
मोरङमा शौचालय गर्न निस्किएकी बालिकामाथि सामूहिक बलात्कार भएको छ । जहदा गाँउपालिका–१ घर भएकी १४ वर्षीय बालिकाको अपहरणपछि सामूहिक बलात्कार भएको हो । घटना गत सोमबार रातिको हो ।

राति करिब साढे ९ बजे उनी शौचालय गर्न निस्किएकी थिइन् । घर बाहिर निस्कँदा मोटरसाइकलमा आएका दुई युवकले जबरजस्ती उठाएर लगे । प्रतिकार गर्न खोजेपछि मुख थुने । घरदेखि केही टाढाको मकैबारीमा लगेर जबरजस्ती करणी गरे ।
शौचालय गर्न निस्किएकी छोरी नफर्किएपछि परिवारले खोजी गरे । मोटरसाइकलमा लैजाँदै गरेको छिमेकीले देखेका थिए । नफर्किएपछि हल्लाखल्ला भयो । राति करिब ११ बजे गाउँले खोजी गर्न निस्किए ।
सम्पर्कविहीन भएको करिब दुई घण्टापछि बालिका आफन्तको सम्पर्कमा आइन् । आफूमाथि करणी भएको बताएपछि गाउँलेले दुई युवकको खोजी गर्न थाले । राति खोजी गर्दा नभेटेपछि करिब एक बजे प्रहरीलाई खबर गरे । ‘घटनालगत्तै प्रहरीलाई जानकारी भएन । गाउँले खोजी गर्न निस्किँदा हल्ला भएपछि आरोपीहरू भागे,’ इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले भने, ‘घटनामा संलग्नहरूको पहिचान भइसकेको छ ।’
बेलैमा हामीलाई खबर गरेको भए तत्कालै ती युवक पक्राउ पर्थे । गाउँलेले खोजी गर्दा नभेटेपछि मात्रै हामीलाई खबर गरे । खोजबिन गर्दै जाँदा एउटा घरमा मोटरसाइकल छाडेर भागेको देखियो । घटनास्थल नेपाल–भारत सीमा नजिकै पर्छ । राति नै हल्ला भएपछि आरोपी भारत भागेको प्रहरीको दाबी छ ।स्थानीयका अनुसार सोमबार दिउँसो ती युवक टोलमा मोटरसाइकलमा घुमिरहेका थिए । राति बाटो ढुकेर बसेकाहरुले जबरजस्ती उठाएर लगेको प्रहरीले बताएको छ ।