हिपमत डटकम

आइतबार, साउन २४, २०७८ || 569  पटक पढिएको
तस्बिर- गुगल

दिपेन न्यौपाने

कुरो २०४५ सालको हो । हाम्रो देशमा निरंकुश पञ्चायती व्यवस्था थियो । म भर्खर भर्खर विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अध्ययन गर्न थालेको थिएँ । क्याम्पसमा पञ्चायतविरोधी केही कार्यक्रमहरू हुन थालेका थिए । विद्यार्थी संख्या धेरै थियो । क्याम्पसबाट जुलुश निस्कँदा बजारमा रमिता हुन्थ्यो । त्यही क्रममा एकपटक क्याम्पसबाट निस्केको पञ्चायत विरोधी हाम्रो जुलुश ट्राफिक चोक पुगेको मात्र के थियो पुलिसको धरपकड सुरू भयो ।

पुलिसले विद्यार्थी नेता महेश रेग्मीलगायतलाई समातेर प्रहरी हिरासतमा राख्यो । ठूलो संख्यामा रहेका हामीलाई लाठी लगाएर प्रहरीले लखेट्यो । मलाई नि पक्रे हुन्थ्यो भन्ने ठानेको थिएँ । किनकि म पनि महेश रेग्मीजस्तै विद्यार्थी नेता भएर सबै सामु चिनिने रहर थियो । तर त्यसो हुन सकेन । त्यसको कारण त मलाई पछिमात्र थाहा भयो । नेतालाई समातेपछि नेतृत्व गर्ने हुँदैन अनि नाराबाजी बन्द हुन्छ भन्ने रहेछ । म त फगत जुलुशको एक समर्थक मात्र थिएँ । मलाई कक्षाकोठाका सबै सहपाठीले त चिन्दैन थिए ।

यसरी पञ्चायतविरोधी आन्दोलन चर्किन थालेपछि सरकारले एकाएक आफ्ना सबै क्याप्पस अनिश्चित कालसम्मका लागि बन्द ग¥यो । त्यसो गर्नुको कारण विद्यार्थी आन्दोलनले उग्र रूप नलिओस् र पञ्चायत बचोस् भन्ने थियो । त्यसपछि म फर्किएर आफ्नै गाउँ रमाइलो गएँ । निजी क्याम्पस थिएनन् त्यो बेला ।
क्याम्पस बन्द भएपछि बुवाले हजुरबाबाट पाएको अंशको अलिकति खेत थियो । त्यही जोत्न थालेँ म । जिल्लाबाट विद्यार्थी नेता हेमराज पन्त, महेश रेग्मी मेरो घरमा आएर नजिकको जनकल्याण निमावि लानु भयो । त्यहाँ खुल्ला चौरमा एउटा सानो भाषण कार्यक्रम भयो । त्यो कार्यक्रम सकेर उहाँहरू फर्किनु भयो । त्यो बेला आन्दोलनमा लाग्नु पर्छ, पञ्चायत ढाल्नु पर्छ भन्ने अभिप्राय थियो उहाँहरूको ।
एक दिनको कुरो हो । म खेत जोत्न गएको थिएँ । जिल्लाका विद्यार्थी नेता भेषनाथ रिजाल आएर खेतको आलीमा पर्चाको मुठो डल्लाले थिचेर स्कुलमा बाँड्नु भनेर जानु भयो । म त खुशीले गद्गद् पो भएँ त ।

हतार हतार गोरूको पुच्छर निमोठेर तीन घण्टा लाग्ने समय एक घण्टामा पूरा गरेँ । गोरू पनि खोलेँ । अनि सुख्खा रोटी र दूध खाजामात्र खाएर तिनै पर्चा झोलामा बोकेर बाहुनी गाउँ पञ्चायत क्षेत्रका स्कूल खोज्दै गएँ ।
त्यही क्रममा धिरनाथ सम्फुल विश्वास मावि बलुवाही पुगेँ । त्यहाँ विद्यार्थीमाझ पर्चा बाँडेँ । शिक्षक इन्द्र राईलाई शिक्षक संगठनको चिठी दिन खोजेको मान्नु भएन । वास्तवमा अर्का शिक्षक गोपाल श्रेष्ठलाई दिनु पर्ने चिठी थियो त्यो ।
उहाँ काठमाण्डौ जानु भएकोले उहाँलाई चिठी दिन सम्भव भएन । स्कुलमा जाँसुस भएको भन्दै इन्द्र सर चिठी लिन डराउनु भयो । त्यो चिठी जनसेवा मावि रमाइलोका बीएसी शिक्षक काशीनाथ दाहालले दिनु भएको थियो । त्यसपछि त्यहाँबाट हिंडेर आधा घण्टामा म काली मावि डाँगीहाट पुगेँ । त्यहाँ हेडरलाई भेट्नु पर्ने तर उहाँ हुनुहुन्न थियो ।

त्यहाँ पनि मैले विद्यार्थीमाझ पर्चा बाँडिदिएँ । अनि त्यहाँबाट जनता मावि बाहुनी जान हिंडेँ । तर अलिकति हिंडेपछि एउटा भाइ आएर सरले बोलाउनु भएको छ भनेर पुनः काली मावि डाँगीहाट नै फर्काए । त्यहाँ पुग्नासाथ मलाई पञ्चायत कार्यालय जान भनियो । त्यहाँ पुग्नासाथ मसँग कडिकडाउ गरेर एकाएक सोधपुछ सुरू भयो ।
सोध्ने सायद वडाध्यक्ष हुनु पर्दछ । मैले उहाँको परिचय मागिन । त्यसपछि अरू दुई जना आएर मलाई उनीहरूसँग जान कर गरे । उनीहरू त सादा पोशाकका प्रहरी पो रहेछन् । म उनीहरूको नियन्त्रणमा रहेछु । त्यहाँबाट उनीहरूसँग हिड्न भनियो । उनीहरूले दुईतिरबाट मेरो पाखुरा समाते । मबीचमा उनीहरू छेउछेउमा त्यहाँबाट हामी तीन जनासँगै धूलेबाटो १२ बजेको टन्टलापुर घाममा हिंडेदै डेढ दुई घण्टापछि लक्ष्मीमार्गस्थित महेन्द्र राजमार्गमा पुग्यौं ।

त्यहाँको एक पसलमा उनीहरूले कोको पिए । मलाई नि कोक पिउन भनियो । पिएको कोकले मेरो नाक पीरो भएर फिँज पो आयो । कहिलै नखाएको चीज थियो मेरो लागि । चैत महीना टन्टलापुर घाम र उखुरमाउलो गर्मी थियो । त्यहाँबाट सार्वजनिक बस चढाएर मलाई इलाका प्रहरी कार्यालय बेलबारी लगियो ।
त्यहाँ निकै कडा केरकार भयो । पूरै शरीर खानतलासी गरेर फकाउने र धम्क्याउने काम भयो । साँझपख जिल्ला शिक्षा अधिकारी जीवछ साह चढेको जीप आयो । त्यो जीपको पछाडि दाउरा राखेको रहेछ । त्यही दाउरामाथि म र एकजना पुलिस बस्यौं विराटनगर जानका लागि ।
बाटोमा जिसिअले निकै फकाए । जति धेरै व्यक्तिको नाम पोल्न सक्यो त्यति छिटो रिहा हुन र इनाम पाउन सकिने उनको भनाइ थियो । यदि सिआइडीको काम गर्ने भए तलब पनि दिलाइ दिने आश्वास दिए उनले । मैले त्यो बेला केही जवाफ दिइन ।
त्यो गाडी सिधै जिल्ला प्रहरी कार्यालय (हालको वडा प्रहरी कार्यालय विराटनगर क ) पुग्यो । जिसिअ पनि त्यहाँ भित्र पसेर प्रहरी अफिसरसँग के वार्तालाप गरे अनि एकछिनपछि उनी फर्किए । त्यहाँ पनि मेरो शरीर खान तलासी भयो । काशीनाथ दाहाल (जनसेवा मावि का) सरले दिएको चिठी पनि उनीहरूले मेरो साथबाट बरामत गरे ।

एसएलसी दिएपछि कुखुरा पालेर र ट्युशन पढाएर अलिकति पैसा जम्मा गरेको थिएँ । त्यही पैसाले चौधकाँटी भएको जुत्ता लगाएको थिएँ । त्यो पनि पहिलोपटक किनेको क्याम्पस जानको लागि भनेर । ती जुत्ता खोल्न लगाए । अनि एउटा कोठामा लगेर राखे । त्यहाँ एक जना पाका व्यक्ति पलङमा सुतिरहेका थिए । सुरूमा त उहाँलाई मैले चिनिन । पछि थाहा भयो उहाँ लव प्रधान मित्र हुनु हुँदो रहेछ ।
उहाँले मसँग परिचय गर्नु भयो । राति मलाई त्यो कोठाबाट अर्को कोठामा सारियो । त्यसको केही क्षणपछि बयानको लागि भनेर एउटा कोठामा लगियो । त्यो कोठामा मधुरो बत्ती बलेको थियो । अनि त्यहाँ एक जना पुलिस अफिसरले कडाकडा स्वरमा सोधपुछ गर्न थाले । को को कम्युनिष्टसँग संगत छ भनेर सोधियो । अरू कस कसलाई चिनेको छ भनियो । उनले मादक पदार्थ पिएको ह्वास्स ह्वास्स गनाउ थियो । वरीपरि प्रहरी हबलदार र जवानहरू उभिएका थिए ।

मैले उनीहरूको अपेक्षा अनुसार जवाफ दिन चाहिन । अर्थात मैले सत्य कुरा बताइन् । त्यसपछि टुप्पीबाट धूवाँ छुट्ने गरी राम धुलाइ दिइयो । मेरो लामो कपाल समातेर उनीहरूको घुँडामा ठोक्काउथे । म बेहोस् भएपछि कोठामा लगेर हु¥याइ दिन्थे ।
अर्को साँझ अफिसरको कोठाका भित्तामा राखिएका कोटेशन पढ्न लगाइयो । जहाँ राजा रानीका भनाइ लेखिएका थिए । कुटपिट कम होस् भन्ने लागेर मैले फटाफट पढिदिएँ । तर त्यसो ठीक उल्लटो पो भयो । ती अफिसर ममाथि अझ आक्रामक भएर पो जाइ लागे त । किन भन्दा अराष्ट्रिय तत्वसँग साँठगाँठ गर्ने र राजसस्था पल्टाउ खोज्ने कम्युनिष्टले राजा रानीका कोटेशन पढ्दा अपवित्र हुन्छ रे । त्यो बेला म कम्युनिष्ट थिइन् । विशुद्ध एउटा कोरा विद्यार्थीमात्र थिएँ ।

यस्तो बेफ्वाँको फत्तुर लगाएर ममाथि चरम ज्यादति भयो । पुलिसको यस्तो व्यवहारबाट पुलिस र पञ्चायतप्रति मेरो अझ बढी वितृष्णा जागृत भयो । कहिले बयान लिन बोलाइएर अन्टसन्ट कुरा गर्ने र मनोबल गिराउने तथा मानसिक प्रताडना दिने गरे । कहिले दिनभर उभ्याको उभ्याइ राख्ने । उभिदाउभिदा खुट्टा कटकट खाएको हुन्थ्यो । शरीरमा ताकत थिएन । कहिले त जीउ नथामिएर बेहोस भई भूइँमा डङ्रङ लडिन्थ्यो पनि । त्यो बेला मेरो शरीर अति पातलो र ख्याउटे थियो । कुट्ता पनि यसको त मासु नै छैन । मजा आएन भन्थे पुलिस पनि ।
कहिले लुगा खोल्न लाएर कटबाँसका घोचामाथि सुताएर त्यसमाथि बुट लगाएका पुलिस चढेर गुड्काउने गर्दथे । अर्थात बेल्नाले गहुँका रोटी बेले झै गर्दथे । ऐया हाथो भन्न नपाइने । यदि भनेमा मारिदिन्छौं भन्थे । तँलाई कसैले चिन्दो रहेनछ मारेर सिंगिया खोलामा फालि दिन्छौं भन्थे । चरम शारीरिक र मानसिक यातनाले थलिएर बेहोस् हुइन्थ्यो ।

त्यसपछि कोठामा लगेर हु¥याइ दिन्थे । राति सुतेको अवस्थामा जड्याहाहरू ल्याएर शरीरमाथि फालिदिन्थे । साथीहरूका चप्पलको सिरानी लगाएर सुतिन्थ्यो । करीब एक सातासम्म यही क्रम चलि नै रह्यो । यातना दिने पुलिस अफिसरले सधैं रक्सी पिएकै हुन्थे ।
त्यसबीचमा मलाई अर्को कोठामा सारिएको थियो । त्यो कोठामा राजेन्द्र गौतम (हालका प्रतिनिधिसभा सांसद, संखुवासभा) जो मोरङ क्याम्पसका स्ववियु सचिव पनि थिए । निलमशेखर अधिकारी (रघुनाथ) स्ववियु सहसचिव, रामसिंह राई भोजपुर अनेरास्ववियु अध्यक्ष, काशीनाथ दाहाल, जनसेवा मावि रमाइलो, गोपाल श्रेष्ठ धिरनाथ सम्फुल विश्वास मावि बलुवाइ, यज्ञ अधिकारी मोरङ क्याम्पस विराटनगर, बाबुराम राई (२०५० मा जिविस उपसभापति खोटाङ) थिए ।

चरम यातनापछिको अति पीडाले मेरो गर्दन अधिक दुख्थ्यो । त्यो बेला भोजपुरे मित्र रामसिंह राईले सन्चो लगाएर मालिस गरिदिन्थे । त्यो बेलाको यातनाको असर अहिलेसम्म पनि कायमै छ । पछि प्रतिबन्धित अवस्थामा संघसंस्था खोल्न खोजेको, राजगद्दी ताकेको र राजतन्त्र पल्टाउन खोजेको आरोप लगाएर पुलिसले मुद्दा दर्ता गरेछ । साँघुरो कोठामा बाल्टीनमा पिसाब गर्नु पर्दथ्यो । अनि भरिएपछि फाल्न बाल्टीन बोकेर शौचालय लानु पर्दथ्यो । क्रमशः

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!