काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–६ माईस्थान बस्ने ५८ वर्षीय सत्यनारायण रौनियार रहेको प्रहरीले जनाएको छ ।
बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७५ चैत १० गते र २०७६ फागुन २७ गते रौनियारविरुद्ध ४५ दिन कैद र ७० लाख जरिवाना सुनाएका थियो । अदालतको फैसलालगत्तै उनी फरारको सूचीमा थिए ।
विशेष सूचनाको आधारमा बुधबार रौनियारालाई काठमाडौँको रातोपुलबाट पक्राउ गरेको सीआईबीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापाले रातोपाटीलाई जानकारी दिए । पक्राउ परेका रौनियारलाई पर्सा जिल्ला अदालतमा पेश गरिएको थापाले बताए ।
रौनियाराले आफ्नो खातामा पर्याप्त रकम नभए पनि २ वर्षअघि मन्दीपकुमार थापा र सन्तोषकुमार चौधरीलाई झुक्याई सापटी लिएको रकम फिर्ता गर्नका लागि भन्दै विभिन्न बैंकबाट भुक्तान हुने गरी ७० लाख बराबरको चेक दिएका थिए । रकम नपाएपछि पीडितहरुले चेक बाउन्स गरी अदालतमा मुद्दा हालेका थिए ।