जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोग निष्पक्ष नभए लोकतन्त्र टिक्दैन बताएका छन् । उनले नेकपाको विवाद समाधान गर्न निर्वाचन आयोगलाई सुझाव समेत दिएका छन् ।
जसपा पक्षधर प्राध्यापक संघद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले ‘परेड’ गराएर नेकपा विवाद समाधान गर्न निर्वाचन अयोगलाई सुझाव दिएका हुन् । उनले नेकपा दुबै पक्षको दुईवटा टेबल राखेर कसको पक्षमा कति जना छन् भनि ‘परेड’ गराएर विवाद समाधान गरि दिनुपर्ने सुझाव दिएका हुन् ।
अध्यक्ष यदवले निर्वाचन आयोगलाई निष्पक्ष भएर काम गर्नुपर्ने भन्दै देशलाई अनिर्णयको बन्दी बनाउन नहुने कुरामा जोड दिए । उनले भने ‘यदि निर्वाचन आयोग निष्पक्ष भएन भने लोकतन्त्र समेत टिक्न सक्दैन’ । उनले वर्तमान राजनीतिक जटिलताबाट निकास दिनको लागि काँग्रेसले अगुवाई गर्नु पर्ने कुरामा जोड दिंदै आन्दोलनकारी शक्तिको बीचमा दुई वर्षको लागि भएपनि समझदारी बनाएर अगाडि बढ्नुपर्ने बताए ।
अहिलेको जटिलताबाट मुलुकलाई निकाल्न आवश्यक रहेको बताउँदै अध्यक्ष यादवले आन्दोलनकारी शक्तिको बीचमा दुई वर्षको लागि भएपनि समझदारी बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले भने,‘तर केपी ओलीकै नेतृत्वमा सरकार बनाएर अगाडि बढ्नु उचित हुँदैन ।’ यसको अगुवाई काँग्रेसले गर्नुपर्ने बताउँदै उनले सबैका ध्यान काँग्रेसतिर रहेको बताए । उनले देशको निकासको लागि आफूहरुको सकारात्मक भूमिका रहने बताउँदै सिस्टमलाई अगाडी बढाउन केपी ओलीको बहिर्गमन आवश्यक रहेको जिकिर गरे ।