आइतबार, साउन २४, २०७८ || 446  पटक पढिएको
फाइल तस्बिर

पछिल्लो १० दिनको तथ्याङ्क हेर्ने हो भने प्रदेश नं. १ मा झण्डै सय जनाको कोरोना संक्रमणले ज्यान गएको छ । असामान्य मृत्युका खबरलाई समाजले सामान्य तरिकाले पचाउन थालेको छ । साइरन बजाउँदै घाटतर्फ अन्तिम संस्कारका लागि लगिने शवहरूले आम सर्वसाधारणलाई सामान्य सन्देश दिन्छ–पुनः अर्को एक व्यक्तिको मृत्यु भएछ कोरोनाले !
१० दिनकै संक्रमित संख्या हेर्ने हो भने दैनिक सरदर हजार जनालाई कोरोना लागेको छ । संक्रमण मुक्त हुनेको संख्या दैनिक ३ सय देखि ४ सयको हाराहारीमा छ ।

मृत्युका खबरदेखि समाज डराएको छैन र, यस्ता घटनासित जुधेर अघि बढ्नु पर्ने महसुस गरिरहेको छ । यो सकारात्मक कुरा पनि हो । तर, कोरोनालाई सामान्य आँक्ने भूल कसैले गर्नु हुन्न ।

मृत्युका खबरहरू यसरी नै आउने छन् आउँदा दिन हरूमा । नयाँ भेरियण्टको लहरबारे चर्चा सुरू भएको छ ।
मानुवामा खोपप्रति पनि विश्वास हुन छाडेको छ । खोप लगाउँदा पनि संक्रमण देखिएको छ । सोसल मिडियामा खोपको आलोचना गर्दै पोष्टहरू छरपष्ट पारिन्छ–मैले खोपको दुबै मात्रा लगाए तर, संक्रमणबाट अछुतो रहन सकिनँ ।

समाज कोरोनाको सेरोफेरोमा घुमिरहेको छ । घरघरमा कोरोनाको चर्चा छ । हामी कुनै न कुनै ठाउँमा चुकिरहेका छौं । सामाजिक दूरी पालना गर्ने सबालमा चुकेका छौं । मास्क लगाउने कुरामा चुकेका छौं । नियमन गर्ने निकायले हामीलाई कडा नगरेकै हो । बोलीमा कडा कारवाही भन्ने तर, कुनै कारवाही गर्ने निरीह प्रशासन हामीसित छ ।

त्यसैले हामी आवश्यकता भन्दा बढी लापरवाह भइरहेका छौं । हो, घर चल्नु पर्छ, समाज अघि बढ्नु पर्छ, देश पनि चलायमान हुनुपर्छ, दैनिकीमा कुनै समस्या आउनु हुन्न तर, यसको अर्थ यो होइन कि हामी पूर्ण रूपमा लापरवाह हुनुपर्छ । अघिल्तिर महामारीको संकट काल बनेर देखा परेको छ तर, हामी बेवास्ता गरिरहेका छौं । त्यसलाई सहज तरिकाले पचाउन खोजिरहेका छौं ।

कहिलेसम्म कोरोनाको पछि दगुर्ने ? यो त अमेरिका जस्तो विकशित देशलाई पनि थाहा छैन । कोरोनाको उद्गम चीनले आफुलाई कसोरी शून्यको अवस्थामा ल्यायो ? यसबारे कुनै अध्ययन गरिरहेका छैनौ । चीनले खोप पठाउँछ, सामग्री र उपकरण सहयोग गर्छ तर, कोरोना संक्रमण नियन्त्रण कसोरी गरियो भनेर सुझाव दिदैंन । हामीले लिने कोसिस पनि गरिरहेका छैनौ कि ?
अवस्था हेर्दा लाग्छ यो लम्बेतानको संकटको हो । लामो रेसको घोडा । म्याराथन दौडजस्तै…।

तथ्यले भन्छ जनसंख्या र भूगोलका आधारमा हेर्ने हो भने आज भारतको भन्दा संकटपूर्ण अवस्थामा नेपाल छ । भूगोलका हिसावले २४ गुणा सानो र जनसंख्यातर्फ झण्डै ५० गुणा सानो नेपालमा हरेक दिन ३ हजारको हाराहारीमा नयाँ संक्रमित र दुई दर्जनभन्दा बढीको दैनिक मृत्यु हुने क्रमलाई सामान्य तरिकाले पनि हेर्न सकिन्न ।

अब के गर्ने त ? हो, प्रश्न यो हो । यसको जवाफ के हुनसक्छ भने लापरवाह नहुने । मास्क अनिवार्य लगाउने । भीडभाड नगर्ने अनि सामाजिक दूरीको पूर्ण पालना गर्ने । वास्तवमा प्रयासहरूले सार्थकता पाउने हो भने समस्यालाई धेरै हदसम्म नियन्त्रणमा राख्न सकिन्छ । समस्या भयानक छ तर, समाधानका केही सामान्य उपाय पनि त छन् । हामी यसमा चुकेका छौं ।

आज हामी खोप लगाउन नपाएर धर्ना, सडक संघर्ष गरिरहेका छौं । हरेक कुरामा आन्दोलन गर्न हामी नेपालीलाई कसले पो सक्छ र ! अमेरिकामा सय डलर दिन्छु, खोप लगाउ भन्दा पनि अमेरिकनहरू आकर्षित छैनन् ।

खोप लगाउने÷नलगाउने आफ्नो ठाउँमा होला तर, चोके गफ छाडेर, घरमै चिया पिउने बानी बसालेर, भीडभाड नगरेर, अनिवार्य काममात्र गर्न घर बाहिर निस्कने हो भने र, मास्क लगाएको लगायै गर्ने हो भने कोरोनालाई परास्त गर्न सकिन्छ । र, पनि हामी चुकिरहेका छौं । यस्ता कुरामा चुक्दा हाम्रो मन यति कठोर भएको छ मृत्युका खबरहरू पनि सामान्य लाग्न थालेको छ ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!