हिपमत डटकम

मंगलबार, माघ १३, २०७७ || 560  पटक पढिएको

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ । मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायत रोगबाट पीडित उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । एक साता अघिदेखि खम्बासिंहलाई अस्पतालमा राखेर उपचार गरिँदै आएको उनका पारिवारिक सदस्य नारायणसिंह कुँवरले जानकारी दिए ।

भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार उहाँको बिहान ८ः४५ बजे निधन भएको हो । उनमा निमोनियाको समस्या पनि देखिएको अध्यक्ष अधिकारीले जनकारी दिए । उनको आजै पवित्र तीर्थस्थल देवघाटमा दाहसंस्कार गरिँदै छ । त्यसअघि नेकपा चितवनको पार्टी कार्यालयमा श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको जनाएको छ ।

श्रद्धाञ्जलि कार्यक्रममा कुँवरका राजनीतिक शिष्य नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत आउने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष यमबहादुर परियारले जानकारी दिए । पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलिपछि आजै देवघाटमा अन्त्येष्टि गरिँदै छ ।

विसं १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नं ७ मा बुबा ललितजङ्ग र आमा पुतली कुँवरको कोखबाट जन्मेका कुँवरले २०११ सालमा लमजुङमा गुणबहादुर गुरुङबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । विसं २०१५ मा चितवन झरेका कुँवरले सम्पूर्ण जीवन र आफ्नो जायजेथा पनि पार्टीलाई नै सुम्पिएका थिए ।

उनलाई विसं २०६८ मा चितवनमा नागरिक समाज र तत्कालीन माओवादी पार्टीले नागरिक अभिनन्दनसहित रथारोहण गराएको थियो । यस्तै विसं २०६९ मा नेपाल सरकारले उनलाई सुप्रबल जनसेवाश्री विभूषणद्वारा सम्मानित गरेको थियो । जीविकोपार्जनका लागि भारत जाँदा २००७ सालमै भारतीय कम्युनिष्ट पार्टीका नेता अमृत डाँगीको सङ्गतमा परेपछि उनी नेपालमै फर्किएर वर्गीय आन्दोलनमा होमिएका थिए ।

विसं २०१४ मा नन्सेन्टर जिल्ला कमिटीको नेतृत्वमा रहेका उनी त्यसपछि मोहनविक्रम सिंह, शम्भुराम, मनमोहन अधिकारी निर्मल लामालगायतका नेतासँगै न्यूक्लियस सङ्गठन गरेर सङ्गठन विस्तारमा लागेको उनी जीवित हुँदै बताएका थिए ।

विसं २०३१ मा मोहनविक्रम सिंह महामन्त्री रहेको चौथो महाधिवेशनमा पोलिटब्यूरो सदस्य रहेका उनले गण्डकी, नारायणी, लुम्बिनीलगायत क्षेत्रमा रहेको आफ्नो जिम्मेवारी पूरा गरेका थिए । विसं २०३४ मा गोरखाको आरुघाटमा प्रगतिशील शिक्षकका लागि नेकपा चौमको प्रशिक्षण कार्यक्रम भएको थियो । त्यसका प्रशिक्षक कुँवर रहेका थिए । प्रशिक्षार्थीमध्ये एक थिए ‘प्रचण्ड’ । त्यही प्रशिक्षणबाट प्रभावित भएर विसं २०३५ मा शिक्षक पेशा छोडेर दाहाल दीर्घकालीन कार्यकर्ता भएको बताइन्छ ।

विसं २०४८ मा नेकपा माओवादी गठन भएपछि निरन्तर केन्द्रीय सल्लाहकार समिति सदस्य रहेका खम्बासिंह जनयुद्धकालमा भूमिगत थिए । हाल उनी पार्टीको केन्द्रीय सल्लाहकार रहनुभएको जिल्ला अध्यक्ष परियारले जानकारी दिए । उनका एक छोरा र चार छोरी रहेका छन् । उनी परिवारका सदस्यसँग भरतपुर महानगरपालिका–१० मा बस्दै आाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!