हिपमत डटकम

बिहिबार, फाल्गुण २०, २०७७ || 394  पटक पढिएको

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस यतिबेला प्रतिनिधिसभामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तय गर्न जुटेको छ । २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा कुन नीतिका साथ प्रस्तुत हुने भन्नेबारे अझैसम्म अन्योलमा रहेको काँग्रेसले आवश्यक रणनीति तयार गर्न थालेको हो ।

केपी ओली नेतृत्वको सत्तासीन नेकपा र प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाको रणनीति बुझेरमात्र आफ्नो भूमिका निर्धारण गर्ने काँग्रेस नेतृत्वपंक्तिको निष्कर्ष थियो । तर नेकपा विवाद संसदमा पनि भद्रगोल रुपमा प्रवेश हुने देखिएपछि मुलुकलाई निकास दिन भन्दै काँग्रेस अग्रसर हुन थालेको हो ।

ओली र प्रचण्ड–माधव दुवै पक्षबाट आएको सत्ता सहकार्यको प्रस्तावमा पनि काँग्रेसले कित्ता क्लियर गर्नुपर्ने अवस्था छ । तर पुनःस्थापित प्रतिनिधिसभामा नेकपा दुई विपरीत ध्रुवमा रहने भएपछि काँग्रेसले सरकार गठनमा निर्णायक भूमिका निर्वाह गर्नसक्ने अवस्था सिर्जना भएको हो । यद्यपि काँग्रेसभित्र सरकारका जाने कि प्रतिपक्षमै बस्ने भन्नेमा शीर्ष नेतृत्वमै एकमत छैन ।

नेकपाका दुवै पक्षले प्रतिनिधिसभामा नेपाली काँग्रेसले कस्तो भूमिका निर्वाह गर्ला भन्नेमा चासो राखिरहेका छन् । नेकपाका दुवै पक्ष काँग्रेसको औपचारिक निर्णयको प्रतीक्षामा छन् ।
काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा नेकपा विभाजनलाई अवसरमा रुपमा लिएर सत्तारोहणको कसरतमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिपक्षी भूमिकामै बस्नुपर्ने धारणा राखिरहेका छन् ।
तर महामन्त्री डा शशांक कोइराला पनि सरकारमा जानुपर्ने पक्षमा उभिएका छन् । नेकपा विभाजनका लागि भए पनि काँग्रेस सरकारमा जानुपर्ने उनको भनाइ छ । प्रधानमन्त्रीलाई हटाउन काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता गर्न अग्रसरता लिनुपर्ने उनले बताए

मुलुकको परिस्थितिले काँग्रेसको नेतृत्व खोजे म्यान्डेट छैन भन्दै बस्न नहुने अधिकांश नेताको भनाइ छ । काँग्रेस नेता प्रकाशमान सिंहले सत्ता चलाउने म्यान्डेट पाएको पार्टीले चलाउन नसकेको अवस्थामा प्रमुख प्रतिपक्ष काँग्रेसले ‘टेकओभर’ गर्नुपर्ने बताए ।

‘नेकपाले जनताले दिएको पाँच वर्षको म्यान्डेटलाई अवमूल्यन गर्यो । आफ्नो पार्टीको विवाद देखाएर जनताको म्यान्डेट लत्याउने काम नेकपाबाट भयो,’ उनले भने, ‘पाँच वर्ष काँग्रेस प्रतिपक्षमै बस्न चाहेको थियो, हामीलाई जनताले प्रतिपक्षमै बस्ने म्यान्डेट दिएको हो । तर अब सत्ता चलाउने म्यान्डेट पाएको पार्टीले चलाउन सकेन भने प्रमुख प्रतिपक्षले टेकओभर त गर्नुपर्छ नि !’

संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्ष भनेको सधैं ‘गभर्मेन्ट इन वेटिङ’ पनि हुने उनको भनाइ छ । वर्तमान सरकारको विकल्प दिनुपर्ने अवस्था आएमा काँग्रेस तयार रहेको उनले बताए ।
‘संसदभित्रको अभ्यासले केपी ओली सरकारको विकल्पमा काँग्रेसको नेतृत्व खोज्छ भने काँग्रेस पछि हट्दैन । तर यो काँग्रेसको चाहनाभन्दा पनि संविधान र संसदको कुरा हो,’ सिंहले भने ।

ओली सरकारको निरन्तरतामा काँग्रेसको साथ समर्थन नरहने उनको भनाइ छ । उनले भने, ‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक हो भनेर काँग्रेसले भनेको छ । ओलीको निरन्तरतामा काँग्रेसको साथ, समर्थन रहने छैन ।’
सिंहले नेकपाको प्रचण्ड–नेपाल पक्षसँग सहकार्य हुनसक्ने संकेत पनि गरे । ‘नेकपामा पनि एउटा पक्षले ओलीको कदमको विरोध गरेको छ । यसरी हेर्दा नेकपाभित्रको एउटा हिस्सासँग संसद विघटनको विरोध गर्ने विषयमा काँग्रेसको मत मिलेको छ,’ सिंहले भने, ‘अब यसलाई संसदीय प्रक्रियामा प्रवेश गराउनुपर्छ । हेरौँ, संसदमा कसरी विषयहरु आउँछन्, त्यही अनुसार काँग्रेसले आफ्नो भूमिका तय गर्छ ।’
ओली सरकारको विकल्पमा खडा हुने काँग्रेसमा एकमत भए पनि ओली र प्रचण्ड–नेपाल पक्षसँगको सत्ता सहकार्यबारे भने मत भिन्नता देखिन्छ ।

नेता डा. नारायण खड्काले भने केपी ओलीले राजीनामा दिए काँग्रेसले सहजता हेरेर सहकार्य गर्न सक्ने बताए । उनले भने, ‘जोसँग सहज महसुस गर्छौं । उहीसँग सहकार्य गर्छौं । त्यो चाहिँ डिलमा भर पर्छ । यद्यपि, प्रचण्डजीसँग अलि बिच्केका छौँ । उहाँसँग चुनाव अगाडिको सहकार्यमा हामीले साथ पाएका थिएनौँ ।’

त्योबेला सरकारमा पनि बस्ने, सरकारलाई असहयोग गर्ने र एमालेसँग गठबन्धन गर्ने काम प्रचण्डबाट भएको उनको भनाइ छ ।
‘उहाँसँग सहकार्य गर्दा फेरि अर्को झमेला हुन्छ कि भन्ने डर चाहिँ छ । त्यसैले, भोलिका दिनमा पनि अप्ठ्यारो हुन्छ कि ? प्रचण्डजीको अलि अस्थिर खालको राजनीतिक व्यवहारले गर्दा त्यसको झल्को हामीमाथि पनि पर्ने हो कि भन्ने पनि कुराहरु छन्,’ खड्काले भने

तर ओलीलाई प्रधानमन्त्री स्वीकार गर्नु सर्वोच्च अदालतको अपमान हुने उनको बुझाइ छ । ‘ओली समूहको समर्थनमा काँग्रेसको नेतृत्वमा सरकार बन्न पनि सक्छ या ओली समूहको अरु कोही मान्छे पनि प्रधानमन्त्री बन्न सक्छन् । अब ओलीलाई चाहिँ हामी प्रधानमन्त्रीमा कदापि मान्दैनौँ,’ खड्काले भने, ‘संसदमा पनि ओलीलाई विश्वासको मत दिदैनौँ । तर, त्यहाँभित्र अरु कोही आउँछ भने त ओलीको छायाँको रुपमा बुझ्दैनौँ । त्यसैले ओली बाहेकका व्यक्तिलाई त स्वीकार्न गाह्रो मान्न हुन्न ।’

अधिकारिक नेकपा र सांसदको संख्या हेरेर पनि नयाँ सरकारका लागि डिल हुनसक्ने उनको भनाइ छ । ‘सबैभन्दा पहिले आधिकारिक नेकपा कुन हो ? सांसद संख्या कति हुन्छ ? हामीले आधिकारिक डिल कोसँग गर्छौँ, प्रधानमन्त्रीको दुई वर्षको कार्यकाल छ, त्यसलाई हामी कसरी लान्छौं, यी सबै कुराको हिसाब–किताब गर्दा हाम्रो पार्टीलाई जोसँग बढी फाइदा हुन्छ, त्यतातिर हामी जानुपर्छ भन्ने कुरा छ,’ खड्काले भने ।
दुई वर्षसम्म झगडा नगरी चुनावसम्म पुग्नेगरी सहकार्य खोजिने उनको भनाइ छ ।

तर अर्का नेता मिनेन्द्र रिजालले भने काँग्रेसले ओलीसँग सहकार्य गर्न नमिल्ने र सहकार्य नगर्ने बताए । ‘काँग्रेसले ओलीजीसँग सहकार्य गर्न मिल्दैन र गर्दैन पनि । किनभने संविधान भत्काउने शक्तिसँग बसेर यही संविधान अन्तर्गत बसेर सरकार बनाउन सकिँदैन,’ उनको भनाइ छ ।

काँग्रेसका युवा नेता गगन थापा पनि योग्यता र क्षमताको आधारमा ओली प्रधानमन्त्री हुन लायक नभएको बताउँछन् । ‘संसद पुनःस्थापनापछि केपी ओलीसँग सहकार्य नैतिक रुपले पनि मिल्दैन । प्रधानमन्त्री ओली अधिनायकवादी र निरंकुश हो भन्ने निर्णय नेपाली काँग्रेसले गरिसकेको छ । संसद् पुनःस्थापना भइसकेकाले अब केपी ओलीलाई साथ दिने र लिने कुरातिर काँग्रेस लाग्नुहुँदैन,’ थापाले भने ।

उनले प्रधानमन्त्री नै अंकगणितको खेलमा लागेर देशलाई बन्धक बनाउने प्रयास भइरहेको बताए । ‘अंकगणितको खेलमा लागेर प्रधानमन्त्री देशलाई बन्धक बनाउने प्रयासमा लागिरहेका छन्,’ उनले भने, ‘यसमा निर्वाचन आयोगले पनि पार्टी विवाद टुंगोमा नपु-याउँदा उनको यो कदममा साथ दिइरहेको छ । काँग्रेसले निकास दिनुपर्छ । हामी त्यही ढंगले नै प्रस्तुत हुन्छौं ।’

काँग्रेसले पार्टीभित्र साझा धारणा बनाउन बिहीबार पदाधिकारी बैठक, शुक्रबार संसदीय दलको बैठक र शनिबार केन्द्रीय समिति बैठकमा छलफल गर्दैछ ।
पदाधिकारी, संसदीय दल र पार्टी केन्द्रीय कार्यसमितिको छलफलबाट नयाँ सरकार गठन र आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे ठोस नीति बनाएर सोहीअनुसार अघि बढ्ने देउवाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!