मंगलबार, माघ २१, २०७६ || 850  पटक पढिएको

हिपमत डटकम
काठमाडौँ,२१ माघ :नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीकै जिम्मेवार नेताहरु गैरजिम्मेवार बन्दा समस्या उत्पन्न भएको निष्कर्ष निकालेको छ । नेकपाले पार्टीमा भएका छलफल तथा निर्णयहरु अनधिकृत र तोडमोड गरी बाहिर बोल्ने परिपाटी रहेको भन्दै यो क्रम दोहोरिरहे थप समस्या पैदा हुने ठहर पनि गरेको छ ।

केही दिनअघि सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले पेस भएर पारित भएको सङ्गठनात्मक प्रतिवेदनमा पार्टीका निर्णयहरु नेताहरुबाटै आफूअनुकूल तोडमोड हुने क्रम बढेको औँल्याइएको हो । यदि यो क्रम नरोकिए पार्टीमाथिको विश्वास कायम राख्न मिडियालाई नै राखेर बैठक बस्नुपर्ने अवस्था आउनसक्ने उल्लेख गरिएको एक नेताको भनाइ छ ।

ती नेताका अनुसार सङ्गठनात्मक प्रतिवेदनमा रहेको पार्टीका आन्तरिक जीवनमा देखिएका समस्याहरु शीर्षकको एउटा बुँदामा भनिएको छ, ‘गलत समाचार सम्प्रेषण हुनुभन्दा बैठकमा मिडियाको नियमित उपस्थिति र प्रत्यक्ष प्रसारण मञ्जुर गर्नु उचित हुनेछ । के हामी यसका लागि तयार हुने हो ?’ तर यस्तो अवस्था आउनुभन्दा बैठकका औपचारिक निर्णय र आवश्यक विषयहरू आधिकारिक ठाउँबाट सार्वजनिक गर्ने प्रणाली कायम राख्नुपर्नेमा जोड दिइएको छ ।

केही दिनअघि मात्रै नेकपाका जिम्मेवार नेताहरुको प्रतिक्रियालाई लिएर विवादसमेत सिर्जना भएको अवस्थामा नेकपाको सङ्गठनात्मक प्रतिवेदनले सोही कुरालाई सङ्केत गरेको हो । नेकपा नेता भीम रावल लगायतका नेताहरुले बैठकको विषयमा अनधिकृत रूपमा बोलेको भन्दै प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रश्न उठाउँदा नेकपामा यो विषय बहसका रूपमा आएको हो ।

बुझाइमा समस्या
प्रतिवेदनमा पार्टीमा जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र सहमतिमा निर्णय गर्ने परिस्थितिलाई ठीक ढङ्गले बुझ्ने समस्या देखापरेको औँल्याइएको छ । यस्तै पार्टी एकता प्रक्रिया टुङ्गिएर लोकतान्त्रिक मूल्याङ्कन प्रणालीमा आधारित नहुँदासम्म आपसी सल्लाह, समझदारी र सहमतिमा अघि बढ्नुपर्ने अवस्थामा रहेको उल्लेख छ ।

‘आगामी महाधिवेशनसम्मका लागि पार्टी निर्माणका सम्बन्धमा सङ्क्रमणकालीन प्रबन्ध गरिएको सन्दर्भमा पार्टी एकातिर जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्तमा आधारित हुन चाहेको र अर्कोतिर सहमतिमा निर्णय गर्नुपर्ने बाध्यता रहे पनि एकतालाई जोगाउन, अघि बढाउन र सबल तुल्याउन यस्तो तरिका अवलम्बन गर्नुपरेको’ स्पष्टोक्ति महासचिव पौडेलकाे प्रतिवेदनमा छ ।

नेकपा प्रतिवेदनमा तीन महिनामा सम्पन्न गर्ने भनिएको एकीकरणको काम हालसम्म पनि सम्पन्न नहुनुलाई दुखद् विषयका रूपमा उठाउँदै लामो समयसम्म एकीकरण सम्पन्न हुन नसक्दा पार्टीको ठूलो पङ्क्ति निष्क्रिय भएको स्वीकार गरिएको छ । प्रतिवेदनले तीन महिनामा एकीकरणको काम सम्पन्न गर्ने भनिनु नै अव्यावहारिक भएको पुष्टि भएको जनाएको छ ।

‘पार्टीको समग्र शक्ति गतिशील हुन र सकारात्मक परिणाममा प्रकट हुन पाएको छैन । पार्टीका पूर्वघटकहरूको आपसी सम्बन्धको पृष्ठभूमि र तीन महिनामा एकीकरणका सम्पूर्ण काम सम्पन्न हाम्रो योजनाका बीचमा कहीँ न कहीँ अन्तरविरोध थियो । आजसम्म आइपुग्दा हामीले निर्धारण गरेको तीन महिनाको समयसीमा एकताले उत्साहित भएको मनोविज्ञानमा आधारित तर अव्यावहारिक थियो भन्ने पुष्टि भएको छ’, प्रतिवेदनमा भनिएको छ ।

एकता प्रक्रियामा कहाँ भयो गल्ती ?
नेकपाले संगठनात्मक एकीकरणका कामलाई टुंगोमा पुर्याउन संस्थागत रूपमा गृहकार्य गर्ने, एकीरणका सम्पन्न गर्ने र मात्र पुरानो कमिटी भंग गर्नुपर्नेमा त्यसो नगर्दा गल्ती हुन पुगेको ठहर पनि गरेको छ ।

‘सम्पूर्ण कमिटीहरू भंग गरेर संगठनात्मक समस्या निम्त्याउने काम ग-यौं । जसले गर्दा चुनावी तालमेल र पार्टी एकीकरणले जनतामा पैदा भएको अभूतपूर्व एवं असाधारण उत्साहलाई गतिमा र गतिलाई
शक्तिमा बदल्न सकिएन’, प्रतिवेदनमा भनिएको छ, ‘ तर अब हामीले एकीकरणका बाँकी काम सम्पन्न गर्ने विषयलाई सर्वाधिक प्राथमिकता दिनुपर्दछ ।’

यस्तै एकता प्रक्रियामा विलम्ब हुनुको पछाडि आपसी सम्बन्धको सम्वेदनशीलताले पनि काम गरेको र पार्टीले त्यसलाई ठीक ढंगले सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

गुट रहेको स्वीकार नेकपाले पार्टीभित्र गुट भएको कुरालाई स्वीकार गरेको छ । तर संस्थागत निर्णयहरूको प्रतिरक्षा र कार्यान्वयनमा सिङ्गो पार्टी पङ्तीलाई एकताबद्ध तुल्याउन नसकिए पार्टीमा गम्भीर अवस्था आउन सक्ने खतरा औल्याइएको छ ।

‘पूर्व समूहको मानसिकता र पूर्व समूहका पनि गुटका प्रशाखाहरू पार्टीका सामू चुनौती बनेर उपस्थित भएका छन् । पार्टीमा गुटबन्दी घोषित र प्रत्यक्ष बन्दै गएको छ’, नेकपाको प्रतिवेदनमा स्पस्ट भनिएको छ, ‘अराजकता र अनुशासनहीनताको समस्या झाँगिदै गएको छ । हाम्रो सामू गुटबन्दीलाई संस्थागत गर्ने र पार्टीलाई गुटहरूको फेडरेशन बनाउने वा गुटबन्दीलाई समाप्त गर्ने र संस्थागत ढंगले तय गरिएका विधि, नीति र निर्णयका आधारमा पार्टीलाई एकताबद्ध तुल्याउने भन्ने प्रश्न ज्वलन्त बनेर उपस्थित भएको छ । हामीले गुटबन्दीलाई निर्ममतापूर्वक अस्वीकार गर्नुपर्दछ ।’ तर नेकपाको गत आइतबारमात्रै सम्पन्न केन्द्रीय समिति बैठक समापन गर्दै अध्यक्ष ओलीले पार्टीमा गुट नरहने बताएका थिए । उनले केही सञ्चारमाध्यमले टाउका गनेर यो र त्यो गुट बनाएको भन्दै आपत्ति समेत जनाएका थिए ।

तर प्रतिवेदनमा भने गुटलाई निष्कृष्य पार्न निर्णय प्रक्रियामा सम्बद्ध सबैको सहभागिता र संस्थागत निर्णयको प्रणालीलाई दृढताका साथ अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ ।

यस्तै पार्टीको राष्ट्रिय महाधिवेशन र प्रदेश तथा स्थानीय कमिटीहरूको अधिवेशनका लागि संगठित सदस्यको नवीकरण अनिवार्य पूर्व शर्त भएपनि आजसम्म पार्टी सदस्य र संगठित सदस्यको अभिलेख अद्यावधिक गर्न र नवीकरण गर्न नसकिएको नेकपाको संगठनात्मक प्रतिवेदनमा उल्लेख छ ।

पार्टीको केन्द्रीय सचिवालयले २०७६ चैत मसान्तभित्र नवीकरण सम्पन्न गर्ने निर्णय गरेकोमा निर्धारित समयभित्र पार्टी सदस्य तथा संगठित सदस्यको अभिलेख अद्यावधिक गर्ने र नवीकरण सम्पन्न गर्ने काममा सम्बन्धित सबै केन्द्रीत हुनुपर्नेमा जोड दिइएको छ।

कम्युनिस्ट पार्टीको जीवन विचार र सङ्गठनमा, काम र परिणाममा आधारित हुनुपर्ने भन्दै नेकपाले आधारभूत रूपमा सही विचार भए पनि त्यसलाई व्यवस्थित गरेर अघि बढिनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!