हिपमत डटकम

शुक्रबार, साउन ०८, २०७८ || 898  पटक पढिएको
गणेश कार्की

मैले भर्खरै एउटा अंग्रेजी शृङ्खला सिध्याएँ । अन्तिम दृष्यमा खलनायकलाई नायिककाले छुरी रोपेर मारिदिन्छे ।
‘तिमीहरू यहाँ ‘दानव’ लाई मार्न आएका हौ, होइन ? पत्याउ, मैले तिमीहरूलाई सुरक्षित राखेको छु । र, यदि तिमीहरूले मलाई दानव सोचिराखेका छौ भने, के भनुँ र, मेरा अरु भेरिएन्टसँग भेट नहुञ्जेल पर्ख ।’ मर्नुभन्दा ठीक अगाडि खलनायकले भनेको हुन्छ, ‘तिमीहरुले तानाशाहलाई घृणा गर्न सक्छौ तर टाढाको कुनै ऊभन्दा पनि खराबले त्यो खाली ठाउँ भर्छ, जुन तिमीहरुले भइरहेको तानाशाहलाई हटाएर बनाउँछौ ।’

त्यो भनाइ यस्तो लाग्यो कि मानौं, टिभीमा त्यो भनिएकै होइन । मानौं, ऊ त्यो हो, जसलाई केही दिन अगाडि सर्वोच्चले प्रधानमन्त्रीबाट अपदस्थ गरेको छ र, अपदस्थ गर्न हस्ताक्षर गर्ने सांसदतिर, फैसला सुनाउने अदालततिर, आफ्नाविरुद्धमा आन्दोलन गर्नेहरुतिर र आफ्नाविरुद्धमा समाचार लेख्नेतिर हेरेर कसैले भन्दैछ ।
मैले ल्यापटपको स्क्रिनमा बालकोनीबाट भाषण गर्दै गरेका ओलीका ओठ चलेको देखें । समाचार बनाउन छुटेको हुन सक्छ, सायद ओलीले मनमै राखेका हुन सक्छन्, उनले भन्नै पर्ने हो, ‘मलाई हटाएर खुसी हुनु बेकार छ, हटेको ठाउँ भर्न र तिमीहरूलाई शासन गर्न मभन्दा खराब अर्को तयार छ ।’

पदबाट हटेको झ्वाँकमा निस्किएको बर्बराहट पत्याउनु कसरी ? तर नपत्याउनु कसरी ? ओलीपछि प्रममा देउवा आउने बित्तिकै गच्छदार धरौटीमा रिहा भएको र आलमको गाउँमा आलमको चुरिफुरि बढ्दै गएको समाचार आँखै अगाडि आइबस्छ । त्यो संयोग मात्रै कसरी मान्नु ? अनि फेरि खलनायकको त्यो संवाद पुनः कानैमा दोहोरियो, ‘यदि तिमीहरुले मलाई दानव सोचिराखेका छौ भने, के भनुँ र, मेरा अरु भेरिएन्टहरुसँग भेट नहुञ्जेल पर्ख ।’

नेता बन्ने जनताको विश्वासले हो । एकछिन जनतालाई छोड्ने हो भने पनि नेता बन्न कार्यकर्ताको विश्वास पहिलो सर्त हुन्छ । नेतालाई कम्तिमा कार्यकर्ताले विश्वास गरेको हुनैपर्छ तर सामाजिक संजाल चहार्दै गर्दा प्रस्ट देखिन्छ, देउवाप्रति उनका कार्यकर्ता स्वयम विश्वस्त छैनन् । कार्यकर्ताकै अनुमानमा पनि देउवा माइन बिछ्याएको मैदानमा हिडिरहेका सिपाही हुन्, जसले अकारण नै जानीजानी खुट्टा कुनै पनि बेला माइनमा पारिदिन सक्छन् र विष्फोट गराइदिन सक्छन् । उनको चारित्रिक विशेषता हो ।

सर्वोच्च बोल्यो, तब ओली बालुवाटरबाट फ्यालिएर बालकोटको बार्दलीबाट बोल्न प¥यो र देउवाले बुढानीलकण्ठ छोडेर बालुवाटारबाट बोल्न पाउने अवसर पाए । अविश्वासको आर्जनका लागि देउवाले विगतमा धेरै कष्ट सहेका छन् । माओवादी विद्रोहको जग बसाल्ने भागिदारी पनि उनकै भागमा पर्छ । सांसद किनबेच, सांसदलाई प्राडो पजेरो सुविधाको सुरुआत उनकै मगजको उपज हो । संसद विघटन गरेर जनमतको धुस्नो उडाउने अभ्यास उनले विगतमा गरिसकेका छन् । प्रजातन्त्रलाई किस्तीमा राखेर दरबारमा बुझाउदै गर्दा किस्ती देउवाकै हातमा थियो ।

देउवाको विगतका पराक्रमले नै हो, फरार गच्छदार जमानतमा रिहा हुन अदालत पुग्ने सामथ्र्य राख्ने । देउवाकै विगतको संघर्षको तेजले नै हो, जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेको आरोप लागेका आलम सलबलाउनलाई ऊर्जा पाउने । उपन्यास ‘द अलकेमिस्ट’मा एउटा पात्रले भन्छ, ‘जुन कुरा एक पल्ट हुन्छ, त्यो दोस्रो पल्ट नहुन सक्छ । तर जुन कुरा दोस्रो पल्ट पनि हुन्छ, त्यो तेस्रो पल्ट हुन्छ हुन्छ ।’
उपन्यासको त्यो पात्र जस्तो अन्धविश्वासी त नहौंला तर धेरैलाई देउवाबाट अकारण पनि हुन सक्ने गडबडीप्रति धेरै हदसम्म विश्वास छ । उनीबाट पुरानै कुसंस्कारको निरन्तरता हुनेमा निश्चित नै छौं । ओलीको भार बिसाउँदै गर्दा देउवाको बारेमा थाहा थिएन ? पक्कै थियो ।

किन देउवा नै त ? हामीलाई विकल्प दिइँदैन । ओलीको विकल्पमा देउवा र देउवाको विकल्पको ताँतीमा केही नेता पछि फेरि ओली । एउटा वृतमा घुमिरहेका छौं । विकल्पमा पुग्न वृतको कुनै विन्दुबाट प्रवेश पाउनु पर्छ र त्यतिबेलासम्म पर्खिएर बस्नुपर्छ, विकल्प दिने स्वयम् त्यही हटाउनु पर्ने मान्छे जस्तो भइसक्दैन । सोही नियमअनुसार देउवा नभए प्रचण्ड हुन सक्थे । अहिले देउवा प्रधानमन्त्री भइसकेकाले प्रचण्ड हाम्रो ध्यानबाट अलि पर पुगेका मात्रै हुन् । नत्र प्रचण्ड प्रति देउवा झैं (अ)विश्वास गर्नु पर्ने पनि झन्डै उति नै कारण छन् ।

केही महीनायता देखिन्छ, राजनीति रस्साकस्सीपूर्ण रह्यो । भनाभन, पक्ष विपक्ष र तर्कको माहौल बन्यो । कसैले थोरै समय बोल्न पाए, कसैले धेरै । कसैले बोल्दा ताली पाए, कसैले गाली । कसैले बोलीमात्रै रहे, कसैले वास्ता गरेन । अन्त्यमा जब सर्वोच्च बोल्यो, तब ओली बालुवाटरबाट फ्यालिएर बालकोटको बार्दलीबाट बोल्न प¥यो र देउवाले बुढानीलकण्ठ छोडेर बालुवाटारबाट बोल्न पाउने अवसर पाए ।

शृङ्खला लामो समयदेखि चलिरहेको छ, चक्रवतरुपमा । परिधिको कुनै विन्दुमा उभिएका छौं र त्यहाँबाट निकट आउँछ, त्यसलाई देख्छौं अनि त्यसकै आधारमा दृष्टिकोण तय गर्छौं पात्र उनै घुमिरहेछन् । जबसम्म तपाईंले पूर्णचक्र देख्नु हुन्न र यो चक्रमा विश्वास गर्नुहुन्न, तबसम्म राजनीतिचक्रको परिधिको एउटा विन्दुमा अडिएको थाहै पाउनु हुन्न ।
संसदमा देखिएको राष्ट्रवाद, सहमति र धोका सबै क्षणिक हुन् । दुईटा पार्टी एकता गरेर हवाईजहाज बनाइयो भन्दै आफैंलाई पाइलट घोषणा गरेका फुटाएर लाखापाखा लागेका छन् । एक भएकाको अनुहार नियाँल्दा देखिन्छ, कुनैबेलाका यी यति विपरीत थिए एकअर्काको टाउकोको मोलसम्म तोक्ने गर्थे । आगतमा सत्ताको हिसाबमा गठबन्धन टुटेर फेरि भर्खरै टुटेको गठबन्धन जागृत हुँदैन भन्न सक्ने आधार तिल जति छैन ।

प्रचण्ड भनिरहन्छन्, ‘राजनीति सम्भावना खेल हो ।’ देउवाको नजरमा राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन । ओलीलाई ५० वर्ष नेपालमा कम्युनिष्टको शासन गर्न दुईतिहाइ चाहिन सक्छ । स्वभावतः चक्रमा पात्र कहिले कुन दिशामा र कहिले कुन दिशामा । एकले अर्काका लागि आफू हटेर, गिरेर र सिद्दिएझैँ गरेर फेरि अर्कोको लागि स्थान बनाइदिरहन्छन् । दुई तिहाइको विश्वास जितेर पदासिन भएका ओलीलाई पछार्दै देउवाले त्यही संसदमा उपस्थितको संख्यामा एकजना कमले मात्रै दुईतिहाइ मत ल्याउने अवस्था कसरी बन्छ ?

यो कसैले लेखेर कुशलतापूर्वक अभिनय गरिएको होइन तर उनीहरू यसमा यति अभ्यस्त छन् कि लेख्दै नलेखी आफ्नो भूमिकाप्रति न्याय गर्न सक्छन् । जनताप्रति सत्य जस्तै प्रतित हुने बहानासहित अन्याय गर्न सक्छन् । यसैले त बालकोट पुगेका ओली आफ्नै बार्दलीबाट तेस्रोपल्ट बालुवाटार पुग्ने पृष्ठभूमि बनाउन थाल्छन् ।
देउवा आफू ओलीका भेरिएन्ट बन्छन्, ओली कुनै बेला देउवाका भेरिएन्ट बन्छन् । बीचमा अर्को नेता नयाँ भेरिएन्टका रुपमा आउँछ । उही चक्र चल्छ अनि एकअर्काको अस्तित्व जोगाइराख्छन् तर भन्न चै छोड्दैनन्, ‘यदि तिमीहरूले मलाई दानव सोचिराखेका छौ भने, के भनुँ र, मेरा अरु भेरिएन्टसँग भेट नहुञ्जेल पर्ख ।’

कसैको लोकमा छैन एकैनास समुन्नति । अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति । नैतिक दृष्टान्त कवितामा लेखनाथ पौडैलले यी पंक्ति लेखेका थिए । पहिलैको कुरा भयो । देउवा हिँड्ने बाटो खाली गर्न सुरक्षाकर्मीले हिजोका शक्तिशाली ओलीलाई भीडसँगै छेक्दै थिए । शक्ति हातमा परेपछि अधिकतमले प्रतिपक्षमा हुँदाका आदर्श बिर्सिदा रहेछन् । नेपालमा यो जहिलैको कुरा भयो ।

स्थायी केही छैन । स्वभाव पनि सधैं नरहला तर सधैं यस्तै भइरहन नसक्ने आधार कम्तिमा अहिले देखिएको छैन । मिश्रित निर्वाचन प्रणालीले सधैं यस्तै खेल भइरहन सक्ने मैदान बनाइदिएको छ । यसपल्ट देउवाले विश्वासको मत पाएर अलिपछि चुनाव हुने निश्चित भए पनि वा देउवाले विश्वासको मत नपाएर तत्कालै चुनाव हुने भएको भए पनि कथानकमा खासै फरक पर्दैन थियो ।
देशमा केही हुन सक्दैन भनेर निराशाका शब्द होइनन् । यसरी केही फरक हुन सक्दैन भन्ने स्वीकारोक्ति हो । प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइन्सले कुनै बेला भनेका थिए, ‘फरक नतिजाको आशामा उही कुरा उसरी नै दोहो¥याइराख्नु मुर्खता मात्रै हो ।’ अस्थायी शान्तिका लागि कामना गर्न सक्छौं कि देउवा यसपालि चै ‘देउवा जस्ता’ नबनून् ।
स्थायीरुपमा यस्तै भइरहन रोक्न कोसिस गर्ने हो भने, १. कार्यकालमा हदबन्दी लगाउनु पर्छ । २. मिश्रित निर्वाचन प्रणालीबाट समानुपातिक व्यवस्था हटाउनु पर्छ । ३. समानुपातिक जस्तो विशेष समतामुलक साधन कायम राख्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्छ ।

पूरा लेख पढेर यहाँसम्म आइपुग्दा वाक्क लागिसकेको हुन सक्छ र, सोध्न मन भएको हुन सक्छ, ‘अब फेरि अर्को राजनीतिक परिवर्तन ? सधैं लोकतन्त्र सुधार्न भनेर दिमाग लगाइराख्नु पर्ने ?’ किनकि, लोकतन्त्र यस्तै हुन्छ, संवेदनशील, ध्यान खोज्ने (एटेन्सन सिकर), मर्मत सम्भार गरिराख्नु पर्ने । दुरुस्तै हाम्रो घर जस्तो ।

यो लेख आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!