नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेतामा चयन गरिसकेको छ । राजनीतिक निर्णय भएकाले त्यसले कानूनी वैधता पाउने अवस्था छैन ।

कानूनी रुपमा प्रधानमन्त्री ओली नै नेकपाको संसदीय दलको नेता भएकाले प्रचण्ड–नेपाल पक्षलाई तत्काल निर्णय गर्न असजिलो भएको छ ।

प्रचण्ड–नेपाल पक्षले ओलीलाई हटाएर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरिसकेको छ । तर यसले कानूनी वैधता पाउने अवस्था छैन । कानूनी रुपमा प्रधानमन्त्री ओली नै नेकपा संसदीय दलको नेता हुन् ।

‘प्रचण्ड–नेपाल पक्षले दाहाललाई संसदीय दलको नेता चयन गरेको भए पनि त्यो राजनीतिक निर्णय हुनेछ तर कानूनी रुपमा वैधता नपाउने भएकाले अहिले पनि संसदीय दलका नेता ओली नै भएकाले दलको बैठक ओलीले नै बोलाउनुपर्ने छ,’ नेकपानिकट स्रोतले भन्यो ।

स्रोतका अनुसार अहिले ओली पक्षह पर्ख र हेरको अवस्थामा छ । ओली पक्षको बिहीवार बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । प्रचण्ड–नेपाल पक्षले कांग्रेस, जसपा लगायत नेताहरुसँग सहकार्यको प्रस्ताव राखिरहेका बेला ओली पक्ष बैठक स्थगित गरेर पर्ख र हेर अवस्थामा पुगेको हो ।

प्रचण्ड–नेपाल पक्षले संसदमा पेश गरेको अविश्वासको प्रस्ताव प्रस्तुत हुने अवस्था आएपछि त्यसमाथि छलफल र मतदान हुने बेलामा ओलीविरुद्ध नेकपाकै सांसदले ‘फ्लोर क्रस’ गर्ने परिस्थिति सिर्जना हुनेछ ।

त्यसअघि प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाउनुपर्ने बाध्यता प्रचण्ड–नेपाल पक्षलाई छ । प्रचण्ड–नेपाल पक्षको सो रणनीतिबारे जानकार ओली सिधै अविश्वासको प्रस्ताव फेस गर्न संसदमा जाने मनस्थितिमा रहेका छन् ।

संसदीय दलमा ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले आफ्नो बहुमत भएको दाबी गरिरहेका छन् । ओली पक्षले आफूसँग ९४ जना सांसद रहेको दाबी गरेको छ । यद्यपि सो पक्षले सबै नामावली दिन भने मानेको छैन ।

प्रचण्ड–नेपाल पक्षले सयभन्दा बढी सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको छ । ‘सबैले आआफ्नो दाबी गर्ने हो । यो सत्य हो कि ओलीतिरका साथीहरु पनि हामीसँग आउँदै हुनुहुन्छ । केही साथी अझै काठमाडौंबाहिर भएकाले उहाँहरू पनि सम्पर्कमै हुनुहुन्छ,’ नेकपा प्रचण्ड–नेपाल पक्षका सांसद झपट रावलले भने । उनका अनुसार ओलीलाई हटाएर प्रचण्डलाई संसदीय नेता बनाइसकेपछि अब त्यही नै कायम हुनेछ ।

ओली पक्षले भने संसदीय दलको नेता ओली नै भएकाले उनले नबोलाएसम्म बैठक बस्न नसक्ने बताउँदै आएको छ । संसदीय दलको बैठक ओलीले बोलाएपछि मात्रै बस्ने भएकाले अबको केही दिनमा संसदीय दलको बैठक बोलाउने बताइएको छ । तर नेकपाकै सांसदले ओलीलाई हटाउन संसदीय दलको बैठकमा अविश्वासको प्रस्ताव राख्नुपर्ने भएकाले संसदीय दलको बैठक नबोलाई सिधै संसद् बैठक आह्वान हुन सक्ने सम्भावना पनि रहेको छ ।

‘ओलीले संसदीय दलको बैठक बोलाउनुपर्ने आवश्यकता छैन,’ ओलीनिकट एक सांसदले भने । प्रचण्ड–नेपाललाई सजिलो हुने भएकाले बैठक बोलाउनुपर्ने आवश्यकता नभएको ती सांसदको भनाइ छ । तर संसदमा अविश्वासको प्रस्ताव गए संविधानअनुसार नै सो प्रस्तावमाथि छलफल हुने र संसदीय प्रक्रियाअन्तर्गत अघि बढ्ने छ ।

‘यो १० दिनको समयमा दुबै पक्षलाई आफ्नो पक्षमा बहुमत सांसद छन् भन्ने लाग्यो भने संसदीय दलको बैठक राखेर एकले अर्कालाई हटाउने प्रक्रिया पनि सुरू हुन्छ,’ नेकपा उच्च स्रोतले भन्यो । अहिले दुबै समूहले बहुमत जुटाउने कसरत गरिरहेको पनि स्रोतको दाबी छ ।

संसदीय दलको बैठक नबस्दासम्म प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोगलाई दलसम्बन्धी विवाद चाँडो टुंग्याउन दबाब दिने मनस्थितिमा छ । ‘नेकपाको विवाद निर्वाचन आयोगमा छ । आयोगले त्यो विवाद चाँडै टुंग्याउनुपर्छ । आयोगले चाँडो विवाद टुंग्याए मात्र संसदीय दल र संसद्को प्रक्रिया अघि बढाउन सहज हुन्छ,’ प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भनेका छन् ।

उनका अनुसार आयोगले चाँडो निर्णय नदिए दबाब दिने कार्यक्रम आउन सक्ने सम्भावना रहेको छ । संसदमा अप्ठ्यारो परिस्थिति आएपछि प्रचण्ड–नेपाल पक्षका दुबै अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहालले सांसदसँगको भेटघाट र छलफल अघि बढाइरहेका छन् ।

अध्यक्ष पदमा बामदेव गौतमको दाबी

प्रतिनिधिसभा पुनःस्थापना भएपछि बामदेव गौतमले एकीकृत पार्टीको अध्यक्ष दाबी गरेका छन् । बिहीवार बिहान खुमलटार पुगेर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका गौतमले पार्टी एकीकरण अभियान सफल पारौं भन्दै दुबै अध्यक्ष अस्वीकार्य हुने भए आफू संक्रमणकालको अध्यक्ष भएर नेकपाको महाधिवेशन गराउने प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई सम्मानजनक बिदाइ गर्दै नेकपाकै सरकार बनाउन प्रयास गरौं भन्ने प्रस्ताव पनि नेता गौतमको थियो । गौतमले बहुमत नेकपाकै लागि आएकाले अबको प्रधानमन्त्री पनि नेकपाकै बनाउने र अहिले भएका अध्यक्षहरुलाई हटाएर संक्रमणकालीन अध्यक्ष आफूलाई बनाए महाधिवेशन गराएर बिदा हुने जनाएका थिए ।

‘उहाँले पार्टी एकतामा जोड दिनुभयो साथै ओलीको सम्मानजनक बिदाइको कुरा पनि गर्नुभयो र संक्रमणकालीन अध्यक्षका लागि आफूलाई प्रस्ताव गर्नुभयो,’ खुमलटारनिकट स्रोतले भन्यो । संसद् पुनःस्थापना भएपछि गौतमले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै पार्टी एकताका लागि आफू लागिरहने बताएका थिए ।

पुस ५ गते संसद् विघटन भएपछि कुनै पनि समूहमा नलागेका गौतमले देशभरका कार्यकर्तालाई समेटेर पार्टी एकता अभियान सञ्चालन गर्दै आएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!