नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने बताएका छन्।
नुवाकोट कांग्रेस जिल्ला कार्यसमितिको भवन उद्घाटन कार्यक्रममा शुक्रबार बोल्दै उनले संविधानअनुसार प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भएको कांग्रेसले ठहर गरिसकेको उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीको उक्त कदमबारे कांग्रेसमा मतभेद नरहेको पौडेलले दाबी गरे।
‘शक्ति पृथकीकरणको सिद्धान्तलाई कांग्रेसले मान्दछ। अदालतको स्वतन्त्रता र निष्पक्षतालाई कायम गर्ने काम पनि कांग्रेसले गरेको हो, त्यसैले कांग्रेसको मान्यतालाई सम्मानित अदालतले सुरक्षित गर्नुपर्छ,’ उनले भने।
उनले प्रतिनिधि सभा पुनर्स्थापना भएपछि सरकारको असंवैधानिक कदम सच्चिने पनि बताए।
‘अदालतले पनि संविधानको धाराभित्र बसेर निर्णय गर्ने हो। अदालतले संविधान संशोधन गर्न मिल्दैन’, उनले भने, ‘अदालतले संविधानभित्रै रहेर निर्णय गर्ने हो।’