विराटनगर । प्रहरीले दुई युवालाई भारतको जोगवनीदेखि लिएर आएको लागूऔषधसहित प्रहरीले विराटनगरबाट मंगलबार बिहान पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ का ३१ वर्षीय शम्भु साह र ३० वर्षीय बिकी राईलाई प्रदेश १ प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले उनीहरुलाई विराटनगर–१६ दरैयाबाट बिहान ४ः१५ बजेतिर पक्राउ गरिएको बताए । पक्राउ परेकाहरुको साथबाट ६२ बोतल डाइलेक्स डीसी, एक सय ८७ ट्याब्लेट नाइट्रोसन र दुई सय ३८ ट्याब्लेट एस्पास्मोप्रोक्सिभन नाम लागूऔषध बरामद भएको जानकारी उनले दिए । पक्राउ परेकाहरुविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको खड्काले बताए ।