शुक्रबार, माघ १०, २०७६ || 648  पटक पढिएको

हिपमत डटकम , विराटनगर, १० माघ ,झापालाई धान उत्पादनका लागि सुपर जोन घोषणा गरिएको छ । तर, सुपर जोन कार्यक्रम बिस्तार गरिए पनि यहाँका किसानले उत्पादन गरेको धान बिक्री हुन सकेको छैन । सुपर जोनमा उत्पादित धान सम्बन्धित जिल्ला र मुलुकभित्रै खपत गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन भए पनि धान यहाँको हिउँदे धान बिक्री नहुँदा किसान चिन्तित छन् ।
झापाको गौरीगञ्ज गाउँपालिका–६ का बासुप्रसाद सिंहले ४ बिघा क्षेत्रफलमा उत्पादन गरेको २ सय मन सानो मन्सुली ९भाले० धान बिक्री गर्न सकेका छैनन् । सिंहले चार बिघामा २ सय ६० मन धान उत्पादन गरेका थिए । मंसिरमा नै धान भित्र्याएका सिंहले माघको पहिलो सातासम्म आइपुग्दा ६० मन मात्र धान बिक्री गरेका छन् । बाँकी २ सय मन धान घरमा नै थन्काएर भाउ पर्खिरहेका छन् उनी । “व्यापारीले सस्तोमा धान माग्छन्, लगानी नै नउठ्ने गरी धान बेच्न कहाँ सकिन्छ र १” सिंहले भने । धान लगाउँदा एक बिघा बराबर वार्षिक ४० हजार रुपैयाँसम्म खर्च हुने गरेको उनी सुनाउँछन् । “व्यापारीले प्रतिमन ९ सय रुपैयाँमा धान माग्दै आएका छन्,” उनले भने, “कम्तिमा प्रतिमन १२ सय रुपैयाँमा बिक्री गर्न सकेमात्र लगानी उठाउन सकिन्छ, आफ्नो ज्याला, नाफाको त हिसाबै नगरौँ ।”

गौरीगञ्ज गाउँपालिका–६ कै खगेन्द्रकुमार यादव हिउँदले धान लगाउने बेलासम्म पनि बर्खे धान बिक्री नभएर निरास बन्नु परेको बताउँछन् । यादवले पनि ८० मन बासमती धान बिक्री गरेका छैनन् । उनले २ बिघा जमिनमा उक्त धान उत्पादन गरेका थिए । गौरीगञ्जमा बासमती धान प्रतिमन १७ देखि १८ सय रुपैयाँसम्ममा किनबेच हुँदै आएको छ । गौरीगञ्ज झापाका अन्य ठाउँभन्दा दुर्गम रहेकाले पनि कमै मात्रमा व्यापारी पुग्ने गरेको उनी सुनाउँछन् । “बर्खे धान लगाउने बेला हुन लाग्यो, पैसाको खाँचो पर्छ, अब व्यापारीले नै भनेको मूल्यमा धान बिक्री गर्नुको विकल्प छैन,” यादवले भने । धान भण्डारण गरेर राख्ने व्यवस्थासमेत नभएको किसानलाई थप समस्या भएको यादव सुनाउँछन् । सरकारले किसानलाई चाहिने बेलामा मलखाद, बीउविजन, प्राविधिक सहयोग तथा उत्पादन भएको कृषि उपजको लागतअनुसारको उचित मूल्य समयमा निर्धारण गरी बजार दिन सके मात्रै कृषि पेसामा आश गर्न सकिने यादवले बताए ।
गौरीगञ्ज गाउँपालिकाका प्रकाशकुमार सिंहले पनि ८० मन धान घरमा नै थन्काएर राखेका छन् । धान किन्ने व्यापारी खोज्न आफैँ जानुपर्ने उनी सुनाउँछन् । “विकासको हिसाबले पनि हामी पछि छौं,” सिंहले भने, “हाम्रो उत्पादनले पनि अन्य क्षेत्रको उत्पादनसरह मूल्य पाउन सकेको छैन ।” धान खेतको चिस्यानमै अन्य बाली लगाउन, खेती गर्दा लागेको ऋण तिर्न, मलखाद किन्न पैसा चाहिने हुनाले पनि कम मूल्यमा धान बिक्री गर्नु पर्ने उनको भनाइ छ । “धान त फल्यो तर, उचित मूल्य पाइँदैन” सिंहले भने, “घर खर्च बढेको छ । किन्नुपर्ने वस्तु महँगिएका छन् । कृषि पेसाबाट जीवन धान्न मुस्किल भइसक्यो ।” सरकारले बर्सेनि धानको मूल्य निर्धारण गर्ने र कार्यान्वयन पक्षको अनुगमन नगर्दा किसानले न्यून मूल्यमा धान बिक्री गर्नु पर्ने बाध्यता छ । उत्पादित धान सरकारले नै खरिद नगरेसम्म किसानको उत्पादनले बजार नपाउने किसानको दाबी छ । झापाको गौरीगञ्ज गाउँपालिकाका ७० प्रतिशत बढी किसानले अझै पनि धान बिक्री नगरेको गौरीगञ्ज गाउँपालिका धान व्यापारी कमल सिंहले बताए ।साभार कारोबार दैनिक अनलाईन

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!