आइतबार, साउन १७, २०७८ || 395  पटक पढिएको

ओलम्पिकमा हालसम्म विराटनगरबाट कुनै तहमा प्रतिनिधित्व नहुँदा प्रशिक्षकहरू निरास छन् ।
ओलम्पिकमा नेपालले प्रथम पटक जापानको राजधानी टोकियोमा आयोजना ओलम्पिकमा सन् १९६४ मा सहभागिता जनाएको थियो । संयोग भनौ जापानको टोकियोमा २०२० ओलम्पिक जारी छ । ओलम्पिकमा सहभागिता जनाइएको ५६ वर्ष भएको छ तर विराटनगरबाट हालसम्म पनि कसैले पनि न त अफिसियल, रेफ्री, खेलाडीको रूपमा प्रतिनिधित्व गर्न पाएका छन् ।

यत्तिका वर्षसम्म ओलम्पिकको प्रतिनिधित्व गर्न अघिकांश काठमाडौबाटै जुरेको छ । टिभीमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने खेलाडी तथा पदाधिकारीलाई देख्दा खुशी हुने तर विराटनगरका खेलाडी वा अफिसियलले कहिले मौका नपाउँदा प्रशिक्षकहरू निरास बन्ने गरेका छन् । राष्ट्रिय खेलकूद परिषदका प्रदेश निर्देशक शिवनारायण श्रेष्ठ विराटनगरलाई नेपाल नै मान्दैनन् । उनी विराटनगरपनि नेपाल हो र ? भनेर प्रश्न कस्छन् । खेलकुदको सबै बजेट र सुविधा काठमाडौमा नै थुप्रिएको र काठमाडौकै खेलाडीदेखि अफिसियलसम्मलेमात्र ओलम्पिकमा मस्ती गर्ने गरेको गुनासो गर्छन् ।

श्रेष्ठले राज्यले खेलकुदका लागि विराटनगरमा पैसा खर्च नगरेको बताउँछन् । प्रदेशबाट पनि खेलकूद क्षेत्रको हकमा सौतेला व्यवहार गरिएको तिक्तता श्रेष्ठसँग छ । खेलाडीलाई प्रशिक्षण, अटोमेटिक खेल सामग्री, सुविधा सम्पन्न अत्याधुनिक भौतिक पूर्वाधार र भविष्यको सुनिश्चितता नभई अन्तर्राष्ट्रिय स्तरमा दम राख्ने खेलाडीको उत्पादन नहुने श्रेष्ठको किटान छ ।
विराटनगरमा खेलकूद विकासका लागि एउटा मल्टिपोर्पज कर्भड हल छ । कर्भड हलको रखरखावका लागि जिल्ला वा क्षेत्रिय खेलकूद विकास समितिसँग कुनै खर्च छैन । शौकिया रूपमा टेबलटेनिस वा ब्याडमिन्टन खेल्न आउने भेट्रान खेलाडीले समूहमा पैसा संकलन गरेर सटलकर्कदेखि कर्भडहलको विजुलीबत्ती जोहो गर्ने गरेका छन् ।

खेल मैदानको नाममा एकमात्र सहिद मैदान छ । क्रिकेट खेलदेखि प्रणयसम्मका लागि सहिद मैदानको उपयोग हुने गरेको छ । श्रेष्ठ सहिद मैदानलाई धानबारीको संज्ञा दिन्छन् । खेलकुद क्षेत्रमा लाग्ने कर्मचारीदेखि प्रशिक्षकको कुनै कार्य मूल्याङ्कन नहुनु, खेलकूद क्षेत्रमा प्राविधिकभन्दा प्रशासन हावी हुनु , बजेटको अभावमा न्यून खेलकुद हुनु र काठमाडौ भ्याली भित्रका खेलाडीलाई प्राथमिकतामा राख्नाले पनि खेलकूदमा विराटनगर पछाडि परेको हो ।

श्रेष्ठ सबै प्रशिक्षकको दरबन्दी काठमाडौमा भएको खुलासा गर्छन् । उनी प्रशिक्षकलाई बायस गर्ने प्रवृत्तिदेखि उदेक मान्ने गरेका छन् । श्रेष्ठ भन्छन्, ‘विराटनगरमा प्रशिक्षकहरूले प्रशिक्षण दिएको २० वर्ष पुगिसक्दा पनि बढुवा भएन ।’
श्रेष्ठ भन्छन्, ‘खेलाडीको संख्या धेरै नहोस् तर गुणात्मकता बोकेको होस् ।’ प्रशिक्षकहरूलाई समय–समयमा एकै ठाउँमा जम्मा गराएर अन्तर्राष्ट्रिय स्तरको तालिम, गोष्ठी, सेमिनारको आयोजनाले मनोबल बढ्ने र त्यो दक्षता उत्कृष्ट खेलाडी उत्पादनमा प्रयोग गर्न सकिने श्रेष्ठको भनाई छ । ‘विराटनगरमा यस्ता गोष्ठी, सेमिनार, तालिम आयोजना गर्नु पर्छ भन्ने कसैले पनि सोचेकै छैनन् श्रेष्ठको गुनासो छ ।

मोरङ कराते प्रशिक्षक विनोद राउतले विराटनगरमा वा मोरङ जिल्लामा जति पनि राम्रा खेलाडी उत्पादन गरेरपनि तिनीहरू सबैलाई विभागीय टोलीले लगि दिने गुनासो गरे । राउतले अन्तर्राष्ट्रिय खेलको १ वर्ष अगाडि नै समय तालिका सार्वजनिक हुने भएको हुनाले विराटनगरका खेलाडीलाई पनि विदेश लगेर तालिम दिने व्यवस्था मिलाइनु पर्ने धारणा राखे ।

तीनै तहका सरकारले खेल, खेलाडी र प्रशिक्षक विकासका लागि पर्याप्त बजेटको विनियोजन, अन्तर्राष्ट्रिय स्तरको खेल मैदान र कर्भड हल निर्माण, खेलबाटै भविष्यको सुनिश्चितता र खेल क्षेत्रलाई राजनैतिक हस्तक्षेपबाट मुक्त राखे भविष्यमा आयोजना हुने ओलम्पिकमा विराटनगरको खेलाडीले झण्डा उचाल्ने विराटनगर–७ बस्ने पुर्व लनटेनिस खेलाडी विनोद बस्नेत भन्छन् ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!