दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिलले शनिबार बोलिभियालाई ५-० ले हराएको छ । त्यसमा रोबर्टो फिरमिन्होले दुई गोल गरे । ब्राजिलले मोरक्विन्होसको गोलले अग्रता लिएयता लिभरपुल खेलाडीले दुई गोल थपे । चौथो गोल आत्मघाती रह्यो भने पाँचौं गोल बार्सिलोनाका फिलिपे कोउटिन्होले गरे । यस्तै अर्को खेलमा कोलम्बियाले भेनेजुएलालाई ३–० ले हरायो । लुइस मोरियलले त्यसमा दुई गोल गरे । डुभान जुपाटाले गोलको खाता खोलेका थिए । दक्षिण अमेरिकी विश्वकप छनोटको पहिलो चरणका खेलमा पारम्परिक शक्तिशाली देश ब्राजिल, अर्जेन्टिना, उरुग्वे र कोलम्बिया सबैले विजयी सुरुवात गरेका छन् । दक्षिण अमेरिकी समूहमा रहेका १० टिममध्ये शीर्ष ४ टोली कतार विश्वकप-२०२२ मा सोझै छनोट हुनेछन् भने पाँचौं स्थानमा रहने टिमले अन्तरक्षेत्रीय प्लेअफ खेल्नुपर्नेछ । ब्राजिलले अब बिहीबार लिमामा पेरुसँग प्रतिस्पर्धा गर्नेछ भने बोलिभियाले घरेलु मैदानमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा इक्वेडरलाई १-० ले हरायो ।