प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि निर्वाचन आयोगले गरेको कामप्रति सन्तोष व्यक्त गर्दै तयारीलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन आग्रह गरेका छन् ।
मंगलवार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीले वैशाखका लागि तोकिएको चुनावको तयारीमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका हुन् । अर्थमन्त्री विष्णु पौडेलसहित आयोग पुगेका प्रधानमन्त्री ओलीले निर्वाचनका लागि सरकारका तर्फबाट स्रोत साधनमा कमी हुन नदिने बताएका थिए ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले निर्वाचनको सन्दर्भमा आयोगले गरेको तयारीबारे जानकारी लिन प्रधानमन्त्री ओली आयोग पुगेको बताए । ‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको तयारीबारे जानकारी गराउनुभयो । प्रधानमन्त्रीज्यूले आयोगको काम सन्तोषजनक रहेको हुनाले धन्यवाद ज्ञापन गर्नुभएको छ । निर्वाचनको तयारीका लागि ध्यानाकर्षण गराउनुभएको छ’ थापाले भने ।
त्यसक्रममा आयोगले वैशाखमै चुनाव गराउन सक्षम रहेको जानकारी गराएको थियो । सल्लाहकार थापाले मंगलवार आयोगमा पार्टीको आधिकारिकता विवादबारे छलफल नभएको दाबी गरे ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्ले सोमवार गरेको निर्णयबारे पनि आयोगलाई जानकारी गराएका छन् । सरकारले पहिलो चरणमा चारवटा प्रदेश र दोस्रो चरणमा तीनवटा प्रदेशमा चुनाव गर्नेगरी सोमवार निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ को चुनाव एकदिन पनि पर नसर्ने बताउँदै आएका छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि चुनाव घोषणा गरेकी थिइन् । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।