हिपमत डटकम
काठमाडौं,१६ माघ: ललितपुर-१४ मा बस्ने हस्त गर्बुजा मगर दैनिकजसो विशाल चोकको फिट एन्ड फाइन जिमखाना जान्थे। जिमखानामा उनी जिम भने गर्दैनथे, साउनामा बाफ लिन्थे। बुधबार पनि साँझ ४० वर्षीय मगर ३७ वर्षीया श्रीमती नेत्रकुमारीलाई लिएर पुगेका थिए। महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार उनीहरू सवा ६ बजे जिमखाना पुगे। ६:२१ बजे दुबै जना साउना छिरे। साउनासँगै बाथरूम पनि छ। सधैँ केहीबेरमै निस्किने मगर लगभग अढाइ घन्टा बित्दा पनि बाहिर आएनन्। श्रीमान्-श्रीमती छिरेका हुनाले कर्मचारीले पनि वास्ता गरेनन्। ९ बजेसम्म पनि उनीहरू बाहिर नआएपछि कर्मचारीलाई शंका लाग्यो। सञ्चालिका जुना बस्नेतसहित कर्मचारीले ढोका फोडे। त्यसबेला ९:११ बजेको थियो। ‘ढोका फोडेपछि उनीहरू आत्तिएका देखिन्छन्,’ सिसिटिभी फुटेज उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले सेतोपाटीसँग भने। त्यसपछि उनीहरूले सातदोबाटो प्रहरीमा फोन गरे। लगत्तै प्रहरी टोली पुग्दा दुबै जना बेहोस अवस्थामा थिए। शर्माका अनुसार साउनासँगै बाथरूममा नुहाउने क्रममा उनीहरू बेहोस भएका थिए। बाफ लिएर नुहाउन पस्दा उनीहरूले तातोपानी प्रयोग गरे। बाथरूममा झ्याल थिएन। ग्यास गिजरजडित धारा थियो। नुहाउँदा दुबैले गिजर चलाएको देखिएको शर्माले बताए। बाल्टिनमा तातोपानी भेटिएको छ। झ्याल नभएको बाथरूममा गिजर चलाउँदा अक्सिजनको मात्रा कम भएपछि उनीहरू बेहोस भएको आशंका गरिएको छ।
‘अक्सिजन कम भएपछि उनीहरू बेहोस भएका हुन सक्छन्, कतिबेला बेहोस भए पत्तै भएन,’ शर्माले भने, ‘पाटन अस्पताल ल्याइपुर्‍याउँदा दुबैलाई डाक्टरले मृत घोषणा गरे।’ प्रारम्भिक अनुसन्धानमा गिजर प्रयोग गरेका कारण उनीहरू निसास्सिएको आशंका गरिएको प्रहरीको भनाइ छ। यो घटनापछि प्रहरीले सञ्चालिका बस्नेतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। चार-पाँच जना सञ्चालकमध्ये उनी एक हुन्। अरू सञ्चालक देशबाहिर रहेको बुझिएको छ। ‘ढिलोसम्म ननिस्केपछि हामीलाई शंका लागेर ढोका फोड्दा बेहोस भेट्यौं र प्रहरीलाई खबर गरेका हौं,’ बस्नेतलाई उद्धृत गर्दै शर्माले भने। साउना सञ्चालकले ग्राहकको सुरक्षामा लापरबाही गरेको हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको शर्माले बताए। ‘के-कस्तो तरिकाले चलाएको छ, त्यहाँ जाने ग्राहकको जीउज्यानको सुरक्षाको भरपर्दो व्यवस्था गरिएको छ छैन सबै कुरा बुझ्छौं,’ उनले भने। मृतकको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ। म्याग्दीका आफन्तलाई बोलाइएको छ। महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार उक्त साउना भव्य देखिन्छ। करौडौं लगानी गरेर सञ्चालनमा ल्याइएको देखिन्छ। ‘यति ठूलो लगानीमा चलाइएको साउनामा जाने मानिसहरूको सुरक्षाका लागि के कस्तो बन्दोबस्त छ, अनुसन्धान भइरहेको छ,’ परिसर प्रमुख टेकबहादुर राईले भने। साउनाभित्र मानिसलाई बाफ कति मात्रामा दिने हो, मापदण्ड के हो भन्नेबारे प्रहरीले अनुसन्धान गर्ने राईले बताए। ‘कति तापक्रम हुन्छ, मानिसले कतिसम्म थेग्ने हो, अनि गिजरमा नुहाउँदा कति तापक्रमसम्मको पानीको लेभल राख्ने हो, के कस्तो राखेको छ। सबै बुझेपछि लापरबाही गरेको हो रहेछ भने प्रचलित कानुनअनुसार सञ्चालकहरूलाई कारबाही हुन्छ,’ राईले भने। म्याग्दीको मालिका गाउँपालिका-४ मृतक हस्त पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव थिए। आफन्त भएकाले थापाले उनलाई स्वकीय सचिव बनाएकी थिइन्। दुबैका एक छोरा र छोरी छन्। चारै जना ललितपुर-१४ मै डेरामा बसिरहेका थिए।

बाथरूममा ग्यास गिजर राखेर नुहाउँदा जान सक्छ ज्यान

जोडो मौसममा नुहाउन बाथरुमभित्र मात्रै होइन, कोठा तताउन बालिएको हिटरको कारणले पनि निसास्सिएर मृत्यु हुने गरेको छ। फिजिसियन डाक्टर निमेश पौडेल यस्तो मृत्युमा ग्यास गिजर मात्रको दोष हैन। बाथरूममा राखिने भेन्टिलेसन पनि हो। ‘हामी प्राय: नुहाउन बाथरुम छिर्दा झ्याल ढोका लगाउँछौं, अनि ग्यास गिजन चलाउछौं,’ पौडेलले भने, ‘त्यसपछि ग्यास गिजरबाट निस्कने कार्वन मोनोअक्साइडको मात्रा शरीरमा बढ्दै जान्छ, अक्सिजन कमी हुन्छ र मानिस बेहोस हुन्छन्।’ बेहोस बिरामीलाई तत्कालै खुल्ला ठाउँमा वा पर्याप्त अक्सिजन भएको ठाउँमा लैजान सके बचाउन सकिन्छ। ‘तर, हाम्रोमा बाथरुम छिरेर लामो समय बस्ने र बाहिर कसैले वास्ता नगर्दा यस्तो जोखिम बढेको छ,’ उनले भने।नुहाउँदा थाहा नै नपाई बेहोस नहुने उनले बताए। सुरूमा टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ। त्यसलाई ख्याल नगर्दा पछि दिमागले काम गर्न छोड्छ। ‘कहाँ छु भन्ने थाहा हुन छोड्छ। र, मानिस बेहोस हुन्छ,’ उनी भन्छन्। यस्तै, टेकु अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर पुन पनि पौडेलको जस्तै तर्क गर्छन्। ‘यसको मुख्य कारण भनेको अक्सिजन पर्याप्त नहुनु हो। ग्यास गिजरबाट निस्कने हानीकारक रसायनले मानिसको मत्यु हुन्छ,’ उनले भने। उनी ग्यास गिजर किन्दा, जोड्दा यसको प्रयोग कसरी गर्ने भन्ने जानकारी नदिँदा जोखिम अझै बढेको बताउँछन्।‘गिजर जोड्ने मान्छे आउँछ जोडेर जान्छ, त्यसलाई कसरी प्रयोग गर्ने भन्ने सिकाएको भेटिँदैन,’ पुनले भने, ‘प्राय: परिवारमा पनि यस विषयमा चर्चा गरेको पाइँदैन। त्यसैले यस्तो दुर्घटना बढेको छ।’ पौडेल गिजर अन गरेर लामो समयसम्म बाथरुममा नबस्न सुझाव दिन्छन्। भन्छन्, ‘कसैको एक घण्टा वा लामो समय बाथरुममा बस्ने बानी हुन्छ, गिजर खोलेर नुहाउँदा बेला-बेलामा बन्द गर्नुपर्छ र सकेसम्म छिटो नुहाइसक्नुपर्छ,’ उनले भने। पुन भने परम्परागत तरिकाले पानी तताएर बाथरुममा लगेर नुहाउन सल्लाह दिन्छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!