काठमाडौं। आफूले भंग गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले बदर गरिदिएपछि नैतिकताका आधारमा राजीनामा नदिएर प्रधानमन्त्री केपी ओली भने जसरी सत्ता बचाउन लागिपरेका छन् । उनमा अझै दुई वर्ष प्रधानमन्त्रीको कुर्सीमा बस्छु भन्ने दम्भ र घमण्ड छ ।
पार्टीका आफ्ना विरोधीलाई एकएक गरेर किनारामा पारिदिएका ओलीले अब कांग्रेस र जसपाभित्र खेल्न खोज्नेछन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको दिन ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैले अहिलेदेखि नै दबाब बढाउन थालिसकेका छन् ।
जुनसुकै विपक्षी पार्टीमा बराबर खेल्न सक्ने नेताको हैसियत बनाएका ओलीले जसपालाई सरकारमा सहभागी हुन दबाब बढाइसकेका छन् । त्यसका लागि उनले राजेन्द्र महतो र महेन्द्र राय यादवलाई प्रयोग गरेका छन् । राजेन्द्र र महेन्द्र दुवै ओलीका विश्वास पात्र हुन् ।
ओलीकै निगाहमा राजेन्द्र सांसद निर्वाचित हुन सफल भएका थिए । त्यसबेलाको गुण अहिले तिर्न ओलीले राजेन्द्रलाई आग्रह गरेका छन् । उनले जसपालाई सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् । आज बस्ने जसपा संसदीय दलको बैठकमा राजेन्द्र महतोले सरकारमा सहभागी हुनुपर्ने प्रस्ताव गर्ने उच्च स्रोतले बताएको छ ।
यतिबेला ओलीको कुर्सी जोगाउन दक्षिणतिरको मित्रशक्ति लागिपरेको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा एमाले र जसपाको सत्ता समीकरण नबन्ला भन्न सकिन्न । एमालेसँग १२० सिट छ । जसपासँग ३४ सांसद छन् । दुईजना निलम्बनमा रहेकाले ३२ सांसद तत्काल छन् । दुवै दलबीच १५२ सांसद भएमा ओलीले मज्जाले दुई वर्ष सरकार चलाउने छन् ।
यदि जसपा सरकारमा सामेल नभए फुटाउने ओलीको रणनीति छ । जसपा फुटाएर १५ सांसद आफूतिर ल्याउनेवित्तिकै ओलीको उद्देश्य पूरा हुनेछ । त्यसका लागि सरकारमा आकर्षक मन्त्रालय र आगामी चुनावमा सहकार्य र तालमेलसम्मको आश्वासन दिइने बुझिएको छ ।
यसैक्रममा जसपा नेपालको पहिलो संसदीय दलको बैठक आज बस्दै छ। दुई पार्टी एकीकरण भएर जसपा बनेपछि संयुक्त संसदीय दलको बैठक यसअघि बसेको थिएन।
मंगलवार दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकमा देशको पछिल्लो रानजीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । सर्वोच्च अदालतको पछिल्लो फैसलापछि देशको बदलिँदो राजनीतिक अवस्था तथा संसदमा कसरी प्रस्तुत हुने भन्ने लगायतका विषयमा छलफल हुने जसपाका नेता राजेन्द्र महतोले जानकारी दिए ।
तत्कालीन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो। जसपाका ३४ जना सांसदमध्ये दुईजना निलम्बनमा छन्।
यदि माओवादी केन्द्रले समर्थन लिएमा र कांग्रेसले सरकारमा नजाने निर्णय गरेमा ओलीका लागि जसपा नै सञ्जीवनी बुटी सावित हुनेछ । त्यही भएर ओलीले भारतीय संस्थापन पक्षलाई दबाब दिएर जसपालाई सरकारमा सामेल गर्ने वातावरण बनाइरहेका छन् । अब ओली सरकारमा सामेल हुने विषयमा चाँडै जसपामा भाँडभैलो मच्चिने र पार्टी विभाजनसम्मका अवस्था आउने स्रोतले बताएको छ ।