सोमबार, माघ १३, २०७६ || 872  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,१३माघ :साहित्यकार लक्ष्मण नेवटियाले मारवाडी भाषामा लेखिएका कवितासंग्रह प्रकाशनमा ल्याएका छन् । नेवटियाको ‘लक्ष्मणकी मारवाडी कवितावां’ नामको पुस्तक शनिबार विराटनगरमा विमोचन गरिएको छ ।

नेपाल मारवाडी भाषा साहित्य सम्मेलनका अवसरमा नेवटियाद्वारा नै अनुवाद गरिएको बसन्त चौधरीको ‘बसंत’ नामको अर्को पुस्तक पनि विमोचन गरिएको छ ।

ती दुवै पुस्तक कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का प्रमुख सोमनाथ अधिकारी, विशिष्ट अतिथि संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मोती दुगडले विमोचन गरेका हुन् ।

साहित्यकार लक्ष्मण नेवटियाले २०३९ सालमा पहिलो पटक कवितासंग्रह प्रकाशन गरेका थिए । विगत चार दशकदेखि नेपाली भाषा साहित्यमा कलम चलाउँदै आएका नेवटिया व्यंगकविका रूपमा विशेष चिनिन्छन् ।

उद्घोष दैनिकमा नेवटियाले विगत १४ वर्षदेखि ‘लक्ष्मणको कुनो’ स्तम्भमा नियमित कविता लेख्दै आएका छन् । हरेक साता नबिराई उनको कविता प्रकाशित हुने भएका कारण एक अबिराम कविको रूपमा उनको नाम ‘गिनिज बुक’ मा लेख्ने तयारी पनि सुरू भएको छ । साताको एक पटक प्रकाशित हुने उनको स्तम्भ १४ वर्षदेखि अहिलेसम्म एक पटक पनि छुटेको छैन ।

नेपाली भाषामा कविता तथा पुस्तक प्रकाशन भए पनि उनको मारवाडी भाषामा छिटफुट कविताबाहेक पुस्तकका रूपमा कविता संग्रह प्रकाशित भएको थिएन । मातृभाषामा पुस्तक प्रकाशन गरेर नेवाटियाले मारवाडी भाषालाई समृद्ध बनाएको नेपाल राष्ट्रिय मारवाडी परिषद् भाषा समितिका सभापति सुरेशकुमार शर्माले टिप्पणी गरेका छन् ।

सम्मेलनमा नेपालमा मारवाडी भाषा विषयमा कार्यपत्र प्रस्तुत गर्दै शर्माले मारवाडी भाषा भारोपेली परिवारको एउटा सबल भाषा भएको चर्चा गरे । उनले विश्वभरि १२ करोडबराबर मारवाडी रहेको जानकारी दिए ।

शर्माले नेपालमा एक लाखभन्दा बढी मारवाडी रहेको आँकडा भएपनि राष्ट्रिय जनगणनामा संख्या निकै कम देखाइएको गुनासो गरे । आउँदो २०७८ सालको जनगणनामा मारवाडी समुदायका सबैलाई आफ्नै जात र भाषा टिपाउन उनले आग्रह गरेका छन् ।

भाषा समितिका सभापति शर्माले मारवाडी समाजका कतिपय व्यक्तिहरू नेपाली भाषासाहित्यसँग प्रत्यक्ष जोडिएको र परोक्ष रूपमा पनि नेपाली भाषाका पाठ्यपुस्तक, साहित्य, व्याकरण, शब्दकोश आदिको प्रकाशनमा पनि सहयोग पुर्याउँदै आएको बताए ।

उनले लक्ष्मण नेवटिया र बसन्त चौधरी युवा अवस्थादेखि नै साहित्य साधकका रूपमा परिचित भएर मारवाडी समुदायको गरिमा बढाएको उल्लेख गरे । नेपाली भाषाका साथसाथै मारवाडी भाषामा पनि लेख, रचनाहरू लेख्ने क्रम बढेकाले मातृभाषाको विकाशमा महत्वपूर्ण योगदान पुगेको शर्माले बताए ।

कार्यक्रममा मारवाडी भाषामा विमोचन गरिएको ‘बसंत’ नामको पुस्तकका सर्जक बसन्त चौधरीले गद्य अनुवादमा आफ्नो पुस्तक नवौं भाषामा प्रकाशन भएको जानकारी दिए । ‘बसन्त’ नेपाली मूल भाषामा रचित चौधरीको कवितासंग्रह हो ।

मूल भाषा नेपालीबाट उनको कविता संग्रह यसअघि अंग्रेजी, नेवारी, मैथिली, भोजपुरी, हिन्दी, तामाङ र बंगाली भाषामा अनुवाद भइसकेका छन् ।

चौधरीको कवितासंग्रह ‘बसन्त’ अंग्रेजी भाषामा डीबी गुरूङ, हिन्दीमा गोपाल अश्क, नेवारीमा सुरेशकिरण मानन्धर, मैथिलीमा धिरेन्द्र प्रेमर्षि, भोजपुरीमा गोपाल ठाकुर, तामाङमा फूलमान वन, बंगाली भाषामा राजेन्द्र गुरागाईले अनुवाद गरेका हुन् ।

सफल उद्योगपतिको पहिचानसमेत बनाएका चौधरीले देशविदेशमा एकल काव्ययात्रा पनि गरेका छन् । उनी कविता सँगसँगै विभिन्न गीतका सर्जक पनि हुन् ।

चौधरीले आफ्ना मातापिताको स्मृतिमा लुनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिर स्थापना गरी साहित्य क्षेत्रमा विभिन्न गतिविध पनि गर्दै आएका छन् । उक्त प्रतिष्ठानको अध्यक्ष बसन्त चौधरी स्वयं छन् ।

शनिबार आयोजित नेपाल मारवाडी भाषा साहित्य सम्मेलन तथा मारवाडी भाषाको पुस्तक विमोचनको आयोजकमध्ये लुनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिर पनि हो । कार्यक्रममा भारत जयपुरका मारवाडी भाषाविद् बीएल माली अशान्त, जयपुरकै अर्का साहित्यकार कल्याणसिंह शेखावतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!