राजिव शाह

शनिबार, साउन ०९, २०७८ || 546  पटक पढिएको

सर्लाही । भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले डिप्लोमा इन फार्मेसी कोर्स अध्ययनका लागि उम्मेदवारको छनोट गर्दा दलित कोटामा गैरदलित विद्यार्थीको नाम राखेको पाइएको छ।

सीटीईभीटीद्वारा गत असार ३० गते प्रकाशित अन्तिम नतिजामा दलित समुदायमा नपर्ने मधेसी मूलका बिन (मुखिया) जातिका रामलाल मुखियाकी छोरी मानकी कुमारीलाई मुख्य उम्मेदवारका रूपमा राखिएको हो। तर दलित समुदायमा सूचीकृत चमार जातिका अछेलाल रामका छोरा निप्पुकुमार रामलाई चाहिँ वैकल्पिक उम्मेदवारमा उल्लेख गरिएको छ।

सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ४ निवासी निप्पुकुमार रामले यस विषयमा उजुरी गरेपछि राष्ट्रिय दलित अयोगले नतिजा सूची सच्याउन सीटीईभीटीलाई पत्राचार गरिसकेको छ। दलित उम्मेदवार निप्पुकुमार रामले यस विषयमा पहल गरिदिन अनुरोध गर्दै आफ्नै जिल्लास्थित नेपाल राष्ट्रिय दलित समाज कल्याण संघमा उजुरी दिएका थिए।

त्यसपछि आफूले राष्ट्रिय दलित अयोगमा जानकारी गराएको र आयोगले सीटीईभीटीको कार्यालयमा पत्राचार गरेको संघका अध्यक्ष राजेश पासवानले जानकारी दिए। राष्ट्रिय दलित आयोगले सीटीईभीटीलाई शुक्रबार पत्र पठाउँदै ‘मधेसी मूलका बिन मुखिया राष्ट्रिय दलित आयोगको दलित सूचीमा नरहेकाले नतिजा प्रकाशनमा गम्भीर त्रुटि हुन गएको हुँदा मानकी कुमारीको नाम कट्टा गरी निप्पुकुमार रामको नाम दलित कोटामा कायम गर्न’ भनेकाे हाे। यस्तै प्रदेश न २ स्थित दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाले पनि यो त्रुटि सच्याउन माग गर्दै शुक्रबार सीटीईभीटी (भक्तपुर) मा पत्र पठाएका छन्।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (सर्लाही) का अध्यक्ष पासवानका अनुसार डिप्लोमा इन फार्मेसी अध्ययनका लागि सीटीईभीटीले प्रदेश २ का दलित विद्यार्थीका लागि ५ वटा कोटा छुट्याएको थियो। तर त्यसको उम्मेदवार सूची प्रकाशन गर्दा एक दलित कोटामा गैरदलितको नाम समावेश गरेको हो। यसबारे जानकारी आएपछि आफूहरूले त्रुटि सच्याउन पहल गरिरहेको र सीटीईभीटीले नसच्याए सर्वाेच्च अदालतमा मुद्दा हालिने पासवानले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!