काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले काठमाण्डौमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्यभार बनाउने भएको छ । ललितपुरको एक होटलमा जारी वृहत राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकतावद्ध गर्दै स्वेच्छाचारी शक्तिको विरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो । मंगलबार सुरु भेलामा आज पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिने छ । १० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरि भोलीको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

बैठकले प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि कार्यभार बनाउने र त्यसलाई सभाले पारित गर्ने नेता गंगालाल तुलाधरले जानकारी दिए । मूलभूत रुपमा वर्तमान परिवेशमा पार्टी एकता कायम गरि नेतृत्वको स्वेच्छाचारी कदम विरुद्धका अन्तर संघर्षहरुलाई रणनैतिक रुपमा कार्यभारमा समावेश गरिने पनि उनले बताए । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पुनः सक्रियताका साथ अगाडि बढाउने जिम्मेवारी काँधमा आएका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीका क्रियाकलापहरुले पार्टी एकता भाँडिने संकेत देखिएकाले आफुहरु कार्यकर्ता भेला गरि उनीहरुको सुझावका आधारमा पार्टी एकताको पक्षमा अघि बढ्ने निष्कर्षमा पुगेको उनले उल्लेख गरे ।

उनले भने– ‘एकपक्षीय ढंगले स्वेच्छाचारी, दम्भ र घमन्डी स्वभावलाई देखाउँदै पार्टी अध्यक्ष केपी ओलीले जुन प्रकारका हर्कतहरु देखाउन थाल्नुभयो, त्यसले पार्टी एकता भाँडिने संकेत देख्यौँ । पछिल्लो श्रृखंला भनेको २८ गते केन्द्रीय पदाधिकारीहरूको जिम्मेवारी खोस्ने, एकपक्षीय रुपबाट पदाधिकारी सदस्य थपेको घोषणा गर्ने र कयौंलाई पार्टी जिम्मेवारीबाट हटाउने र कारवाही गर्ने भन्ने स्थिति आएपछि हामी यो निष्कर्षमा पुग्यौं कि पार्टी जोगाउने हो भने स्वेच्छाचारी कदमको विरोधमा उत्रनुपर्दछ । यो पार्टीलाई एकतावद्ध गरेर लैजाने हो भने हैकम वादी प्रवृत्तिबाट पार्टीलाई जोगाउनुपर्छ । त्यस्तो खालको कुरा महसुस भइसकेपछि हामी यो ठाउँमा आइपुगेका हौ ।’

उनले एकताका साथ अघि बढ्नका लागि भेलाले उर्जा दिने विश्वास आफुहरुले लिएको बताए । उनले भेलामा भएको कार्यकर्ताको उपस्थितिले पार्टी अध्यक्ष ओलीको काम कारवाहीहरु कुनैपनि हालतमा सर्वस्वीकार्य छैन र विरोध योग्य छ भन्ने संदेश पनि देशव्यापी रुपमा प्रवाहित गरेको दाबी गरे । पार्टी अध्यक्षले गुटगत भेलामा सहभागी भए कारवाही गर्ने बताइरहेका बेला पार्टी एकताका लागि जुनसुकै परिणाम भोग्ने मानसिकतामा नेता कार्यकर्ताहरु भेलामा सहभागी भएको पनि उनले बताए ।

उनले भने– ‘उहाँले कति कारवाही गरेर जानुहुन्छ, त्यो पनि हामी हेर्ने वाला छौ । हामी उहाँलाई भन्न चाहन्छौं तपाई कारवाही गरेर देखाउनुहोस् । आजदेखि हामी २५ सय कार्यकर्ताहरु कारवाहीका लागि यहाँ लामबद्ध हुँदैछौ । केपी ओली कमरेडलाई हामी भन्न चाहन्छौ तपाई कारवाही गरेर देखाउनुहोस् । कारवाही गर्दै जाने हो भने त उहाँ पनि बाँकी रहनुहुन्न नि त । उहाँ भोली गएर एैया पनि भन्न नसक्ने अवस्थामा पुग्नुहुन्छ ।’

उनले वृहत्तर वामपन्थी एकताबाट च्युत हुनुहुँदैन भन्ने मानसिकताले आफुहरु अगाडि बढ्दै गरेको अवस्थामा अध्यक्ष ओलीबाट एमाले पनि एकताबद्ध भएर अघि बढ्न नसक्ने परिस्थिति श्रृजना हुनु दुःखद भएको प्रतिक्रिया दिए । विभाजित हुन नपरोस् भन्ने मनोविज्ञान कार्यकर्तामा देखिएको भएपनि नेतृत्वले विभेदपूर्ण व्यवहार गरेकाले समस्या भएको भन्दै उनले कुनै पनि कार्यकर्ता नेतृत्वबाट अपमानित भएर बस्न नसक्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!