हिपमत डटकम

आइतबार, माघ ११, २०७७ || 609  पटक पढिएको

गुल्मी । २०७७ असोज २० गते राति गुल्मीको ईस्मा गाउँपालिका–३, पालुका घर्तीफाँटका २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या भयो । आफ्नै रेष्टुरेन्टमा अज्ञात समूहको कुटपिटबाट उनको हत्या भएको थियो ।
टाउको र शरीरका अन्य भागमा चोटहरुसहित रेष्टुरेन्टभित्र रगतको पोखरीमा डुबेको अवस्थामा उनको शव प्रहरीले सनाखत गरेको थियो । उक्त हत्याकाण्डको ४ महिना बित्नै लाग्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन ।
२०७७ मंसिर १० गते गुल्मी कै रुरु क्षेत्र गाउँपालिका–४ मा एक बालिकालाई भारतमा बेचबिखन गर्न लगेको अभियोग लागेका एक स्थानीयवासी गाउँमै रहेको तर प्रहरीले पक्राउ गर्न नसकेको स्थानीयवासीको आरोप छ ।

२०७७ भदौ ३ गते गुल्मीकै मुसिकोट नगरपालिका–२ का एकजना पाको उमेरका पुरुषले ५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गराएको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको थियो । ती पुरुषलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

गत पुष २३ गते सदरमुकाम तम्घासमा कथित धामी रामप्रसाद श्रेष्ठ र उनकी श्रीमती शान्ति श्रेष्ठले ईस्मा गाउँपालिका–३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर कुमाललाई तातो पन्युले डामेर ज्यान लिए ।
श्रेष्ठ दम्पतीलाई प्रहरीले पक्राउ गरे पनि ती धामीका मुख्य गुरु मानिएका अर्का धामी बुटवलमा रहेको र बेला बेलामा प्रशिक्षित गर्न उनी तम्घास आउजाउ गर्ने गरेको बताईन्छ । उनलाई खोजतलास गर्ने काम अझै हुन सकेको छैन ।
यही माघ ३ गते रेसुङ्गा नगरपालिका–१४ पराल्मी रातामाटामा दिनदहाडै अज्ञात ब्यक्तिले भरुवा बन्दुक प्रहार गर्दा ४७ वर्षीय तुलबहादुर विकको ज्यान गयो ।

मृतककी श्रीमती गीता विकका अनुसार त्यसदिन उनीहरु जंगलमा घाँस काट्न गएका थिए । एक स्थानीयवासीले केही महिना अघि ज्यान मार्ने धम्की दिएको उल्लेख गर्दै उनले नियोजित रुपमै आफ्नो पतिको हत्या भएको आरोप लगाएकी छन् । तर श्रीमानको हत्या भएको एक हप्ता बित्दा पनि हत्यारा पत्ता लगाउन प्रहरी प्रशासन असफल भएको उनको गुनासो छ ।

पुस २४ गते दिउँसो करिब साढे १० बजे जिल्ला प्रहरी कार्यालय नजिकै चिदीचौरमा महेन्द्र नमुना माविमा कक्षा ११ मा अध्ययनरत ईस्मा गाउँपालिका–३ दर्लामचौरका १९ वर्षीय माधव पछाई केही युवाहरुको जत्थाबाट निर्घात कुटिए । उनी मरणासन्न भएर ढले । पाल्पाको प्रभास अस्पतालमा उनको उपचार सम्भव नभएपछि काठमाडौं पु¥याईयो ।

रेसुङ्गा नगरपालिका–१ का रोहित गुरुङ्ग, सन्देश श्रेष्ठ, रितेश भलामी, आईस पाण्डेबाट उनी कुटिएको प्रहरी बताउँछ । तीमध्ये दुईजना मात्रै पक्राउ परे भने अरु दुईजना फरार भए ।
सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहने ठाउँमै दिनदहाडै यस्ता घटना आपराधिक हुनु, अन्य हत्या घटनामा संलग्न अपराधी पक्राउ गर्न नसक्नु लज्जाको विषय भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा ( प्रचण्ड–नेपाल समुह) गुल्मीका नेता तथा कार्यकर्ता प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र प्रहरी प्रमुख एसपी प्रविण श्रेष्ठको ध्यानकर्षण गराउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

‘हत्या भएको चार महिना बित्दा पनि अपराधी पक्राउ पर्दैनन्, प्रहरी कै सामु मानिस निर्घात कुटिन्छ, जंगलमा बन्दुक चल्छन्, मान्छे मारिन्छन्, सदरमुकामभित्रै धामीहरुले मान्छे डामेर मार्छन्,’ नेकपा प्रदेश कमिटी सदस्य बुद्धि जिसीले भने, ‘पछिल्लो चरण सुरक्षा ब्यवस्था कमजोर भएको पाइएपछि प्रहरी प्रशासनको ध्यानाकर्षण गराइएको हो ।’

नेकपा गुल्मीका अर्का नेता गणेश श्रीपालीले सर्वसाधारण नागरिकको सुरक्षामा त परै जावस्, स्थानीय सरकारकै कार्यालयसमेत सुरक्षित राख्न प्रहरी प्रशासन विफल रहेको बताए । मालिका गाउँपालिका–७ घमिरको वडा कार्यालय एक वर्ष मै तीन पटक तोडफोड गरी चोरी हुनु, ईस्मा गाउँपालिका–२ को वडा कार्यालय फोडेर चोरी हुँदासमेत दोषी पत्ता नलाग्नुले सुरक्षा व्यवस्था फितलो देखिएको उनको भनाइ छ ।
मालिका मदाने गाउँपालिकाको वन क्षेत्रमा चोरी सिकारी गर्नेहरुको संख्या बढ्दै गएको, दैनिकजसो वन क्षेत्रमा बन्दुक पड्कने गरेकोप्रति पनि नेताहरुले प्रशासनको ध्यानकृष्ट गराए ।

जिल्लाका दर्जनौं स्थानमा निर्वाध रुपमा अवैध क्रसर उद्योग सञ्चालन भईरहँदा पनि प्रशासनको ध्यान नगएको, विकास निर्माणको क्षेत्रमा कमिशनतन्त्र मौलाएको लगायतका विषयमा पनि प्रहरी प्रशासनको ध्यान जानुपर्ने नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेको भनाइ थियो ।

प्रहरी प्रमुख श्रेष्ठले हत्याका घटनामा संग्लनहरुको खोजी कार्य भइरहेको र डेलिगेशनमा पुगेको टोलीले उठाएका अन्य विषय सम्बोधनमा पनि आफुहरुको ध्यान जाने प्रतिबद्धता जनाए ।
प्रमुख जिल्ला अधिकारी शर्माले पछिल्लो चरण जिल्लामा केही अनौठा प्रकृतिका घटनाहरु घटेकोप्रति चिन्ता जाहेर गर्दै आफुहरु नागरिक सुरक्षामा गम्भीर रहने प्रतिबद्धता जनाइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!