हिपमत डटकम

शनिबार, माघ १७, २०७७ || 436  पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई धोका नहुने प्रतिबद्धता गर्नुभएको छ । देशको स्वाधिनता, नेपाली भूभाग र लोकतन्त्रको रक्षा नेकपा नेतृत्वले गर्ने बताउनुभयो । चितवनमा आयोजित नेकपा बृहत कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो ।

देशको विकास गरेरै छाडिन्छ, घुँडा टेक्ने काम हुँदैन प्रधानमन्त्री ओलीले भन्नुभयो, देशको समृद्धि कायम गर्न, लोकतन्त्रको रक्षा गर्नमा म कहिल्यै घुँडा टेक्ने छैन ।” “हामी देश बनाउने महाअभियानमा जुटेका छौं, देश बन्दा कोही कोहीलाई किन छटपटि हुन्छ ?” प्रधानमन्त्री ओलीले थप्नुभयो, “चितवनमा आकर्षक सिग्नेचर पुल निर्माण गर्दैछौं, सुन्दा कोही कोहीलाई पीर पर्ला तर हामी बनाएर छाड्छौं ।”

“राम चितवनकै अयोध्यापुरीमा जन्मेका हुन् भन्नेसम्म आँट छैन, आफूलाई सक्कली राष्ट्रबादी भन्नुहुन्छ त” अध्यक्ष प्रचण्डलाई संकेत गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “रामको भव्य प्रतिमूर्ति तयार भइसकेको छ, सीताको बन्ने क्रममा छ, लक्ष्मण र हनुमानको पनि मूर्ति बनाएर अर्को सालको रामनवमीमा भव्य ढङ्गले प्राणप्रतिष्ठा गर्नेछौं ।” चितवनलाई आकर्षक शहरको रुपमा विकास गर्नेमा सरकार लागेको प्रधानमन्त्री ओलीले चर्चा गर्नुभयो ।

‘पार्टी फुटेको होइन, केही मान्छे बाहिर गएका हुन” प्रधानमन्त्री ओलीले थप्नुभयो, “मान्छे बनाउन खोजेका थियौं तर सकेनौं, सुधार्न सकेनौं ।” पार्टी पहिलेभन्दा अहिले एक ढिक्का भएको उहाँले बताउनुभयो । केही मानिस बाहिर गएपछि पार्टीमा शुद्धीकरणको काम भएको चर्चा गर्नुभयो । मुलुक निर्वाचनमा होमिइसकेकाले २०७८ वैशाख १७ र २७ गते निर्वाचन सम्पन्न हुने भन्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “देश र जनतको निम्ति, जनताको हितमा काम गर्ने व्यक्तिलाई छानेर पठाउनुस् ।”

नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले उठाएको पछिल्लो कदम संवैधानिक रहेको बताउनुभयो । चितवनको विशाल जनसभाले पनि सरकारको कदम संवैधानिक र सही भएको पुष्टि गरेको उहाँले चर्चा गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सरकारले काम गरिरहेकाले कसैको भ्रममा नपर्न उहाँले सबैमा आग्रह गर्नुभयो । “हामी गुट र फुटको पक्षमा छैनौं, एकताबद्ध पार्टीको पक्षमा छौं” उहाँले भन्नुभयो ।

देशको समृद्धिका लागि सरकारले ऐतिहासिक कदम उठाएको प्रष्ट पार्नुहुँदै मन्त्री थापाले भन्नुभयो, “नयाँ लडाई हामीले आधा जितिसक्यौं, अब बाँकी लडाई जनताको सहयोगमा निर्वाचनबाट जित्छौं ।” अध्यक्ष प्रचण्डलाई उहाँले निर्वाचनमा भागलिई प्रधानमन्त्री हुने बाटो रोज्न आग्रह गर्नुभयो । कमजोरी र गल्ती सच्याएर पार्टीमा फर्कन उहाँले प्रचण्ड–माधव पक्षलाई आग्रह गर्नुभयो । देशको समृद्धि नेकपाको नेतृत्वमा मात्र सम्भव भएको उहाँले चर्चा गर्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले प्रधानमन्त्री ओलीले देशको समृद्धि कायम गर्ने महानायक भएको चर्चा गर्नुहुँदै अभियानमा साथ दिन सबैमा आग्रह गर्नुभयो । देशलाई संकटबाट जोगाउने काम अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको चर्चा गर्नुभयो ।
शहरी विकासमन्त्री प्रभु साहले प्रचण्ड–माधव पक्ष आफ्नो स्वार्थकालागि जनतालाई भ्रममा पार्ने प्रयास गरिरहेको बताउनुभयो ।

नकारात्मक प्रबृत्तिलाई परास्त नगरेसम्म सकारात्मक पक्षको विकास गर्न सम्भव हुँदैन मन्त्री साहले भन्नुभयो, “नेपाललाई अस्थिरतातर्फ लग्ने प्रयास भइरहेको छ, प्रधानमन्त्री केपी शर्मा ओलीले देशको रक्षा, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि नेतृत्व गरिरहनुभएको छ ।” बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले चितवनको उपस्थिति देखेर प्रचण्ड–माधव पक्षका नेता तथा कार्यकर्ताहरुको मुटु थर्किएको हुनसक्ने बताउनुभयो ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले मुलुकको परिवर्तनको पक्षमा काम गरिरहेकाले साथ दिन उहाँले सबैमा आग्रह गर्नुभयो । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) बाट नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गर्नुभएको थियो । उहाँहरुलाई अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!