हिपमत डटकम

मंगलबार, मंसिर ०९, २०७७ || 1055  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको यसपटकको विवाद कहाँ पुगेर पूर्णविराम लाग्ने हो ? तर, दुई अध्यक्षबीचको विवादमा नेकपाभित्रका अन्य खेलाडीहरु सतहमै देखिनथालेका छन् ।

सचिवालय बैठकमा फरक राजनीतिक प्रस्ताव प्रस्तुत गरेर एक अर्काविरुद्ध आरोप प्रत्यारोप शुरु गरेका ओली र प्रचण्ड सत्ता संघर्षमा रहेको खुल्दै गएको छ । ओलीले सार्वजनिक रुपमा सरकारविरुद्ध चलखेल भएको बताइसकेका छन् । साथै आफूले कुनै हालतमा राजीनामा नदिने प्रष्ट पारेका छन् । प्रचण्डले भने ओलीलाई सत्ताबाट हटाउन खोजिरहेका छन् ।

ओलीलाई हटाउन खोजेका प्रचण्डले सार्वजनिक रुपमा यस प्रकारको कुनै अभिव्यक्ति दिएका छैनन् । उनी यसपटक निकै कम बोलेर सक्रियता बढाइरहेका छन् । तर, पछिल्लो समय वरिष्ठ नेता माधवकुमार नेपाल र उनका विश्वासपात्रहरु कडा रुपमा प्रस्तुत हुन थालेका छन् ।

पूर्व एमालेका रुपमा परिचित नेपाल समूहले ओलीलाई पार्टीलाई बेवास्ता गरी मनोमानी तरिकाले चलेको भनी आलोचना गर्दै आएका छन् । नेकपा बैठकमा ओली र नेपालबीच धम्कीको भाषा समेत प्रयोग भएको खुलासा भइसकेको छ । जसलाई ओलीले आफूले बैठकमा राखेको भनाईका रुपमा बाहिर खुलाइसकेका छन् । पार्टी बैठकमा नेपालले ओलीलाई ‘धम्की दिने ?’ भनी प्रश्न समेत गरेका थिए ।

नेपालले हालै एक अन्तवार्तामा अध्यक्ष प्रचण्डले पटक पटक आग्रह गर्दा पनि बैठक बोलाउन तयार नभएको र सर्वेसर्वा हुन खोजेको आरोप लगाएका छन् । उनले भनेका छन्, उहाँमा अहंकार छ । ओलीले अरुको कुनै महत्व नदिने गरेको र पार्टीभित्रको छलफलमा विश्वास नगर्ने स्वभाव भएको आरोप लगाए । नेपालले ओलीलाई महाराजको शैली देखाएको आरोप समेत लगाए । पार्टीभित्रको मुख्य जड नै ओली भएको उनको टिप्पणी थियो ।

नेपाल पछिल्लो समय ओलीसँग निकै चिढिएका छन् । उनले दुईपटक ओलीलाई सत्ताबाट हटाउने प्रयासमा मुख्य भूमिका खेलेका थिए । पहिलोपटक प्रचण्ड आफै पछि हटे । दोस्रो पटक पनि सहमतिमा प्रचण्डले टुंग्याए । यसो हुनुमा वामदेवको भूमिका पनि कारण थियो । तर, माधव नेपाल ओलीविरुद्ध चट्टान झै अडिए ।

ओलीले पूर्व एमालेको साइनो लगाएर नेपालसँग राजनीतिक लेनदेन गर्ने प्रयास गरेका थिए । तृतीय अध्यक्ष देखि भविष्यमा पार्टी नेतृत्वका लागि साथ दिने सम्मको प्रस्ताव राखेको बुझिएको छ । तर, माधव नेपाल मानेनन् । ओलीविरुद्ध नेपाल यसरी प्रस्तुत हुनुमा उनलाई प्रधानमन्त्री बन्न सक्ने मौका पनि कारण देखिएको छ । ओली र प्रचण्डबीचको टकरावमा नेपालको शक्ति बढेको छ । उनको प्रधानमन्त्री बन्ने सम्भावना पनि बढेको छ ।

ओली कमजोर भइहालेमा पूर्व एमालेको समूहले आफूलाई नै समर्थन गर्ने बुझाई नेपालको हुनसक्ने विश्लेषण भइरहेको छ । अर्कोतर्फ, ओलीसँग निकै चिढिएका प्रचण्डले पनि माधव नेपाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने शर्तमा भएपनि अहिलेको जेहाद छेडेको चर्चा छ । आफूलाई विगतमा निकै पेलेको, कुनै महत्व नदिएको र उल्टै अप्ठ्यारोमा पारेको पीडा सम्झेर नेपाल ओलीविरुद्ध अर्जुनदृष्टि लगाएर सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!