हिपमत डटकम

बिहिबार, आषाढ ०३, २०७८ || 562  पटक पढिएको

एजेन्सी । पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम जोङ उनका विभिन्न तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन्। किमले अन्तर्राष्ट्रिय राजनीतिमा केही असर पर्ने काम गरेकाले उनका तस्बिर मिडियामा आएका होइनन् बरू उनी अचेल दुब्लाउँदै गएको देखाउन तस्बिरहरू छापिइरहेका छन्।

किम किन दुब्लाएका हुन् भन्ने कारण त खुलेको छैन तर उनको देशका नागरिकले अब भोकमरीको सामना गर्नु पर्ने अवस्था आइपुगेको देखिएको छ।

आउने अगस्ट-अक्टुबरमा उत्तर कोरियामा भोकमरी लाग्न सक्ने धेरै संघ/संस्था र विश्लेषकहरूले बताएका छन्।

आफ्नो देशमा खाद्यान्नको कमी भइरहेको कुरालाई किम स्वंयले पनि पुष्टि गरेका छन्।

कोरोनाभाइरस महामारी, अन्तर्राष्ट्रिय प्रतिबन्ध र बाढीका कारण खाद्यान्नको अभाव हुने उनको भनाइ छ। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार मंगलबार किमले सत्तारूढ वर्कर्स पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएर खाद्यान्न अभावको पूर्ति गर्ने कुरालाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताएका छन्।

‘कृषि क्षेत्रले आवश्यक मात्रामा उत्पादन गर्न नसक्दा अहिले विशेष गरेर मानिसहरूको खाद्यान्नको अवस्था तनावपूर्ण बन्दै गएको छ,’ किमलाई उद्धृत गर्दै कोरियन सेन्ट्रल न्युज एजेन्सीले भनेको छ,‘पार्टीको पूर्ण पंक्ति र सम्पूर्ण राज्य कृषिमा केन्द्रित हुनु अति आवश्यक छ।’

उत्तर कोरियाको अर्थतन्त्र धरासायी बन्दै गएको कुरा छर्लंगै भए पनि किमले नै सार्वजनिक रूपमा राष्ट्रियस्तरमा खाद्यान्नको अभाव भएको स्वीकार्नु बिरलै हुने कुरा हो।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संस्थाले बाहिरबाट आपूर्ति नगरिए उत्तर कोरियालीले अगस्टदेखि अक्टुबरसम्म भोकमरी सामना गर्नुपर्ने चेतावनी दिएको छ।

किमले केही महिनाअघि आफ्ना पार्टीका नेता/कार्यकर्तालाई नागरिकलाई आर्थिक पीडाबाट राहत दिन ‘कठिन मार्च’ गर्न निर्देशन दिएका थिए।

अप्रिलमा किमले यस्तो निर्देशन दिएपछि उत्तर कोरियासम्बन्धी विश्लेषकको कान ठाडा भएका थिए किनकी उत्तर कोरिया कुनै निकै जटिल समस्या (जस्तै सन् १९९० को दशकको भोकमरीको बेला) मामात्र ‘कठिन मार्च’ शब्द प्रयोग गर्ने गरिन्छ। १९९०को दशकमा लाखौं उत्तर कोरियाली भोकमरीले मरेका थिए।

उत्तर कोरियामा अहिले पनि तीन दशकअघिको जस्तै अवस्था आउन लागेको संकेत त मिलेका छैनन् तर पछिल्ला साता त्यहाँ चामलको मूल्य निकै बढेको बताइएको छ।

उत्तर कोरियाको प्रमुख व्यापार साझेदार चीनसँगको सीमा कोरोनाभाइरसका कारण लामो समयदेखि बन्द रहेकाले औषधीलगायतका अत्यावश्यक कुराको पनि अभाव हुन थालेको छ।

केही परिवारले खाद्यान्न किन्ने पैसा जोहो गर्न आफ्ना फर्निचरहरू पनि बेच्न थालेका छन्।

दक्षिण कोरियाको कोरिया डेभलपमेन्ट इन्स्टिच्युटका अनुसार उत्तरमा सन् २०१९ र २०२० मा खाद्यान्नको उत्पादन घटेको थियो। यसअघि पनि उत्तर कोरियाले आफूलाई चाहिने सबै खाद्यान्न उत्पादन गर्न सक्दैनथ्यो। अन्तर्राष्ट्रिय सहायता र विशेष गरी चीनबाट उसले आफ्नो माग पूर्ति गर्दै आएको थियो।

यसपालि भने उसलाई खाद्यान्नको अभाव पूर्ति गर्न कठिन हुने विश्लेषकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!