हिपमत डटकम

सोमबार, माघ १२, २०७७ || 545  पटक पढिएको

समयमा हिउँ नपर्दा यस वर्ष रुकुम (पूर्व) का हिमालको सौन्दर्य झल्किन पाएको छैन । केही वर्ष पहिलेसम्म बाह्रैमहिना हिउँ रहिरहने हिमालमा पछिल्लो समय हिउँ पर्न छोडेपछि सौन्दर्यको रुपमा देखापर्ने हिमाल टल्कन छोडेका हुन् ।

पहिले कात्तिकको अन्तिम र पुस महिनाबाट हिउँ पर्ने गरेको भए पनि यस वर्ष भने माघको दोस्रो साता लाग्दा पनि हिउँ परेको छैन भने तल्लो क्षेत्रमा वर्षासमेत भएको छैन् । हिउँ पर्ने मौसममै हिमालमा हिउँ नभएपछि हिमाली क्षेत्र उजाड देखिन थालेका छन् । हिमालको प्राकृतिक सौन्दर्यता नै हराउँदै गएको रुकुम (पश्चिम) बाफिकोट गाउँपालिका हिमाल आरोही मनबहादुर खत्री बताउँछन् । हिमाली क्षेत्रमा देखिएको यो समस्याले सिङ्गो पर्यटकीय क्षेत्र नै धरापमा पर्ने अवस्था देखिएको उनको भनाइ छ ।

दर्जन हिमालको आरोहण गरिसकेका खत्रीले विगतका वर्ष र अहिलेको वर्षमा सिस्ने हिमालमा धेरै परिवर्तन आएको बताए । चार÷पाँच वर्ष अघिसम्म बाह्रै महिना हिउँ टल्कने हिमाललाई अहिले नियाल्दा चट्टान मात्र देखिने गरेको उनको भनाइ छ । रुकुम (पूर्व) मा पाँच हजार ८४० मिटरदेखि सात हजार २४६ मिटर उचाइ भएका पाँच वटा हिमाल रहेका छन् भने अन्य साना थुप्रै हिमाल र हिमताल छन् । जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)को आधिकारिक वेबसाइटमा राखिएको जानकारीअनुसार जिल्लाकै सबैभन्दा अग्लो हिमाल पुथाको सात हजार २४६ मिटर उचाइ रहेको छ ।

यस्तै दोगारी हिमालको उचाइ छ हजार ५३६ मिटर रहेको छ भने सामजाङ्ग हिमालको उचाइ पाँच हजार ९२४ मिटर छ । यस्तै सिस्ने हिमालको उचाइ पाँच हजार ९११ मिटर उचाइ रहेको छ भने निम्कु हिमालको उचाइ पाँच हजार ८४० मिटर रहेको छ । यी हिमालमा पुग्नको लागि ट्रेकिङ रुट निर्माणको काम भइसकेको छ । अहिलेसम्म सिस्ने र पुथालगायत त्यस आसपासका हिमालमा जाने रुट तयार भइसकेको हिमाल ओरोही खत्रीले बताए। पुथा हिमाल जाने रुट छ वर्षअघि तयार भइसकेको छ भने सिस्ने हिमाल जानको लागि भने भर्खरै मात्र तीनवटा रुट पत्ता लगाइएको छ ।

लुम्बिनी प्रदेशको रुकुम (पूर्व) तथा कर्णाली प्रदेशमा पर्ने रुकुम (पश्चिम) को तीन स्थानीय तहको भूभाग छुने र डोल्पाका मनमोहक दृश्यावलोकनसमेत गर्ने गरी नयाँ ट्रेकिङ रुट–‘सिस्ने राउण्ड’ को अन्वेषण पूरा भएको हो । यो गन्तव्य अन्वेषण भइसकेपछि लाङ्टाङ भन्दा पनि राम्रो ट्रेकिङ रुट बन्ने पर्वतारोहीसमेत संलग्न अन्वेषण टिमले जनाएको छ ।

यो अन्वेषणको नेतृत्व सिस्ने आरोही खत्रीले नै गरेका छन् । खत्रीको नेतृत्वमा भइरहेको अन्वेषणमा रुकुम (पूर्व) को सिस्ने गाउँपालिकासहित रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिका र बाफिकोट गाउँपालिकाले सहयोग गर्दैछन् । सरकार संस्था र व्यक्तिको त्रिपक्षीय साझेदारीमा भइरहेको गन्तव्य अन्वेषणमा संस्कृति तथा पर्यटन विकास केन्द्र पनि लागिरहेको छ ।

गत जेठदेखि गन्तव्य पहिचान शुरु गरिएको थियो । पहिलेका कतिपय तथ्याङ्कसमेत प्रयोग गर्दैै अन्वेषण टोलीले ट्रेक गर्दै रुट पहिचानको आधारभूत काम सम्पन्न गरेको छ । प्रारम्भिक अध्ययनबाट यहाँ १४ दिनको ट्रेक बन्दैछ । यो ट्रेकको विकास गर्ने हो भने थुप्रै विदेशी पर्यटक भित्रयाउन सकिने अन्वेषण टोलीको निष्कर्ष छ । देशका सबै ट्रेकिङमा पथप्रर्दशन गरिसकेका खत्रीले सिस्ने हिमालको पछाडिपट्टिको भागबाट काञ्जिरोवाका २८ हिमाल देख्न सकिने बताएका हुन् ।

यस्तै त्यहाँबाट सानीभेरी, ठूलीभेरी दुबैको मनोरम दृश्य देख्न सकिन्छ । उनी भन्छन्, “सिस्ने राउण्ड लागाउनु भनेको श्रीपेचको वरिपरि घुमे जस्तै हो ।” तत्काललाई जाने बाटोमा व्यवस्थित आवास र खानपानको व्यवस्था नभएकाले सिस्ने राउण्डको लागि रु एक लाख वा त्यो भन्दा बढी खर्च लाग्ने गर्दछ । यसलाई व्यवस्थित बनाउने हो भने १४ दिनमा रु १४ हजार खर्चले सिस्ने राउण्ड लागाउन सकिन्छ, उनले भने । अब पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि भने सजिलै आन्तरिक पर्यटक भित्र्याउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!