
भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर निकै भयावह बन्दै गइरहेको छ । कोरोना सङ्क्रमितको संख्या दैनिक बढ्दै जाँदा अस्पतालदेखि शवदाह गृहसम्म पनि अभूतपूर्व चाप बढेको छ ।

नागपुरका एक वृद्धले भने अर्काका लागि अस्पतालको बेड खाली गरिदिएर दुर्लभ उदाहरण पेश गरेका छन् । अस्पतालमा भर्ना भएका ८५ वर्षीय नारायण भाउराव दाभाडकरले एक युवकका लागि बेड खाली गरिदिएका हुन् ।
‘मैले बाँच्नुजति बाँचिसकेँ, तर त्यो युवकको पछाडि उसको पूरा परिवार छ’ भन्दै नारायणले आफू बस्दै आएको बेड ती युवकका लागि छाडिदिएका हुन् ।
कोरोना सङ्क्रमणसँग जुधिरहेको अवस्थामा अस्पतालमा भइरहेको उपचार छाडेर घर गएका नारायणको तीन दिनमै मृत्यु भएको छ । उनको मानवताका बारेमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले प्रशंसा गरेका छन् ।
“मैं 85 वर्ष का हो चुका हूँ, जीवन देख लिया है, लेकिन अगर उस स्त्री का पति मर गया तो बच्चे अनाथ हो जायेंगे, इसलिए मेरा कर्तव्य है कि मैं उस व्यक्ति के प्राण बचाऊं।'' ऐसा कह कर कोरोना पीडित @RSSorg के स्वयंसेवक श्री नारायण जी ने अपना बेड उस मरीज़ को दे दिया। pic.twitter.com/gxmmcGtBiE
— Shivraj Singh Chouhan (मोदी का परिवार ) (@ChouhanShivraj) April 27, 2021
उनले ट्विट गर्दै लेखेका छन्, ‘म ८५ वर्षको भइसकेँ, जीवन देखिसकेँ तर यदि ती महिलाका पति मरेको खण्डमा बच्चाहरु अनाथ हुन्छन्, त्यसैले त्यो व्यक्तिको प्राण बचाउनु मेरो कर्तव्य हुन्छ भन्दै कोरोना पीडित राष्ट्रिय स्वयंसेवक सङ्घका स्वयंसेवक श्री नारायणजीले आफ्नो बेड ती बिरामीलाई दिनुभयो ।’
भारतीय सञ्चारमाध्यमका अनुसार नारायणले अस्पताल प्रशासनलाई आफूले अर्को बिरामीका लागि स्वेच्छाले बेड खाली गर्न लागेको भन्दै लिखित स्वीकृतिपत्र दिएर घर गएका थिए । उनी स्वयं केही दिनअघि कोरोनाबाट सङ्क्रमित भएका थिए ।
अक्सिजन लेबल घटेर ६० मा आएपछि उनका छोरी र ज्वाइँले उनलाई इन्दिरा गान्धी शासकीय अस्पतालमा भर्ना गरेका थिए । लामो सङ्घर्षपछि उनले बेड पाएका थिए । तर एक महिलाले ४० वर्षीय पतिलाई उपचारका लागि बेड नपाएर रोइरहेको देखेपछि नारायणले आफ्नो बेड खाली गरिदिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।