आइतबार, माघ १२, २०७६ || 638  पटक पढिएको

हिपमत डटकम काठमाडौं ,१२माघ ,  कांग्रेसमा भागबन्डा मिलेपछि विधानविपरीतका निर्णयमा समेत संस्थापनइतर पक्षले सभापति शेरबहादुर देउवालाई सघाउने भएको छ । विधानसम्मत निर्णयको माग गर्दै आएको इतरपक्षले विधानविपरीत नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमिति गठन गर्ने बाटो खुला गरिदिएको हो । देउवाको बूढानीलकण्ठस्थित निवासमा शुक्रबार भएको छलफलमा संघको पदाधिकारीसहित सदस्यहरूको भागबन्डा भएको थियो । ३२ वर्ष उमेरभन्दा मुनिकाले मात्रै नेतृत्व गर्न पाउने गरी एक वर्षअघि नै संघको विधानलाई पार्टीको केन्द्रीय कार्यसमितिले अनुमोदन गरी कार्यान्वयनमा ल्याइसकेको छ । त्यही विधानअनुसार डेढ दर्जनभन्दा बढी जिल्लामा अधिवेशन भइसकेको छ । तर, संघको केन्द्रीय कार्यसमिति सभापतिमा ५० वर्ष उमेर हाराहारीका राजीव ढुंगानालाई ल्याउने समझदारी नेताहरूले गरेका छन् । ढुंगाना संघका पूर्वउपाध्यक्ष हुन् । संस्थापन निकट रहेका ढुंगानालाई संघको नेतृत्वमा ल्याउन धेरै समय अघिदेखि देउवा लागिपरेका थिए । भागबन्डा नमिलेर इतरपक्ष विरोधमा उत्रिएपछि देउवाले संघ गठन गर्न सकेका थिएनन् ।शुक्रबार समझदारी भएपछि देउवा केही दिनमै ढुंगाना नेतृत्वमा संघ गठन गर्ने तयारीमा छन् । देउवाले संस्थापन इतरपक्षलाई पदाधिकारीसहित केन्द्रीय सदस्यमा ६० प्रतिशत हिस्सा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षलाई दिएर सहमति गरेका हुन् । पार्टीभित्र समझदारी नगरी विधानविपरीतका निर्णय लिन अप्ठ्यारो परेपछि देउवा भागबन्डामा लचिलो बनेका हुन् । सभापति देउवानिकट एक नेताका अनुसार ढुंगानाको नेतृत्वमा १ सय २७ सदस्यीय संघको तदर्थ समिति गठनको तयारी भएको छ । जसमा ९ महामन्त्री, ६ उपाध्यक्ष र ६ सहमहामन्त्री हुनेछन् । महामन्त्रीमा देउवाले ३, पौडेल पक्षले ३, सिटौला पक्षले २ र उपसभापति विजयकुमार गच्छदार समूहले १ जना राख्ने समझदारी भएको छ । उपाध्यक्ष र सहमहामन्त्रीमा देउवा, पौडेल र सिटौलााले २र२ संख्या लिने भएका छन् ।
ढुंगानाको नेतृत्वमा संघ गठन गर्ने तयारी भएदेखि नै पार्टी केन्द्रीय कार्यालयमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षीय विद्यार्थी नेताहरूले रिले अनशन गरेका थिए । संघका पूर्वमहामन्त्री कुन्दन काफ्ले नेतृत्वमा अनशन बसेको हो । यो समूहले संघमा ३२ वर्षको उमेर हद लगाउनुपर्ने माग गर्दै आएको छ । निवर्तमान अध्यक्ष नैनसिंह महरसमेत विधानविपरीत संघ गठन गर्न नहुने पक्षमा छन् ।अधिवेशन गराउन नसकेको आरोपमा पार्टी निर्देशनअनुसार महरले एक वर्षअघि राजीनामा दिएका थिए । त्यसपछि संघ नेतृत्वविहीन छ । नेताहरूको भागबन्डा र गुटबन्दीका कारण संघ गठन हुन सकेको थिएन । नेताहरूबीच नै ३२ वर्ष उमेर हद लगाउने कि नलगाउने भन्नेमा विवाद तीव्र थियो । सभापति देउवा आफैंले संघमा ३२ वर्ष उमेर हद लगाउनुपर्ने अडान राख्दै एक वर्षअघि बहुमतबाट विधान पारित गराएका थिए । साभार ईकान्तीपुर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!