कोभिड–१९ संक्रमणका लागि जिम्मेवार कोरोनाभाइरस बैंकको नोट, फोनको स्क्रिन र स्टेनलेस स्टिलजस्ता केही सतहमा २८ दिनसम्म जिवित रहन सक्ने अनुसन्धाताहरुले बताएका छन् ।

अष्ट्रेलियाको नेशनल साइन्स एजेन्सीले SARS-Cov-2 भाइरस केही सतहमा सोचेभन्दा बढी दिनसम्म जिउँदो रहन सक्ने जानकारी दिएको छ ।

यद्यपि, यो अनुसन्धान अँध्यारो र स्थिर तापक्रममा गरिएको थियो । जबकी हालै पत्ता लागेअनुसार अल्ट्राभोयलेट लाइटको प्रयोगले कोरोनाभाइरस नष्ट हुने गर्छ ।

केही जानकार भने सतहमा भएका भाइरसले मानिसहरु संक्रमित हुने कत्तिको खतरा छ भन्ने कुरामा शंका जताउँछन् ।

धेरैजसो संक्रमण मानिसहरुको खोकी, हाच्छिउँ र कुरा गर्दा निस्कने थुकका स–साना कणबाट फैलने गर्छ ।

अनुसन्धानमा के भनिएको छ ?

यसअघि प्रयोगशालामा भएको अनुसन्धानबाट बैंक नोट र सीसामा कोरोना भाइरस दुई वा तीन दिनसम्म जीवित रहन सक्ने जबकी प्लास्टिक र स्टेनलेस स्टिलको सतहमा यो ६ दिनसम्म जिउँदो रहन सक्ने बताइएको थियो ।

तर अष्ट्रेलियाली एजेन्सी सिएसआईआरओको एक अनुसन्धानमा भाइरस अत्यधिक बलियो र २० डिग्री सेल्सियसको तापक्रम र अँध्यारोमा मोबाइल फोनको सीसा, प्लास्टिक र बैंकको नोटजस्ता चिल्लो सतहमा २८ दिनसम्म जीवित रहन सक्ने बताइएको छ ।

कोरोनाभाइरसको तुलनामा यस्तै परिस्थितीमा फ्लूको भाइरस १७ दिनसम्म जीवित रहन सक्छ ।

भाइरोलोजी जर्नलमा प्रकाशित अनुसन्धानमा पत्ता लागे अनुसार चिसो तापक्रमको तुलनामा तातो तापक्रममा भाइरस निकै समयका लागि जिवित रहन सक्दैन । ४० डिग्री सेल्सियसमा राख्दा केही सतहमा यो भाइरस चौबिस घण्टा भित्र संक्रामक हुँदैन ।

चिल्लो सतहमा यो भाइरस धेरै दिनसम्म जीवित रहन सक्छ जबकि कपडाजस्ता सतहमा यो १४ दिनपछि जीवित रहन सक्दैन ।

के यसमा असहमति छ ?

कार्डिफ युनिभर्सिटीको कमन कोल्ड सेन्टरका पूर्व निर्देशक प्राध्यापक रन एक्सेलले यो अनुसन्धानको आलोचना गरेका छन् । भाइरस २८ दिनसम्म जिउँदो रहनसक्ने भन्ने अनुसन्धानले मानिसहरुमा अनावश्यक डर पैदा गरिरहेको बताएका छन् ।

उनले भने, ‘यो भाइरस खोक्दा र हाच्छिउँ गर्दा निस्कने थुकका स–साना कण र फोहोर हातबाट फैलने गर्छ । तर यो अनुसन्धानमा भाइरस फैलने कारणको रुपमा मानिसहरुको ताजा खकारको प्रयोग गरिएको छैन ।’

‘मानिसहरुको ताजा खकारमा अधिक संख्यामा ह्वाइट सेल हुन्छ जसले भाइरसलाई नष्ट गर्नका लागि एन्जाइम बनाउँछ । खकारमा भाइरससँग प्रतिस्पर्धा गर्नका लागि एन्टीबडी र केमिकल पनि हुनसक्छ ।’

‘मेरो विचारमा संक्रामक भाइरस सतहमा खसेको खकारमा केही घण्टासम्म जीवित रहन सक्छ, थुप्रै दिनका लागि होइन ।’

यसै वर्ष जुलाईमा रटगर्स युनिभर्सिटीमा माइक्रोबायोलोजीका प्राध्यापक इमानुएल गोल्डम्यानको एउटा शोध चर्चित पत्रिका लासेन्टमा छापिएको थियो । यसमा ‘सतहमा परेको थुकको कणले संक्रमणको खतरा कम हुने’ बताइएको थियो ।

गत हप्ता क्यालिफोर्निया युनिभर्सिटीमा मेडिसीन प्राध्यापक मोनिका गान्धीले कोरोना भाइरस सतहमार्फत् नफैलने बताएकी थिइन् ।

‘हात र टचस्क्रिनलाई सफा गर्ने बानी बसाल्नुहोस्’

पल्लब घोष, विज्ञान संवाददाता

कोभिड–१९ को भाइरस मुख्य रुपमा हावामार्फत् फैलन्छ । हालसम्म भएको अनुसन्धानबाट थाहा हुन्छ कि यो भाइरस हावामा भएको कणमा तीन घण्टासम्म जीवित रहन सक्छ ।

बैंकको नोट र टचस्क्रिन जस्ता सतहमार्फत् यो भाइरस कति तीब्र रुपमा फैलन सक्छ भन्नेबारे हालसम्म कुनै सटिक जानकारी पाइएको छैन ।

स्टेनलेस स्टिलमार्फत् यो भाइरस कति बेरसम्म जीवित रहन सक्छ यसका लागि हालै एक अनुसन्धान भएको थियो । उक्त अनुसन्धानमा सामान्य तापक्रममा यो भाइरस स्टेनलेस स्टीलमा तीनदेखि १४ दिनसम्म जीवित रहने बताइएको छ ।

नयाँ अनुसन्धानमा सीसा, कागज, प्लास्टिकका नोट र स्टीलमा यो भाइरस कति दिनसम्म जीवित रहन्छ भनेर पत्ता लगाइएको छ । यी सबै सतहमा २० डिग्री सेल्सियरमा २८ दिनपछि पनि भाइरसबारे पत्ता लगाउन सकिन्छ भन्ने निष्कर्ष अनुसन्धानले निकालेको छ । यसमा भाइरस जीवित रहने समय यसअघिका शोधभन्दा धेरै बताइएको छ ।

यो अनुसन्धान जुन परिस्थितीमा गरिएको थियो त्यो भाइरस अनुकूल थिए उदाहरणका लागि अँध्यारो कोठा, स्थिर तापक्रम र ओसिलो हावा । वास्तविक जीवनमा भाइरसले आफ्नो अनुकूल परिस्थिती कमै पाउँछ ।

तर पनि अनुसन्धानको यो नतिजाले एकपटक पुनः बताउँछ कि संक्रमणको खतरालाई कम गर्नका लागि नियमित रुपमा हात धुने र टचस्क्रिनलाई धुन वा स्यानिटाइज गर्न आवश्यक छ । साथै, संक्रमणको खतरालाई कम गर्नका लागि हामीले आफ्नो अनुहार छुनबाट बच्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!