दलका नेताहरु भारत भ्रमणमा निस्केका छन् ।

राजपा नेपाल अध्यक्षमण्डलका तीनजना सदस्य यतिखेर भारत भ्रमणमा छन् । राजपा नेपाल अध्यक्षमण्डलका सदस्यहरु शरतसिंह भण्डारी, राजेन्द्र महतो र राजकिशोर यादव भारत भ्रमणमा गएका हुन् । शरतसिंह भण्डारी माघ २१ र राजेन्द्र महतो माघ २२ गते दिल्ली गएका थिए भने राजकिशोर यादव पनि इण्डिया फाउण्डेशनको कार्यक्रममा भाग लिन भन्दै माघ २८ गते भारतको लखनउ पुगेका छन् । उनी लखनउ हुँदै दिल्ली पुग्ने बताइएको छ ।

भण्डारीका नीजि सचिवालय अनुसार उनी एक बैबाहिक कार्यक्रममा सहभागी हुनका लागि भन्दै दिल्ली गएका हुन् । यस्तै राजेन्द्र महतो श्रीमती शैलदेवीको उपचारका लागि उनी दिल्ली गएको उनका स्वकीय सचिव किशोर गुरुले बताए ।

उनीहरु तीनै जना शुक्रवार फर्किने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ । बिहे, स्वास्थ्य उपचार र कार्यक्रमको लागि भन्दै उनीहरु भारत गएपनि मिसन अर्कै रहेको पार्टीकै नेताहरुले बताएका छन् ।

संघीय सरकारमा सहभागी हुनका लागि वातावरण बनाउन उनीहरु भारत गएको बुझ्न गाह्रो नहुने राजपा नेपालका एकजना उपाध्यक्षले बताए ।

यसअघि राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादव पनि दिल्ली पुगेर फर्किसकेका छन् । उनी राजपा नेपाल सरकारमा जान नहुने पक्षमा छन् भने अहिले पनि सोही अडानमा कायम छन् ।

दिल्लीमा रहँदा त्यहाँका नेताहरुसँग भेट गरी उनले नेपालको वर्तमान राजनीतिक अवस्थाबारे जानकारी गराउँदै राजपा वर्तमान केपी ओली नेतृत्वको सरकारमा जान नहुने विषयमा धारणा राखेका थिए । यस्तै राजपा नेपाल र समाजवादी पार्टीबीच हुने एकीकरणको बारेमा पनि उनले त्यहाँका नेताहरुसँग कुरा गरेका थिए । दुई पार्टीबीच एकीकरण भए एउटा शक्ति निर्माण हुने कुरा उनले भारतीय नेता समक्ष राखेका थिए ।

त्यस्तै, उनले संघीय सरकारमा सहभागी भएपछि मधेशका कुनै पनि माग पूरा नहुने दावी गर्दै त्यसका लागि पहिला संगठित हुनुपर्ने धारणा राखेका उनी निकट स्रोतले बताएको छ ।

तर अहिले गएका नेताहरु सरकारमा सहभागी हुनका लागि लविङमा लागेको स्रोतहरुको दावी गरेको छ । नेता शरतसिंह भण्डारी, राजकिशोर यादव र राजेन्द्र महतो संघीय सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् । उनीहरुले भारतीय जनता पार्टी (भाजपा) का केही शीर्ष नेताका साथै नेपाल मामिला हेर्ने सरकारी अधिकारीहरुसँग भेटवार्ता गरेको बताइएको छ ।

यसैबीच भारतको इण्डिया फाउण्डेशन, नीति अनुसन्धान प्रतिष्ठान नेपाल र नेपाल इण्डिया चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री काठमाडौैको संयुक्त आयोजनामा बुधबारदेखि लखनउमा कार्यक्रम शुरु भएको छ ।

नेपाल–भारतको दुई पक्षीय सम्बन्धको बारेमा आयोजित संवाद कार्यक्रममा नेपालको तर्फबाट राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवसहित काँग्रेसका महामन्त्री शंशाक कोइराला, काँग्रेसका अर्का नेता मिनेन्द्र रिजाल, नेकपा केन्द्रीय सदस्य खिमलाल देवकोटा, लेखक श्रीकृष्ण अनुरुद्र गौतम, प्रोफेसर कृष्णचन्द्र शर्मा, पूर्व राजदूत दीपकुमार उपाध्याय, मृगेन्द्रबहादुर कार्की, डा.चन्द्रदेव भट्ट, पूर्व डिआइजी रमेश खरेल, अवकाश प्राप्त सेना विनोज वस्न्यातलगायत सहभागी छन् ।

कार्यक्रम बिहीबारसम्म चल्नेछ । सो कार्यक्रमपछि यादव दिल्ली पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!