हिपमत डटकम
काठमाडौं,माघ -१५: दया याचिका खारेज भएपछि निर्भयाका दोषी मुकेशको न्यायिक समीक्षाको याचिकामाथि सर्वोच्च अदालतमा मंगलबार सुनुवाई भयो । न्यायाधीस आर भानुमती, अशोक भूषण र एएस बोपन्नाको बेन्चलाई मुकेशकी वकिल अञ्जना प्रकाशले दया याचिका खारेज गर्नेबेला दिमाग लगाउनुपर्दथ्यो भन्ने बयान दिएकी थिइन् । त्यसपछि उक्त बेन्चले अञ्जनालाई सोध्यो, ‘तपाईं कसरी भन्न सक्नुहुन्छ कि राष्ट्रपतिले यसो गर्दा दिमाग लगाउनुभएको थिएन ।’ त्यसपछि अञ्जना प्रकाशले मुकेशमाथि जेलभित्र दुर्व्यवहार र कुटपिट भएको बताएकी थिइन् । यसको विरोध गर्दै केन्द्रको तर्फबाट सोलिसिटर जनरल तुषार मेहताले यस्तो जघन्य अपराध गर्नेहरुलाई दुर्व्यवहार भएको भन्दै दयाको हकदार भन्न नसकिने बताए । निर्भया मुद्दाका चार दोषीमध्ये एक मुकेश सिंहले राष्ट्रपति रामनाथ कोबिन्द समक्ष दया याचिका पठाएका थिए । १७ जनवरीमा राष्ट्रपतिले उनको दया याचिका खारेज गरेका थिए । यसमाथि मुकेशले सर्वोच्च अदालतसँग न्यायिक समीक्षाको माग गरेका थिए । अदालतले यसको निर्णय बुधबार अर्थात् आज दिनेछ । चारैजना दोषीलाई १ फेब्रुअरी बिहान ६ बजे तिहाड जेलमा फाँसी दिने निश्चित भएको छ ।