राकेश कर्ण

बिराटनगर ,
मोरङ्गको पुरानो सदरमुकाम रंगेली बजारमा रहेको रंगेली अस्पताल डाक्टर र कर्मचारी अभावमा बेहाल बनेको छ ।

अस्पतालमा भएका आधुनिक उपकरणहरु स्टोर रुममा थन्किएका छन् । २० शैयाको जिल्ला अस्पताल रहेको रङ्गेली अस्पतालाई अहिले स्थानीय तहको मातहतमा रहने गरि प्रथामिक अस्पतालमा परिणत गरिएको छ । जिल्ला अस्पताल हुँदा ४६ जनाको दरबन्दी रहेको यो अस्पतालमा अहिले २८ जनाको मात्र दरबन्दी रहेको छ । दरबन्दी २८ जनाको भएपनि अहिले अस्पतालमा २० जना मात्र कर्मचारी छन् । अस्पतालमा अहिले सामान्य ओपिडि र आकस्मिक सेवाहरू मात्र संचालनमा छ । अर्थात् गरिबका छोराछोरीको उपचार गर्ने अस्पतालको बेहाल अवस्था छ । यसको सुधार कसले गर्ने ।

के भन्छन बिरामीहरु ?

मोरङ्गको रंगेली नगरपालिका अन्तर्गत रहेको रंगेली अस्पतालको विभिन्न सेवा सुविधाहरु ठप्प भएका छन । अस्पतालमा एम्बुलेन्स, आईसीयु, एन आई सीयु र प्रसुति सम्बन्धी सेवा नभएपछि यहाँ उपचारका लागी आउने बिरामीहरु निराश भएर फर्किने गरेका छन् । वि.सं १९४७ सालमा स्थापना भई सञ्चालनमा आएको रङ्गेली अस्पतालका सेवा सुविधा थपिनुको साटो बिस्तारै घट्दै गएका छन् । यहाँ मोरङको पूर्वी दक्षिण, उतरी र सिमावर्ती भारतसम्मका आर्थिक अवस्था नाजुक भएका बिरामीहरु उपचारका लागी आउने गरेका छन । तर अस्पतालमा आवश्यक सेवा सुविधा नै नहुँदा बिरामीहरु ज्यानको जोखिमसहित निराश भएर फर्किनुपर्ने बाध्यता छ । अस्पतालमा विगत ३ बर्षभन्दा पनि बढी समयदेखि एम्बुलेन्स सेवा छैन । अस्पताल सञ्चालनमा आउँदाखेरी नै नेपाल रेडक्रस सोसाईटीले अस्पताललाई एउटा एम्बुलेन्स प्रदान गरेको थियो । तर त्यो एम्बुलेन्स समेत काम नलाग्ने अवस्थामा छ । कोही सिकिस्त बिरामी भयो भने पनि प्राईभेट हस्पिटलका एम्बुलेन्स र निजी एम्बुलेन्सलाई फोन गरेर बोलाउनुपर्ने परिस्थिति छ । गरिब तथा विपन्न वर्गका जनता भने ती एम्बुलेन्सको चर्को भाडा पनि तिर्न सक्दैनन् । सुनबर्षी नगरपालिका ४ बस्ने फुलकुमारी यादव पनि अस्पतालमा आफुले निकै सास्ती बेहार्नु परेको बताईन । उनी अस्पतालमा एम्बुलेन्स सेवा नहुँदा सुत्केरी बिरामीलाई भ्यानमा लिएर आएको गुनासो गरिन ।

फुलकुमारी यादव
स्थानीय, सुनबर्षी नगरपालिका – ४

त्यस्तै खुट्टा सुन्निएर रङ्गेली अस्पताल उपचारका लागी आएका अर्का एकजना बिरामी घेतनलाल सिंहले डाक्टर समयमा नआएको गुनासो गरे । उनले आफु १२ बजे नै अस्पताल आईसकेको र ३ बजिसक्दा पनि अस्पतालमा डाक्टरको कुनै अत्तोपत्तो नरहेको बताए ।

कुनै समयमा रंगेली अस्पतालमा बार्षिक २० हजार भन्दा बढी बिरामीले ओपिडीमा सेवा लिदै आएका थिए भने ०७४/०७५ मा मात्रै १९ हजार ४१ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । अस्पतालको अभिलेखअनुसार आर्थिक वर्षमा अस्पतालमा भर्ना भएका बिरामीहरुमध्ये आकस्मिक कक्षमा ७ हजार ३ सय ७० जनाले उपचार गराएका थिए भने ३ हजार ७ सय १ जनाले एक्स–रे, ५ सय २४ जनाले इसिजी र ३ हजार ४ सय ७५ जनाले यूएसजी सम्बन्धी सेवा लिएका थिए । तर हाल आएर सोही अस्पतालमा दिनहुँ बिरामीको चाप पनि घटदै गईरहेको छ ।

के भन्छ अस्पताल प्रशासन ?

अस्पतालमा जम्मा २८ जना कार्यरत कर्मचारीहरुको दरबन्दी छ । तर अस्पताल पुग्दा नत डाक्टर भेटिन्छन नत बिरामी नै । यसरी अस्पताल प्रशासन र स्थानीय निकायको लापरबाहीले दिनानुदिन अस्पतालको अवस्था नाजुक बन्दै गईरहेको छ । अस्पतालमा अर्को समस्याको रुपमा आईसियु र एनआईसियु सम्बन्धी सेवा रहेको छ । अस्पतालमा सबै स्रोत र साधन हुँदाहुँदै पनि आईसियु र एनआईसियु सम्बन्धी सेवा सञ्चालनमा आउन सकेको छैन । जसकारण बिरामीहरु रिफर भएर अन्यत्र उपचार गराउने गरेका छन । रंगेली अस्पतालका मेडिकल रेकर्ड अधिकृत तथा सुचना अधिकारी गोविन्द बहादुर कटवालले दक्ष जनशक्तिको अभावमा आइसीयु र एनआईसियु सञ्चालनमा ल्याउन नसकेको बताउनुभयो । उहाँले आईसियु र एनआइसियु सञ्चालनका लागी बिशेषज्ञ चिकित्सक, फिजिसियन र नर्सिङ स्टाफहरुकोे आवश्यकता पर्ने जानकारी दिनुभयो । उहाँले दक्ष जनशक्तिको अभावमै उक्त सेवाहरु सुचारु गर्न नसकेको बताउँदै नगरपालिको रोहबरमा अस्पताल विकास समितिबाट दैनिक ज्यालादारीमा ३२ जना कर्मचारी थप गरिएको उल्लेख गर्नुभयो । तर यसले न्युनतम सेवा प्रदानमा मात्रै सघाउ पुर्याउने सुचना अधिकारी कटवालको भनाई छ ।

गोविन्द बहादुर कटवाल
मेडिकल रेकर्ड अधिकृत तथा सुचना अधिकारी, रंगेली अस्पताल

सुचना अधिकारी कटवालले समायोजनको कारणले गर्दा पनि लामो समयदेखि पदपुर्ति हुनसकेको अवस्थामा अस्पताल प्रशासन पनि कमजोर देखिएको स्वीकार गर्नुभयो । उहाँले यो सङक्रमणकालीन अवस्था रहेकोले गर्दा अस्पतालको समस्याहरुबारे धेरै ठाउँमा पहल गर्दा पनि कुनै कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो । रङ्गेली अस्पतालले क्षमता अनुसारको गुणस्तरीय सेवा प्रदान गरिरहेको भन्दै यसलाई अझ ठुलो जिल्ला अस्पतालको रुपमा परिणत गर्न हामी लागीपरेको कटवालले बताउनुभयो ।

संघीय सरकार मातहत हुँदा अस्पतालको अधोगति सुरु भयो । पुरानो सदरमुकाम रङ्गेलीको सानमान र इज्जत त्यहाँबाट सदरमुकाम विराटनगर सारिएसँगै रंगेली बजारसँगै अस्पतालको पनि हाल बेहाल भएको हो । अहिले देश संघीयतामा गएको छ । सोही अनुसार रंगेली अस्पताल पनि स्थानीय तह अन्तर्गत रहेको छ । त्यसपछि अस्पतालको सुधार हुने अपेक्षा गरेका नागरिकका लागि अपेक्षा अपेक्षामै सीमित भएको छ ।

यस बिषयमा के भन्छ रङ्गेली नगरपालिका ?

सोही विषयमा बोल्दै रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोमप्रसाद सुवेदीले विगतमा संघीय सरकारद्धारा सञ्चालन गरिएको उक्त अस्पताल संघीय संरचना परिवर्तन भएपछि स्थानीय निकायलाई हस्तान्तरण भएर आएको बताउनुभयो । उहाँले सोही समयदेखि अस्पताल सञ्चालनमा समस्या उत्पन्न हुँदै गईरहेको उल्लेख गर्नुभयो । उहाँले अस्पताललाई पहिले जस्तै सञ्चालन गर्न नगरपालिका लागी परेको बताउँदै अस्पतालको र नगरपालिकाको आफनो स्रोतसँग एम्बुलेन्स खरिद गर्ने क्षमता नरहेको स्पष्ट पार्नुभयो । उहाँले यसको लागी नगरपालिकाले सम्बन्धित निकायसँग पहल गरिरहँदा पनि हालसम्म कुनै सुुनुवाई नभएको जानकारी दिनुभयो ।

तोमप्रसाद सुवेदी
प्रमुख प्रशासकीय अधिकृत, रंगेली नगरपालिका

त्यस्तै सोही बिषयमा आईसियु र एनआईसियुको प्रसङ्ग जोडदै उहाँले अस्पतालसँग भौतिक पुर्वाधारहरु भएको र जनशक्तिकै अभावमा सो सेवा सञ्चालनमा आउन नसकेको बताउनुभयो । यता अस्पतालको प्रसुति विभागमा महिला चिकित्सक नभएर अधिकांश महिलाहरु उपचार बिना नै फर्किने गरेका छन । उक्त अस्पतालमा खास गरेर मुस्लिम समुदायका महिलाहरुमा उपचारका लागी आउने गर्दछन । तर कल्चरल समस्या कारण उनीहरु पुरुष चिकित्सकसँग उपचार गराउँदैनन । फलस्वरुप उनीहरु बिना उपचार नै त्यत्तिकै फर्किने गरेका छन ।

सो बिषयमा आफ्नो भनाई व्यक्त गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले असोज मसान्तसम्म अस्पतालमा महिला डाक्टरले नै सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । तर अस्पताल विकास समितिले उक्त महिला चिकित्सकलाई करारमा नियुक्त गरेको हुनाले आफुले थप सेवा दिन नसक्ने भन्दै उहाँले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाई छ । प्रसुति सेवामा महिला चिकित्सकको खोजी गर्दा पनि नभेटिएकोले हाल उक्त अस्पतालमा स्वास्थ्य मन्त्रालयमार्फत छात्रवृत्ति करारमा आउनुभएको एम.डी.जी.पी डा. रोहेन्द्र पाण्डेले नै प्रसुति सम्बन्धी सबै सेवा प्रदान गर्दै आईरहनुभएको छ ।

केही समयअगाडि आमा सुरक्षा कार्यक्रम लागू भएको रङ्गेली अस्पतालमा प्रसूती सेवा समेत बन्द थियो । नगरपालिकाको पहलमा पुनः सो सेवा सुरु भएपनि अन्य सेवा सुविधाको सुधारमा भने खासै पहल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!