प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टीले दोस्रो चरणको आन्दोलनको कार्यक्रम शुरु गरेको छ ।
सो पार्टीले पुस २५ गतेदेखि माघ ७ गतेसम्मको कार्यक्रम घोषणा गरेको छ । भालि विराटनगर, धनगढी र भैरहवा आमसभाको घोषणा गरिएको छ भने पुस २७ गते वीरगञ्ज, नेपालगञ्ज र जनकपुर तथा पुस २९ गते पोखरा, सुर्खेत र विर्तामोड र माघ ३ गते धरान, मलगंवा, सिरहा, कलैया, तौलिहवा र रौतहटमा आमसभाको आयोजना गरिएको छ ।
ती सबै कार्यक्रमका लागि केन्द्रबाट वक्ताहरु चयन गरिएको छ । यस्तै माघ ७ गते सबै जिल्लाका सदरमुकाम लगायत प्रमुख शहरहरुमा जनप्रदर्शन गर्ने कार्यक्रम तय पनि जसपाले तय गरेको छ ।
भोलि हुने कार्यक्रमका लागि संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य मृगेन्द्र सिंह यादव विराटनगर, कार्यकारिणी सदस्यहरु नवराज सुवेदी, गोविन्द चौधरी, दुर्गा सोव धनगढी र जसपा नेपाल अध्यक्ष महन्थ ठाकुर, कार्यकारिणी सदस्य महेन्द्रराय यादव र सर्वेन्द्रनाथ शुक्ला भैरहवा जाने भएका छन् ।
सरकारलाई संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा भंग गरिएको कार्य असवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्य रहेको बताउँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए । जनआन्दोलन, जनयुद्ध, मधेश जनविद्रोह लगायत विभिन्न खालको आन्दोलनबाट प्राप्त उपलब्धीलाई प्रधानमन्त्री ओलीले धरापमा पारेको बताउँदै उनले त्यसविरुद्धमा देशव्यापी कार्यक्रमका आयोजना गर्न लागेको बताए ।
लोकतन्त्रको रक्षाका लागि आन्दोलनबाहेक अरु कुनै विकल्प नरहेको उनले बताए ।