बुधबार, माघ ०१, २०७६ || 1355  पटक पढिएको

हिपमत डटकम
मीनकुमार नवोदित
मान्छेका आ–आफ्नै शोख हुन्छन् । अनि हुन्छन् आफ्नै चाहना र रहर । अन्तर्राष्ट्रिय मुद्रा संकलन र नयाँ–नयाँ ठाउँ घुम्नु मेरो सानैदेखिको शोख हो । नयाँ ठाउँको भ्रमणले मानिसलाई ऊर्जा प्राप्त हुन्छ । नयाँ–नयाँ विषयबारे थाहा हुन्छ । भनिन्छ, ‘मान्छेले पढेर भन्दा परेर धेरै सिक्दछ’ । नयाँ ठाउँको भ्रमणले ताजा विचारहरू जन्माउँछ । नयाँ विषयवस्तुका बारेमा जानकारी प्राप्त हुन्छ । त्यतिमात्रै होइन भिन्न ठाउँमा बस्ने बासिन्दाका भाषा, रहनसहन, संस्कृति, चालचलनबारे थाहा हुन्छ ।
दुईपटकको चीन भ्रमणका क्रममा मानिसले बाँच्नका लागि जे पनि खाँदा हुने रहेछ भन्ने जानकारी प्राप्त भयो । चीनमा बाँदरदेखि कुकुर, सर्प अर्थात् कुन वस्तु खाँदा मृत्यु हुँदैन त्यसबाहेक सबै खाँदा रहेछन् । यो चिनियाँहरूलाई परिस्थितिले सिकाएको हो । नत्र भने १ अर्ब ३९ करोड जनसंख्यालाई दालभात मात्रै खाने हो भने चीनमा उत्पादन भएको खाद्यन्नले दुई महिनालाई पनि थेग्न गाह्रो छ । युद्धका क्रममा जापानीजहरूले चिनियाँले जे लगायो त्यसमा विष हालिदिने र अन्न बाली नष्ट गरिदिने गरेकै कारण अनिकाल टार्न बाँच्नका लागि सबै थोक खान सिके । कुकुर, बिरालो, भ्यागुता, सर्पलगायत खाएको आफ्नै आँखाले देखेपछि विगतमा कसैले सुनाएको विषय यथार्थमा परिणत भयो । विकासकै कुरा गर्ने हो भने चीनले १० वर्षमा २५ हजार किलोमिटर बुलेट ट्रेनको लिक बनायो । चिनियाँको मुखबाट यस्ता कुरा सुन्दा मेरा लागि सपनामात्रै होइन पत्याउनै मुस्किल पर्ने विषय थियो । किनभने २२ वर्षसम्म ४२ किलोमिटर लम्बाई भएको विराटनगर चक्रपथको ट्रयाकसमेत खुल्न नसकेको सहरको बासिन्दा थिएँ म । चीनको विकास हेर्दा आफैंलाई कुरीकुरी भन्न मन लाग्यो । अझ राजधानी बेइजिङबाट चीनको ऐतिहासिक सहर सान्सी प्रान्त बुलेट टे«नमा जाँदा नयाँ अनुभव गरियो ।
युरोपका बारेमा धेरै नै पढ्ने र सुन्ने गरेको थिएँ । नेपालमा समेत सडक बनाउँदा होस् या अन्य कुनै संरचना निर्माण गर्दा युरोपेली मापदण्ड भन्ने गरिन्छ । साँच्चै युरोप कस्तो छ भनेर जान्ने र बुझ्ने कौतुहलता हुनु स्वभाविकै हो । मेरो युरोपको भूमि टेक्ने इच्छा यसपटक पूरा भयो । युरोप भ्रमणको जाँचोपाँजो भने नेपाल उद्योग वाणिज्य महासंघले मिलाएको थियो । जसको नेतृत्व महासंघका उपाध्यक्ष किशोर प्रधानले गर्नुभएको थियो । उद्योगीको भ्रमण टोलीमा पत्रकारका तर्फबाट म र नवराज चालिसे थियौं । यसअघि दक्षिण कोरिया, चीन, इन्डोनेसिया, रसियालगायत भ्रमण गरिसकेको भए पनि युरोप भ्रमण मेरा लागि विल्कुल नौलो अनुभव थियो ।
२०७६ जेठ २० गते काठमाडौंबाट युरोप उड्यौं । टर्कीको इस्तानबुल ट्रान्जिट थियो । लामै समय ट्रान्जिट भएकाले एयरपोर्ट मजाले घुम्यौं । युरोप भ्रमणको प्रवेश स्वीजरल्याण्डबाट भयो । स्वीजरल्याण्ड, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, जर्मनीपछि अष्ट्रियाको भ्रमण थियो । सबै देशको भ्रमणले नयाँ अनुभव प्राप्त भयो । स्वीजरल्याण्डको टिटलिस हिमालमा हिउँ खेल्दाको मज्जा बेग्लै थियो । फ्रान्सको आइफिल टावरको टुप्पोमा उभिएर पेरिस सहर नियाल्दाको क्षण अविस्मरणीय बन्यो । क्रुजमा चढेर पेरिस रिभरमा तैरिंदाको मज्जा बेग्लै थियो ।
नेदरल्याण्ड र इटालीका समुन्द्रमा हराउनुको आनन्द अर्कै थियो । बेल्जियमको पुरानो ऐतिहासिक दरबार अगाडि उभिएर फोटो खिच्दाको खुसी स्मरणीय रह्यो । नेपाल भ्रमण वर्ष र नेपालमा वैदेशिक लगानी भित्र्याउने विषयमा फ्रान्स, वेल्जियम र नेदरल्याण्डमा त्यहाँका व्यवसायीहरूसँग महासंघले गरेको अन्तरक्रियात्मक कार्यक्रमको छाप बसेकोे छ बिर्सनै नसक्ने गरी मनमा । युरोपबाट आफू काम गर्ने कारोबार दैनिकमा ६–७ वटा बाइलाइनमा समाचार लेखें । यो मेरो पत्रकारिता यात्राको खुसीको पलमध्ये एक थियो ।
युरोपेलीहरूको जीवनशैली, अनुशासन, मेहनतले धेरै नै जान्ने र बुझ्ने अवसर मिल्यो । अझ युवाहरूलाई विदेश निर्यात गरेर रेमिट्यान्समा रमाएको नेपालजस्तो देशका लागि युरोप साँच्चै प्रेरणाको स्रोत बन्न सक्छ । नेपालका खेतीयोग्य जमिनहरू बाँझै छन् । करेसाबारी बाँझो राखेर विदेश गएका युवाले पठाएको रेमिट्यान्सबाट खाद्यन्न आयात गरेर जीविकोपार्जन गरेको नेपाली समाजका लागि युरोप अनुशरण गर्न योग्य ठानें मैले । भ्रमणका क्रममा जति पनि देश टेकियो ती देशमा बाँझो कतै देखिएन । सबैतिर व्यावसायिक खेती देख्नु, सडक छेउमा समेत कि त तरकारी कि त घाँस लगाएको देख्नु बाँझो देशबाट गएको म जस्तै अन्य नेपाली आश्चर्यमा पर्नुलाई अन्यथा लिनुपर्ने र मान्नुपर्ने अवस्था थिएन ।
सबै देशमा कम्तीमा दुई रातको बसाइ थियो हाम्रो । तर, अष्ट्रियाको इन्सवर्कमा भने एक रातमात्रै बस्ने सेड्युल रहेछ । महासंघको भ्रमणको व्यवस्थापन गरेको ट्राभल्स कम्पनीले नै त्यसरी मिलाएको रहेछ सेड्युल । इन्सवर्कमा छिर्ने बित्तिकै मैले आपूmलाई अर्कै संसारमा पुगेको महसुस गरें । वरिपरि हिमाल, त्यसको बीचमा सहर । अनि सहरको छातीलाई टेक्दै बगिरहेको नदी । मान्छेहरू स्वर्गका कुरा गर्छन् । मृत्युपछि स्वर्ग छ छैन ? भगवान् नै जानून् । तर, इन्सवर्क टेक्ने बित्तिकै मैले स्वर्ग पुगेको अनुभूति गरें । युरोपमा घुमेका अन्य सहरभन्दा सुन्दर, सफा । अझ वरिपरि सेनाले ब्यारेकलाई पहरा दिएझैं इन्सवर्क सहरलाई हिमालले दिएको पहरा शब्दमा वर्णन गर्न सकिन्न । हुन त नेपाल पनि विश्वकै सुन्दर देशभित्र पर्दछ । तथापि हामीकहाँ भौतिक संरचनाको कमी छ । त्यहाँ हिमालको छेवैमा ४ लेनका सडकहरू छन् । हिमालको टुप्पो टेक्न पसिना चुहाउँदै हिंडिरहनु पर्दैन । केवलकारले टुप्पैमा पु¥याइदिन्छ ।
सेतो बर्को ओडेर सुन्दर युवतीहरू आगन्तुकलाई स्वागत गर्न उत्रिएझैं लाग्थ्यो इन्सवर्कको हिमाल । स्थानीय समयअनुसार हामी ८ बजेतिर पुगेका थियौं । तर, आश्चर्य के हो भने युरोपमा हामी गएको महिनामा राति १० बजेमात्रै घाम अस्ताउँथ्यो । इन्सवर्क सहर प्रवेश गर्ने बित्तिकै हिमाललाई पछाडि राखेर केही थान तस्बिर लियौं । सहरको बीचमा अवस्थित सुनले छाएको ऐतिहासिक दरबारलाई पनि क्यामरामा कैद ग¥यौं ।
इन्डियन रेष्टुरेन्टमा खानाको व्यवस्था मिलाइएको रहेछ । होटल जानु अगाडि नै हामीले खाना खायौं । गाडी रोकिएपछि हामी रेष्टुरेन्टतिर लाग्यौं । तर, ईश्वर श्रेष्ठ र केदारनाथ कक्षपति चाहिं सहर घुम्नतिर लाग्नुभएछ । पछि उहाँहरूले खाना खाने रेष्टुरेन्ट पत्ता लगाउन सक्नु भएन छ । त्यसै क्रममा एकजना नेपालीसँग भेट भएछ । श्रेष्ठ र कक्षपतिले खाना खाने रेष्टुरेन्टको नाम भनेपछि ती नेपालीले लिएर आउनु भएछ । इन्सवर्कमा नेपालीलाई पाउँदा उहाँ निकै खुसी हुनुभयो । उहाँसँग मैले पनि परिचय गरें । उहाँ पोखराका दिलकुमार घमाल हुनुहुँदो रहेछ । उहाँले रेष्टुरेन्टको छोटो बसाइमै नेपालको विषयमा धेरै बताउनुभयो । नेपालको विकास नभएको र जनताले दुःख पाएको चिन्ता प्रकट गर्नुभयो घमालले । उहाँका केही विचार र सोचले म निकै प्रभावित भएँ । अनि मैले उहाँको फोन नम्बर लिएँ । उहाँले पनि मेरो युरोपको नम्बर लिनुभयो । होटल पुगेर लगेज राखेपछि भेट्ने सल्लाह भयो । हामी होटलतर्फ लाग्यौं । उहाँ आफ्नो रेष्टुरेष्टतर्फ । खाना खाएको रेष्टुरेन्टबाट होटल पुग्न झण्डै ३० मिनेट लाग्यो । होटलमा फ्रेस हुँदा नहुँदै दिलकुमार घमालले फोन गर्नुभयो । ‘भाइ तपाईंहरू कति बेला आउने’ भनेर सोध्नुभयो उहाँले । मैले एकछिनमा आउँछौं भने । तर उहाँले ‘भाइ यो नेपाल होइन युरोप हो, ‘ठ्याक्कै टाइम भन्नुहोस् । १५ मिनेट, २० मिनेट, कि ३० मिनेट ?’ उहाँको प्रश्नले म एकछिन तिलमिलाएँ । अनि उहाँले भाइ भनिसकेपछि मलाई साइनो लगाउन पनि सजिलो भयो । मैले पनि ‘दाइ ३० मिनेटभित्र आइपुग्छु’ भने । उहाँले भनेअनुसारको सबैभन्दा बढी समय भनेको ३० मिनेट नै थियो । मैले पनि त्यहीं रोजे र फ्याट्ट भनें । युरोपमा समयको कति महत्व हुँदो रहेछ भनेर थाहा पाएँ ।

 


चोकमा दुईजना क्यारामबोर्ड खेल्दैछन् भने वरिपरि १० जनाले घन्टौंसम्म दर्शक भएर हेर्न फुर्सद हुने देशबाट गएको थिएँ म । अनि मिनेट–मिनेटको महत्व मैले बुझेको थिएँ । यदि समयको महत्व नबुझेको भए खाली हात जानु भएका घमाल दाइ १९ वर्षमै इन्सवर्कको प्रतिष्ठित रेष्टुरेन्ट मालिक बन्नुहुने थिएन । त्यसपछि मैले महासंघका उपनिर्देशक माधव मुल्मी, ईश्वर श्रेष्ठ र केदारनाथ कक्षपतिलाई भनें, ‘घमाल दाइले बोलाउनु भएको छ छिटो जाऊँ’ भने । मैले घमाल दाइलाई ३० मिनेटभित्र आइपुग्छु भनेको थिएँ । उहाँले भेट्ने स्थान पनि मोबाइलमा एसएमएस गरिदिनुभएको थियो । त्यसपछि हामी चारैजना हतारहतार घमाल दाइलाई भेट्न गयौं । हिंड्दाहिंडदै १५ मिनेट गइसकेको थियो । बाँकी रहेको १५ मिनेटमा घमाल दाइ बसेको स्थानमा नपुगिने हो कि भन्ने डरले भित्रैदेखि थिच्न थालेको थियो । त्यसपछि ट्याक्सीमा जानुको विकल्प छैन भन्ने लाग्यो । र, ट्याक्सी रोकें । घमाल दाइले पठाएको एसएमएस देखाएँ । चालकले ट्याक्सीमा बस्न संकेत ग¥यौं । हामी हत्तनपत्त बस्यौं ट्याक्सीमा । हामी पुग्दा दाइ प्रतीक्षा गरेर बस्नुभएको रहेछ । हामी चारैजनासँग फेरि हात मिलाउनु भयो घमाल दाइले । त्यसपछि उहाँ अघि–अघि लाग्नुभयो हामी पछि–पछि । एउटा रेष्टुरेन्टमा लग्नुभयो । जुन इन्सवर्क सहरकै सबैभन्दा नामी र महँगो रेष्टुरेन्ट रहेछ । उहाँले रेष्टुरेन्टमा भव्य स्वागत गर्नुभयो । राति सहर घुमाउनु भयो । रेष्टुरेन्टमा आउने जसले पनि उहाँलाई ‘ओ दिल’ भन्दै अँगालो मार्थे । मैले सोचें हामी सहरको प्रख्यात सेलिब्रेटीसँग बसिरहेछौं । त्यतिकैमा युरोपको सबैभन्दा प्रख्यात ट्रुमर वियर कम्पनीको म्यानेजर पनि आउनुभयो । उहाँ श्रीमतीसहित आउनु भएको थियो । उहाँको नाम रहेछ मिस्टर फ्रान्च । दिल दाइले हामीसँग पनि चिनजान गराउनुभयोे । चिनजानपछि मिस्टर फ्रान्चले आफ्नो कम्पनीको ट्रुमर वियर मगाउनुभयो । फ्रान्चले हामीलाई झण्डै आधा घन्टा समय दिनुभयो । घमाल दाइसँग उहाँको पुरानो चिनजान रहेछ । हुन त दिल दाइलाई सहरका अधिकांश मानिसले चिन्दा रहेछन् । ट्याक्सीवालादेखि व्यापारीसम्मका प्यारा ‘दिल’ हुनुहुँदो रहेछ उहाँ । उहाँले आफ्नो रेष्टुरेन्टमा भने हामीलाई लानु भएन । सायद उहाँ आफ्नो रेष्टुरेन्टमा पिउनु हुन्न होला भन्ने लाग्यो मलाई । मानिस आफ्नो बानी, व्यवहार, बोलीचालीले नै समाजको प्रिय हुन्छ । त्यो सबै गुण दिल दाइमा देखें मैले । नामजस्तै उदार अनि दिलदार । प्रस्ट वक्ता, उदार हृदय र सहयोगी भावनाको धनी हुनुहुँदो रहेछ दिल दाइ । नत्र भने नेपालबाट गएका हामीलाई उहाँले यति ठूलो स्वागत गर्नुपर्ने आवश्यकता थिएन । अरु देशमा पनि थुप्रै नेपालीसँग भेट भयो । तर, कसैले पनि त्यति धेरै देखाएनन् घनिष्टता । अझ बा केही सहयोग पो गर्नुपर्ने हो कि भनेर तर्किन खोजेजस्तो गरे उनीहरू ।


मेरा लागि इन्सवर्क अविस्मरणीय रह्यो । यस कारणले अविस्मरणीय रह्यो कि मैले रगतको नाता नभए पनि भावनाको नाता भएका असल दाइ पाएको छु । मैले अभिभावक पाएजस्तो महसुस गरें उहाँसँगको पहिलो भेटमै । उहाँसँग छुट्टिएपछि पनि संवाद र सम्पर्क भइरह्यो । इन्सवर्कबाट हामी इटालीको मिलान गयौं । बाटोमा पनि बेला–बेला उहाँले फोन गर्नुभयो । मैले पनि गरें । ‘कहाँ पुग्नुभयो, के छ खबर ?’ भनेर चासो र चिन्ता व्यक्त गरिरहनुभयो । अनि लाग्यो– मैले युरोप भ्रमणका क्रममा थुप्रै सिक्ने, सुन्दर ठाउँ हेर्ने र बुझ्ने मौका पाएँ । अझ त्यो भन्दा धेरै त इन्सवर्कको एकरातको बसाइमा एउटा असल दाजु पाएँ । छोटो बसाइमा पाएको दाजु भौगोलिक दूरीले टाढा भए पनि हरक्षण मेरै अगाडि ठिङ्ग उभिएझैं लागिरहन्छ अहिले पनि ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!