हिपमत डटकम

बिहिबार, साउन ०७, २०७८ || 699  पटक पढिएको

अनुज सापकोटा

विराटनगर । विराटनगर महानगरपालिकाअन्तर्गत न्यायिक समितिको तथ्याङ्क केलाउने हो भने यहाँ महिला तथा घरेलु हिंसा रोकिने छाँटकाँट देखिँदैन ।

०७५÷०७६ मा न्यायिक समितिमा १६ महिला हिंसाका उजुरी परे । ०७६÷०७७ मा २७ उजुरी परे । ०७७÷०७८ मा महिला तथा घरेलु हिंसाका २० उजुरी दर्ता भए । अधिकांश महिला तथा घरेलु हिंसामा दहेज नै मुख्य कारण देखिएको छ ।

परेको उजुरीमा केहि दवावमा आएर मिलापत्र भएपनि अधिकांश मुद्दामा महिलामाथि नै दोष थोपर्दै हिंसालाई जायज ठहराउने पुरूष प्रवृत्ति हावी देखिन्छ । ३ महिनाअघि विहे भएकी विराटनगर बसपार्क छेउकी झा थरकी महिला माइतीमा शरण लिएर छिन् । सुनसरी पकली घर भएका उनका श्रीमान्ले श्रीमतीमाथि घरेलु हिंसा एवं कुटपीट गर्न थाले ।

श्रीमान्ले आठ आनाको औंठीको माग गर्दै श्रीमतीलाई विराटनगर माइती पठाइदिए । माइती पक्षले औंठीका साथ छोरीको विदाई ग¥यो । औंठी पाएपछि श्रीमान्ले नापजोख ग¥यो । औंठी नाप्दा १ आना कम भेटियो । १ आना कमको निहुँमा दिनहु कुटपीट र हिंसा हुन थाल्यो । बाध्य भएर ती झा थरकी महिलाले न्यायिक समितिमा उजुरी हालिन् । श्रीमान्लाई बुधबार महानगरपालिकामा उपस्थित हुन पत्राचार गरियो ।

माथिको प्रतिनिधिमूलक घटनाको वर्णनका साथ कानून तथा न्याय शाखाकी प्रमुख शारदा थपलीयाले करौडौ खर्चेर जतिसुकै महिला सशक्तिकरणको अभियान चलाएपनि महिला विरूद्धको हिंसा कम नभएको र महिला अझ बढी पीडित बन्दै गएको बताइन् । लोभीपापीहरूको इच्छा बमोजिम दहेजको ‘डिमाण्ड’ पुरा नहुँदा विभिन्न बहानामा महिला हिंसा हुने जिकिर थपलियाको थियो ।

महिलाको शारीरिक संरचना, बाहिर खुलेर बोल्न हिचकिचाहट, आफ्नो पीडा अरूलाई सुनाउन सकस मान्ने र दबिएर बस्ने मानसिकताले महिला तथा घरेलु हिंसालाई मलजल पुगेको हो ।

थपलिया भन्छिन्, ‘महिलालाई खेलौना ठान्ने पुरातन प्रवृत्ति हावी छ, पहाडे या मधेसी समूदाय होस्, दहेजका लोभीपापी सबैतिर छन्, दाइजो नल्याएको निहुँमा कुटपिट र महिला हिंसा हुने गरेको छ ।’ पुरूषको महिलामाथिको हेपाहा प्रवृत्ति, मादक पदार्थ सेवन, बेरोजगारी, शंका–उपशंका, नाता परिवार एवं छिमेकीबीचको किचलोका कारण पनि महिलामाथिको हिंसा रोकिनुको साटो बढेर गएको छ ।

न्यायिक समितिका उजुरीमध्ये केहिको मिलापत्र भए पनि परस्पर विश्वासको कमीले स्थिति दर्दनाक बनेको छ । महिला अधिकार क्षेत्रमा सयौं एनजीओ र आइएनजीओ सक्रिय भए पनि हिंसामा परिने हो भन्ने डर र त्रास यथावत छ ।

अधिवक्ता तथा महानगरपालिकाका कानूनी सल्लाहकार परमेश्वर नेपाल पितृसत्तात्मक सोच र प्रवृत्ति हावी भएको समाजमा महिलालाई दबाएरै राख्नु पर्ने मानसिकता अझै हावी रहेको बताउँछन् । महिला हिंसा रोक्न जसले जेसुकै भने पनि महिला सशक्तिकरण अझ जरूरी रहेको विश्लेषण अधिवक्ता नेपालको छ । महिला हिंसा रोक्न बेला–बेलामा सशक्तिकरण, सचेतना र जागरूकता अभियान, सेल्फ डिफेन्स कोर्ष गरेपनि असारको खहरे खोला झैं सावित भएका छन् ।

यो खबर आजको न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!