हिपमत डटकम
काठमाडौं,३ माघ:काठमाडौंका मुख्य चोकमा केही दिनदेखि ट्राफिक बत्ती बल्न थालेका छन् । लामो समयपछि काठमाडौं उपत्यकामा एक्कासि बत्ती बल्न थालेपछि धेरै जना अचम्मित भएका छन् ।अहिले काठमाडौंका केही चोकमा बत्ती बले पनि सरकारले ट्राफिक व्यवस्थापनका लागि बृहत् कार्ययोजना अघि सारेर काम गरिरहेको छ । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि मन्त्रिपरिषद्बाट कार्ययोजना पारित गरेर प्रभावकारी नतिजा देखाउने गरी काम थालेको हो ।
गत १५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकबाट ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ पारित गरेर अहिले ट्राफिक व्यवस्थापनको काम भइरहेको छ ।
कार्ययोजनामा कुन काम, कुन निकायले गर्ने र कति समयभित्र गरिसक्ने भन्ने पनि तोकिएको छ ।
कार्ययोजनामा पुस मसान्तभित्र काठमाडौंका नौ स्थानमा ट्राफिक बत्ती सञ्चालन गरिसक्नुपर्ने उल्लेख छ । त्यसै कार्ययोजनालाई कार्यान्वयन गर्दै सडक विभाग र महानगरीय ट्राफिक महाशाखाले हाल ११ स्थानमा बत्ती सञ्चालनमा ल्याएको छ ।‘‘हाल काठमाडौंका ११ स्थानमा बत्ती सञ्चालनमा गर्न सफल भएका छौं, अन्य ५–६ स्थानमा पनि चाँडै सञ्चालनमा आउने अवस्था छ,’ महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले भने ।
कार्ययोजनाअनुसार आगामी वैशाखभित्र काठमाडौं उपत्यकाका २९ स्थानमा ट्राफिक बत्ती सञ्चालन गरिसक्नुपर्नेछ भने असारभित्र स्मार्ट प्रविधिमैत्री ट्राफिक लाइट सुरुवात गरिसक्नपर्नेछ ।
ट्राफिक प्रमुख ढकाल वैशाखसम्म २९ स्थानमा बत्ती सञ्चालन गर्ने गरी काम अघि बढेको बताउँछन् । मुख्य सडकमा ट्राफिक बत्ती सञ्चालन हुनु ठूलो उपलब्धि भएको उनले बताए । काठमाडौं उपत्यकामा ट्राफिक बत्ती अभावमा लामो समयदेखि ट्राफिक प्रहरी हातको भरमा ट्राफिक व्यवस्थापन गर्न बाध्य हुँदै आएका छन् । ट्राफिक बत्तीको अभावमा सर्वसाधारण तथा सवारी चालकले पनि अनावश्यक दुःख खेप्नुपरेको छ ।
यो खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!