हिपमत डटकम

आइतबार, माघ ०४, २०७७ || 515  पटक पढिएको

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमकाविरुद्ध आन्दोलनमा होमिएको जनता समाजवादी पार्टी (जसपा) मा आफैँभित्र विवाद देखिएको छ । आन्दोलनका कार्यक्रम तय गर्दा पार्टीभित्रको मर्यादाक्रमलाई ख्याल नगरेको भन्दै एउटापक्ष असन्तुष्ट बनेको हो । आन्दोलनलाई कसरी अगाडि बढाउने भन्नेमा पूर्वसमाजवादी र राजपापक्षका नेताहरूबीच कुरा नमिलेको चर्चा चलिरहेका बेला मर्यादाक्रम र वरीयताक्रमलाई लिएर विवाद चर्किएको छ ।

संसद विघटनकाविरुद्ध शनिबार सिरहामा हुने कार्यक्रममा प्रमुख अतिथिको विषयलाई लिएर विवादले उग्ररूप लिएको हो । सो कार्यक्रममा जसपा नेपालका कार्यकारिणी सदस्य रेणु यादवलाई प्रमुख अतिथि बनाइएको छ । कार्यक्रमका लागि मातहतका कमिटीमा गरिएको परिपत्रमा तत्कालीन राजपा अध्यक्षमण्डलका अध्यक्ष राजकिशोर यादवको नाम सबैभन्दा पुच्छरमा राखिएपछि उनी पक्षधर नेता तथा कार्यकर्ता आक्रोशित बनेका हुन् । यही कारण उनी र जसपा अध्यक्ष उपेन्द्र यादवबीच टेलिफोनमा चर्काचर्की परेको छ ।

राजकिशोर राजपा अध्यक्षमण्डलको सदस्य भइसकेको कुरालाई भुलेर मर्यादाक्रममा उनको नाम सबैभन्दा तल राखिएको भन्दै अर्का नेता राजाराम यादवले उपेन्द्रसँग आक्रोश पोखेका छन् । जवाफमा अध्यक्ष यादवले कार्यक्रममा सहभागीका लागि पठाइएको नाममा कुनै वरियताक्रम नरहेको पनि स्पष्ट पारेका छन् । पार्टी एकतापछि वरियताकै विवादमा रुमल्लिरहेको जसपाले सांगठनिक एकताका काम अझै टुङ्ग्याउन सकेको छैन । जसको प्रत्यक्ष असर अहिलेको आन्दोलनमा परेको बताइएको छ ।

गत वैशाखमा प्रधानमन्त्री ओलीले दल विभाजन खुकुलो हुने गरी अध्यादेश ल्याएपछि तत्कालीन समाजवादी र राजपाबीच एकता भएको थियो । प्रधानमन्त्री ओलीले आफ्नो दल विभाजन गर्नैका लागि अध्यादेश ल्याएको निष्कर्षमा पुगेका दुई पार्टीले रातारात एकता गरेका थिए ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्ने सवालमा पनि दुई पूर्वघटकबीच विवाद छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव संसद विघटनविरुद्ध संयुक्त आन्दोलनको पक्षमा छन् । उनीहरूले प्रचण्ड–माधव नेपाललाई संयुक्त आन्दोलनको प्रस्ताव नै गरिसकेका छन् । यता महन्थ ठाकुर र राजेन्द्र महतो भने एक्लै आन्दोलन गर्ने पक्षमा छन् । दुवै नेता ओलीप्रति नरम रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!