
बाँकेका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर पहाडी जिल्लाहरुमा पठाई बिक्री गर्दै आएको एक गिरोहको प्रहरीले पर्दाफास गरेको छ ।

चोरीका मोटरसाइकल रोल्पा, प्यूठान, दाङ, जाजरकोट लगायतका पहाडी जिल्लामा बिक्रि गर्ने कार्यमा एक संगठित गिरोह नै सक्रिय रहेको अनुसन्धानबाट खुलेपछि प्रहरीले सो गिरोहका ६ जनालाई पक्राउ गरेर बुधबार दिउँसो सार्वजनिक गरेको छ ।
प्रहरीले उनीहरुसँगै रहेका ११ वटा चोरीका मोटरसाइकल समेत बरामद गर्न सफल भएको बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले बताउनुभयो । उहाँले बाँकेको नेपालगञ्ज, कोहलपुर र सो वरिपरिका क्षेत्रहरुबाट मोटरसाइकल चोरेर पहाडी जिल्लाहरुमा पुरयाई चेसिस नम्बर लगायत अन्य डिजाइन परिवर्तन गरी सो गिरोहले बिक्री गर्दै आएको खुलासा भएको बताउनुभयो ।
‘मोटरसाइकल चोरेर जंगलमा लुकाएर राख्ने त्यहाँबाट प्यूठानको चेरनेटा दरभानमा रहेका वर्कसपमा नम्बर, प्लेट, चेसिस र इञ्जिन नम्बर परिवर्तन गरी बिक्रि गरेको पाइएकोे छ ।’– प्रहरी प्रमुख रानाले भन्नुभयो । उहाँले सो कार्यमा अन्य केही व्यक्तिहरु पनि सक्रिय रहेको बुझिएकोले उनीहरुको पनि खोज तलाश भैरहेको र सो का लागि विभिन्न जिल्लाका प्रहरीसँग समन्वय गर्ने काम भैरहेको बताउनुभयो ।
मोटरसाइकल चोरेर विक्री गर्ने आरोपमा पक्राउपर्नेमा बाँकेको खजुरा गाउँपालिका ३ का रामबहादुर थापा, जुम्लाको चन्दननाथ नगरपालिका ११ घर भई हाल नेपालगञ्ज ४ बस्ने धिरेन्द्र विक्रम शाही, दाङ गढवा ४ का ईरसाद अहमद मुसलमान, रोल्पा लुग्री १ का छविलाल पुन मगर, लुग्री ५ का नवराज रोका क्षेत्री तथा नेपालगञ्ज १० का रञ्जित शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गत केही महिना यता नेपालगञ्ज लगायत बाँकेका विभिन्न स्थानबाट मोटरसाइकल चोरीका घट्नाहरु बढेका थिए ।