
दिवंगत अभिनेता चिरञ्जिवी सरजाकी श्रीमती तथा अभिनेत्री मेघना राज तथा उनका नवजात छोरा दुबैको कोरोनाभाइरस रिपोर्ट पोजेटिभ आएको छ । साथै मेघनाका आमा–बुवा पनि कोरोनाद्वारा पोजेटिभ पाइएका छन् । मेघनाले आफ्नो इन्स्टाग्राम पेजमा एक नोटमार्फत् यो कुराको जानकारी दिएकी हुन् । उनले आफ्नो प्रशंसकलाई चिन्ता नगर्न अनुरोध गरेकी छिन् ।

मेघनाले के भनिन् ?
इन्स्टाग्रामा मेघनाको नोटमा लेखिएको छ, ‘सबैलाई नमस्कार, मेरा पिता, आमा, म स्वयं र मेरा छोराको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । पछिल्लो केही हप्तामा हाम्रो सम्पर्कमा आएका सबैलाई हामीले यसबारे सूचीत गरिसकेका छौं । म चिरु र उनका प्रशंसकलाई हामी सबै ठिक छौं भन्न चाहन्छौं र जुनियर सी (चिरञ्जिवीका प्रशंसकले उनका छोरालाई जुनियर चिरु भन्छन्) पनि ठिक छन् । हामी एक परिवारको रुपमा यो लडाईं लड्नेछौं र यसमा विजयी हुनेछौं ।’
https://www.instagram.com/p/CIiHC4MnYkF/?utm_source=ig_embed
चिरञ्जिवी र मेघनाको पहिलो सन्तान यो वर्ष अक्टोबरमा जन्मिएका थिए । छोरा जन्मनु चार महिना अघि चिरञ्जिवी सरजाको अचानक मृत्यु भएको थियो ।