‘हाम्रो गाँउमा पानीको यति समस्या छ कि बालिकाहरू पाँच-छ वर्ष हुने बित्तिकै सानोसानो भाँडोमा पानी भरेर ल्याउन थाल्छन्। म स्वयंले ८ वर्षको उमेरदेखि यसरी पानी भर्न सुरू गरेको थिएं।’ यो भनाइ भारतको मध्यप्रदेश राज्यको अगरौठा गाँउका सयौं महिलाहरूसँग मिलेर एउटा पहाड काट्दै पानीका लागि १ सय ७ मिटर लामो बाटो बनाउने १९ वर्षीया बबिताको हो।

भारतीय राज्य मध्यप्रदेशको छतरपुर जिल्लाको अगरौठा गाउँमा पानीको समस्या यति गम्भीर छ कि गर्मीको मौसममा २ हजार मानिसको बसोबास रहेको यो गाउँका मानिसहरू दुई या तीन ह्यान्डपम्पमा निर्भर हुनुपर्छ। ‘हाम्रो गाउँमा पानीको समस्या यति छ कि तपाईं कहिले आउनुभयो भने घण्टौंपछि पानी पाइने दृश्य देख्नुहुनेछ। कम पानीका कारण खेती हुन पाउँदैन। पशुलाई पनि पानी चाहिन्छ। धारामा कयौं पटक गालीगौलचसहितको झगडा हात हालाहालसम्म पुग्छ’, बबिताले भनिन्।
यहाँको समस्या
यो कथा पानीको समस्याको मात्र होइन। यो कथा यहाँका महिलाको कठिनाइमाथि जितको कथा पनि हो। पानीको संकटबाट जुधिरहेका भारतका अन्य गाउँहरू जस्तै यहाँका महिलाहरूले पानीकै कारण घरेलु हिंसा सहनुपर्छ। यसको साथमा केटीहरूको सानो उमेरमा विवाह हुने र स्कूल छोड्नुपर्नु बाध्यतामा पनि यहाँको जलसंकटको भूमिका रहेको मानिन्छ। ‘हामी यहाँ चार बजे उठेर पानीको लाइनमा लाग्नुपर्छ र धारामा १२ बजेसम्म आफ्नो पालोका लागि बस्नुपर्छ। यसपछि घर आएर खाना खाएर साँझ फेरि एकपटक पानी ल्याउने कोशिसमा लाग्नुपर्छ’, बबिताले भनिन्, ‘कयौंपटक महिलाले आफ्ना पति र सासुबाट प्रताडनाको सामना गर्नुपर्छ किनकी जब महिलाहरू पानी भर्न धारामा जान्छन् तब उनीहरूको अन्य महिलासँग झगडा गर्छन्, यस कारणले उनीहरूले आफ्नो घरमा कयौं प्रश्नहरूको सामना गर्नुपर्छ।

यस्तोमा बबितासमेत यहाँका अन्य महिलाको कसरी पहाड काटेर पानीको ल्याउने फैसला गरे त?

‘यो सबै त्यति सजिलो थिएन। हामी सबै पानी आएपछि हाम्रो काम बन्नेछ भनेर सोच्थ्यौं। पानी ल्याउने अभियानकर्मीहरू हाम्रो घर आएर हामीलाई पानी कसरी ल्याउन सकिन्छ भनेर सम्झाए तब हामीलाई पनि यो सकिन्छ जस्तो लाग्‍यो। केही समस्याहरू भए तर अन्तमा सबैजना साथ दिन आए र यो काम भयो’, बबिताले भनिन्। यो गाउँको रंग फेर्न यस गाँउका महिलासँगै प्रवासी मजदुरहरूको पनि योगदान छ। ती मजदुरहरू यस कामका लागि गाँउमा कयौं दिनसम्म पैदल हिँडेर आएका थिए।

पानी लेराउ अभियानका मानवेन्द्र सिंहले यो काममा चार-पाँच दिन पैदल हिँडेर आएका ती मानिसहरूको पनि भूमिका रहेको बताउँछन्। ‘कोरोना लकडाउनपछि अप्रिल र मे महिनामा महिलाहरूले पानी ल्याउने अभियानका संयोजक मानवेन्द्रसँग मिलेर पहाड काटे र आफ्नो गाउँमा पानी पुर्‍याउने काम गरे। हामीले यी मानिसहरूलाई नरेगा अन्तरगत भुक्तान गर्ने सोचेका थियौं तर यी मानिसहरूले आफ्नो तहमा नै काम गरे। यसका लागि हाम्रोतर्फबाट शुभकामना छ’, जिल्लाका प्रमुख कार्यपालक अधिकारी अजय सिंहले भने।

कति कठिन थियो यो काम?

अगरौठा गाउँको पृष्ठभूमि हेर्ने हो भने यहाँको धेरैजसो क्षेत्र पठार छ। करिब सय फिटको गहिराइमा पानी भेटिन्छ। तर ध्यान दिनुपर्ने कुरा के छ भने यहाँ कुवा खन्नु मौदानी भागको तुलनामा एकदमै कठिन छ। यो क्षेत्रमा देखिएको पलायनता, सुख्खा र गम्भीर जलसंकटलाई हेर्दै केन्द्रीय सरकारले आफ्नो दोश्रो कार्यकालमा मध्य प्रदेश सरकारलाई ३ हजार ६ सय करोड भारूको प्याकेज दिएको थियो। यो प्याकेज अन्तरगत जल संरक्षणका सबै योजनाहरू पूरा गर्नुपर्ने थियो।

‘बुन्देलखण्ड प्याकेज अन्तरगत यस गाउँमा ४० एकडको एउटा तलाउ बनाइएको थियो, जुन जंगलसँग जोडिएको थियो। तर यो तलाउमा पर्याप्त पानी आउने कुनै बाटो थिएन। जबकी जंगल क्षेत्रको एउटा ठूलो भूभागको पानी बछेडी नदी भएर जान्थ्यो। यस्तोमा जंगलको पानीलाई कसरी तलाउसम्म ल्याउने भन्ने थियो, जुन सजिलो काम थिएन’, मानवेन्द्रले भने। ‘धेरै समय विचार विमर्श गरेपछि जति पानी पहाडबाट तलाउसम्म ल्याउन सकिन्छ त्यही ल्याउने भन्ने भयो। त्यसपछि मानिसहरूले आफै तलाउसम्म पानी ल्याउने जिम्मा लिए र पानी ल्याइछाडे’, उनले भने।

पछिल्ला दिनमा यो क्षेत्रमा पानी पर्‍यो र उनीहरूले बनाएको बाटो हुँदै आएको पानीले तलाउ भरियो। पानी भरिएकाले तत्कालका लागि यहाँका मानिसहरूको जलसंकट टरेको छ। उनीहरूलाई राहत मिलेको छ। यो कामले बबिताको जीन्दगीमा एउटा महत्वपूर्ण परिवर्तन आएको छ। अब गाउँका मानिसले उनलाई सम्मान गर्न थालेका छन्। मानिसहरू बबिताजी भनेर बोलाउँछन् र भन्छन्- तपाईंले राम्रो काम गर्नुभयो। यो सुन्दा बबितालाई आनन्द लाग्छ। उनलाई केही राम्रो काम गरेको लाग्छ। ‘तर साँच्चिकै भन्नुपर्दा हामीलाई यस्तो हुन्छ भन्ने कहिले विश्वास थिएन’, बबिताले भनिन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!