मंगलबार, भाद्र २३, २०७७ || 641  पटक पढिएको

जिल्लाको पश्चिम ढोरपाटनमा पहिरोसँगै आएको बाढीको बेदना कहाली लाग्दो छ । त्यसमा थप पीडा थपिदा उनीहरु भावनाशून्य भएका छन्। बाढीबाट अहिलेसम्म १७ जनाको मृत्यु भएको छ ।

२१ जना अझै बेपत्ता छन् । कसैको पूरै परिवार उजाडिएको छ भने कतिका नाबालक एक्ला सन्तान मात्र बाँकी छन् । कतिको परिवारका केही सदस्यसहित घर, धन सम्पत्ति पुरै बगाएर एकाएक सुकुम्बासी बन्न पुगेका छन् ।

गत बुधवार राती आएको बाढीले बगाएर मृत अवस्थामा फेला परेका सबै शव क्षतविक्षत अवस्थामा भेटिएका छन् । जसका कारण सनाखत गर्न पनि ढिलाइ भएको थियो । शव चिन्न नसकेपछि आफ्नै सन्तानको शव समेत दाहसँस्कार गर्न नसक्ने अवस्था आएको छ।

आफ्ना लक्का जवान छोरालाई सदाका लागि अकालमै गुमाएको पीडा त ढोरपाटन ९ का तुलबहादुर विकलाई थियो नै । आफ्ना २२ वर्षीय छोरा नारायण विकको शव समेत अर्कैले अन्त्येष्टि गरिदिएको खबरले आफ्नै टाउकोमा ढुंगा बज्रिएजस्तो लागेको तुलबहादुर बताउँछन् । बुढेसकालको सहारा ठानेको छोरा गुमाउनु र गुमाएको सन्तानको आफ्नै आँखाले शव देखेर अन्त्येष्टि गर्न नपाउनुको पीडा भनिसाध्य नभएको उनको भनाइ छ ।

ढोरपाटन बाढीमा वेपत्ता भएका २२ वर्षीय नारायण विकको शव घट्टबोटमा वेपत्ता ३१ वर्षीय पुनको शव भन्दै प्रहरीले पुनका परिवार र आफन्तलाई जिम्मा लगाए पछि यस्तो घटना बाहिर आएको हो।

१९ गते फेला परेको शव पुन परिवारलाई जिम्मा लगाएपछि उनीहरुले सोही दिन बुर्तिवाङ घाटमा शव अन्त्येष्टि गरेका थिए । दु:खद कुरा, पुनका आफन्तले शव जलाएर आएको भोलीपल्ट बिहान प्रेम पुनको सग्लो शव प्रहरीले फेला पार्‍यो । उक्त शव पनि खोज उद्धारमा खटिएका प्रहरीले पुन परिवारलाई पोस्टमार्टम गरी बुझायो । पुन परिवारले बुर्तिवाङ घाटमै दोस्रो पटक शव जलायो । तर, नारायण विकका परिवारले आफ्नो छोराको शव भेटिदा समेत अन्तिम पटक शव हेर्न र दाहसंस्कार गर्न समेत पाएनन् ।

१९ गते जलाइसकेको शव आफ्नो छोरा भएको २० गते प्रेम पुनको परिवारले दोस्रो दाहसंस्कार गरेपछि मात्रै आफूले थाहा पाएको तुलबहादुर बताउँछन् । ‘मेरो छोराको शव अर्कैको भनेर परिवारका जिम्मा लगाउँदा उनीहरुले अन्त्येष्टि गरिसकेका रैछन्, ‘तुलबहादुर भन्छन्, ‘छोरा मरेको जस्तै लागेको छैन, आफ्नै आँखाले उसको शव देखेको भए गुमाए भन्ने लाग्थ्यो होला तर देख्नै नपाइ अरुले नै दाहसँस्कार गरेको खबर सुनेर म र मेरो परिवार बेचैन बनेका छौं ।’

आफ्ना छोरा र दुई पटक शव जलाउने प्रेम पुनको शारीरिक बनावट र उमेर उस्तै भएकाले झुक्किएको भए पनि आफूहरुको चित्त बुझाउन निकै कठिन भइरहेको उनी बताउँछन् । प्रहरीले आफूलाई एक पटक खबर नगरी अर्कैलाई शव बुझाइदिएको भन्दै उनले रोष प्रकट गरे। ‘कसैले दुईदुई पटकसम्म दाहसँस्कार गर्न पर्‍यो, यता आफूले छोराको दाहसंस्कार गर्न समेत पाएन, अब मैले के गर्ने ? कसरी परिवारको चित्त बुझाउने ?’

 

भीषण बाढीले बगाएका शव क्षतविक्षत अवस्थामा भएकाले पहिचानमा समस्यामा हुँदा एक युवाको शव अर्कैले अन्त्येष्टि गरेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी इन्चार्ज प्रकाशसिंह भण्डारीले बताए । ‘हामीले शव फेला पारेपछि केही परिवारलाई बोलायौं, बेपत्ता रहेका ३१ वर्षीय प्रेम पुनका आफन्तले आफ्नो व्यक्ति भएको बताएपछि हामीले दाहसंस्कार गर्नका लागि जिम्मा लगाएका हौं, ‘प्रहरी निरीक्षक भण्डारीले भने, ‘त्यसको भोलिपल्ट मात्र प्रेम पुनको सग्लो शव फेला परे पछि हामी पनि झस्कियौं, जतिबेला अर्को युवाको शव अन्त्येष्टि गरिएको थियो। अनि सनाखतमा समस्याबारे हामीले सम्बन्धित परिवारलाई जानकारी दियौं।’

सोमबार मात्रै तुलबहादुरले ल्याएको आफ्नो छोराको तस्बिरका आधारमा १९ गते प्रेम पुन भनेर जलाइएको शव नारायणको भएको खुलेको प्रहरी निरीक्षक भण्डारीले बताए । हालसम्म फेला परेका शवमध्ये १५ जनाको सनाखत भइसकेको छ । दुईजनाको सनाखत हुन अझै बाँकी छ । बाढी प्रभावित क्षेत्रमा अहिले पनि बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ ।

बाढीले ढोरपाटन ७,८ र ९ का ८० घर बगाएको छ । परिवारका सदस्यसहित घर बगाएकाहरु अहिले कोही आफन्तको आश्रयमा छन् भने कोही ढोरको गोठ तथा पाल टाँगेर पनि बसिरहेका छन् ।

बाढी प्रभावितहरुलाई जिल्लासहित देश विदेशबाट ठूलो राहत सामग्री सहयोग प्राप्त भए पनि ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ उता पुरै सडक अवरुद्ध हुँदा समस्या भएको छ । बुर्तिबाङबाट करिब ४ घण्टाको पैदल यात्रा पछि मात्रै बाढीग्रस्त क्षेत्रमा पुग्न सकिन्छ । पैदल यात्रा मार्फत जाँदा पनि धेरै ठाउँमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको ढोरपाटन नगरपालिकाका उपमेयर करमति पुन बताउँछन् । अब तीनवटा डोजर प्रयोग गरेर सवारी आवागमन सूचारु गर्न प्रयास भइरहेको र केही दिन लाग्ने उनले बताए ।

साभार -यो खबर अन्नपूर्ण पोष्टले छापेको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!