मधेशी नेता मध्ये राजेन्द्र महतोलाई गुट र पार्टी नेतृत्वका क्रममा आफ्नो गुट बचाउन सक्ने नेताका रुपमा व्याख्या गरिन्थ्यो । हुन पनि सद्भावना पार्टीको विगत हेर्दा त्यही देखिन्छ । सद्भावना पार्टी पटक पटक फुट्दा पनि महतोले मात्रै आफ्नो पक्षलाई बलियो बनाउने प्रयत्न गरेको पाइन्छ । उनको समूहमात्रै बलियो पार्टीको रुपमा थियो ।
सद्भावनाका गजेन्द्रनारायण सिंहको विरासत तिनै महतोले धानेको जस्तो देखिन्थ्यो । तर, परिस्थिति अहिले यस्तो भईदियो महतोकै मान्छेले धमाधम कित्ता परिवर्तन गर्दै वल्लो घरको नरे पल्लो घर सरे चरित्र देखा पर्न थालेको जानकारी हुन आएको छ ।
झन्डै ५० को दशकदेखि सँगै पार्टीमा काम गरेका देखि भर्खर पार्टीमा प्रवेश गरेकाहरुसम्मले राजेन्द्र महतोलाई छोड्न थालेका छन् । ५० को दशकदेखि महतोसँगै पार्टीमा काम गरेकी र अझ महतोभन्दा पहिला सद्भावनामा लागेकी नेतृ अमृता अग्रहरिले महतोलाई छाडेकी छिन् । अहिले सांसदसमेत रहेकी अग्रहरिले महतोलाई छोडेर उपेन्द्र यादव पक्षमा लागेकी छिन् । अघिल्लो सरकारमा मन्त्री हुन खुबै प्रयत्न गरेकी अग्रहरिलाई महतोले कुनै अवसर दिएनन् ।
आफू मन्त्री भएपछि आफ्नो समूहका कुनै पनि नेतालाई नसमेटेका महतोलाई अग्रहरिले छोड्ने निर्णयसँग प्रमोद साह र नरमाया ढकालले पनि छोडेका छन् । महतोले सांसद बनाएका साह र ढकालले कित्ता परिवर्तन गर्नुलाई पनि महत्वका साथ हेरिएको छ । त्यसैगरी, प्रदेश २ का सांसद तथा सद्भावनाकालीन महासचिव मनिष सुमन पनि महतोको साथमा छैनन् ।
जसपाको कार्यकारिणी सदस्यसमेत रहेका सुमन हुनलाई ठाकुर महतो पक्षको बैठकमा सहभागी छन् तर मनले मानेर बसेका भने होइनन् । सुमनले प्रदेश २ मा मुख्यमन्त्री वा नभएपनि मन्त्री बन्न चाहेका थिए तर महतोले सुमनको पक्षमा अडान लिएनन् । त्यसैबेलादेखि रुष्ट सुमन पछिल्ला दिनमा विचारको हिसाबले यादवस“ग निकट हुन थालेको निकटस्थहरुस“ग बताउन थालेका छन् । तर, खुलेर यादवको पक्षमा भने लागिसकेका छैनन् । लेखक :- बिपिन यादब