कुनै घर र घरका सदस्यहरु कति बेला खुशी हुन्छन्, जति बेला परिवारमा एक अर्कासंग मेलमिलाप हुन्छ, एक सदस्यले अर्को सदस्यको कदर गर्छ, एक जनालाई दुख पर्दा अर्कोले मलहम लगाउँछ, अझ भन्ने हो भने यो सबै समीकरण मिलाउने प्रमुख दायित्व घरका अभिभावकको हुन्छ । जुन घरको अभिभावकमा नैतिक जिम्मेवारीको बोध हुन्छ, त्यस घरका अन्य सदस्यहरुले दुःख पाउदैनन् । यदि कहिले कुनै कारणवस दुःखको समय आइ हाले पनि, अभिभावकको तत्परता र अभिभावक प्रतिको आत्मविश्वासले हिम्मत बढ्छ र दुःख पीड़ा संग लड्न परिवार भित्र एउटा मजबुत आधार तयार हुन्छ ।
तर, यसै कुरालाई फरक नजरियाबाट हेरौ त मानौ कुनै बच्चाको अभिभावक छैन भने के हुन्छ उसको हालत ? यो सम्झिदा पनि हामी झस्किनछौ । उसलाई दुख पर्दा कसले सहयोग गर्छ ? कसले सान्त्वना दिन्छ ? कसले भन्छ कि तिमी नडाराउ म छु तिम्रो साथमा ? हो जब जिवनमा अभिभावकको जिम्मेवारीपूर्ण उपस्थिती, माया र हौसला हुदैन तब सम्म जीवन जीवन जस्तो बिल्कुलै लाग्दैन । आज हेरौ त एउटा सडक बालकको बेदना जसले आफ्नो अभिभावकको अनुभूति गर्न पाएको छैन । न त उसले समयमा खान नै पाउँछ न त कसैको हौसला, नत कसैको माया नत कसैको आशिर्वाद । के आज सडक बालक जस्तै हालत आम नेपाली जनताको भएको छैन ? नेपाली जनताले दुई तिहाई बहुमतले छानेर पठाएको आफ्नो अभिभावकको उपस्थिती महसुस गर्न पाएका छन् ?
मतदान गर्ने सम्पूर्ण मतदाता कुनै न कुनै पार्टी संग आबद्ध हुन्छ । तपाई पनि कुनै न कुनै पार्टिको सदस्य वा कुनै राजनीति दलसंग आवद्ध हुनुहुन्छ तर, एकै छिन सबै कुरा भुलेर एउटा आम नेपाली भएर सोच्नुस र यसको जवाफ दिनुस त ? पक्कै पनि तपाई पनि त्यहीं सोच्नु भएको होला जुन कुरा मेरो मन मस्तिष्कमा ज्वालामुखी फुटला जस्तै भई रहेको छ । यो मेरो अन्तरमनमा उठि रहेको भावनात्मक तरंग हो जो अन्तर संघर्षको मसिले लेख्न प्रयास गरि रहेको छु ।
अहिले देश अक्रान्त अवस्थामा छ, वेदनाको कहर पुर्व पश्चिम उत्तर दक्षिण हिमाल पहाड तराई मधेश, समग्र हिपमत नेपालमा गुँजि रहेको छ । अनिकालमा ज्यान गइ रहेको छ । मसानघाट सम्म लास लैजाने मान्छेहरु भेटि रहेकोे छैन । भयभित नेपाली रोग र भोकले मरि रहेका छन् । तनावले विभिन्न मानस्कि रोगहरु निमत्याउन सक्छन भने कुरा विज्ञहरुले भनि सकेका छन् । खाना न पाएका स–साना नानीहरु स्नेहयुक्त आहारको लागि आफ्नो बाउ आमालाई खोजे जस्तै अहिले समग्र देश अभिभावक खोजिरहेका छन् तर दुरभाग्य सडकका टुहुरा बालक झै अभिभावक भेटाउन सकेका छैनन् । के हामी साच्चिकै सडका टुहुरा वालक झै अभिभावक विहिन हौ त ?
खडेरी परेको बेला पनि नर्तकी बोलाएर ठुलै उत्सव मनाउने जमिन्दारहरुको परम्परागत शैली आज पनि जीवनत रहेको आम नेपालीले महशुस गरि रहेका छन् । किन न हुनु अभिभावकीय जिम्मेवारीमा बस्नु भएका यी शासकहरु पनि त्यहीं शासकद्वारा प्रशिक्षित प्रतिनिधी हो होनी । अन्यथा कहालिलाग्दो यस विषम परिस्थितीमा देश र जनताको लागि कम्मर कसेर लागि सक्नु हुन्थ्यो । तर के गर्ने जेलनेल सहितका अनेकौं संघर्षमय यात्राको क्रममा वञ्चित रहनु भएका विलासमय सुखभोगका अनन्त अयाम पुरा गर्न अब जीवनको अन्तिम चरण नै बाँकी रहेकोले वहाँहरु आफ्ना ती अतृप्त आत्मालाई तृप्त पार्न आफ्नो अनुकुल राजनीतिक चक्रव्युह बनाउने र भत्काउने क्रमलाई निरन्तरताको प्रशिक्षण आफ्नो अत्तराधिकारीलाई समेत दिई रहनु भएका छन् ।
परिवर्तन परिवर्तन परिवर्तन उहिले पनि परिवर्तन अहिले पनि परिवर्तन के का लागि परिवर्तन ? कसका लागि परिवर्तन ? के यहीं परिवर्तन खोजेका थिए ती हजारौं वलिदानी सपुत जसको शवआसनमा विराजमान भई जनताको घाउमा मलहम लगाउनुको सट्टा परिवर्तनको नाममा अनगिन्ती घाउहरु थप्ने प्रयास नगरियोस । अब आम नेपाली नागरिक संग ती घाउहरु सहने क्षमता छैन ।
रोग, भोक सहितका अनेकौं दुःख, पीड़ा, वेदना र आक्रोशहरुको चिंगारी शासकिय व्यवस्था प्रति ज्वालामुखिको रुप धारण गर्नु भन्दा पहिला नै आफ्नो व्यक्तिगत स्वार्थ, सत्ताको दंभ र मालिकपनाको शासकिय स्वारुपमा परिवर्तन गरि जन भावना अनुसार उचित व्यवस्थापन प्रति आफ्नो अभिभावकत्वाको जिम्मेवारी वहन गर्न मेरो संघर्षरत कलम बाट म आफ्नो अभिभावक संग अपेक्षा राख्दछु ।