महोत्तरीसहितका मिथिलाक्षेत्रमा अहिले घरघरैजसो ‘जितिया’ पर्वको चर्चा छ । मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष (सोह्रश्राद्ध) शुरु भएसँगै पुत्रवती (सन्तानवती) मिथिलानी (मिथिलाका नारी) हरुमा जितिया पर्वको तयारी देखिएको हो ।
तराईको पौराणिक र पारम्परिक महत्वको मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष) शुरु हुनासाथै पुत्रवती मिथिलानीले जितियाको चर्चा र तयारी थाल्ने पुरानो परम्परा हो । सन्तानको सौर्य वृद्धि र कल्याणको कामनासहित मनाइने यो पर्व यसपालि आउने बिहीबार (भदौ २५ गते) परेको छ ।
पुत्रवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ । पितृपक्ष शुरु हुनासाथै बर्तालु महिला आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुट्ने पुरानो मैथिल परम्परा हो । यसअनुसार पितृपक्ष शुरु भएसँगै मिथिलानी आत्मिक र दैहिक शुद्धिसँगै जितिया व्रतका लागि मानसिकरूपमा तयार भइसकेका छन् ।
“सोलह सराध (सोह्रश्राद्ध) शुरु भयो नि..! हाम्रो जितियाको तयारी पनि शुरु भयो”, कठोर जितिया व्रतको मानसिक तयारी गरिसक्नु भएकी भङ्गाहा–४ रामनगरकी अशीया चौधरी थारु भन्नुहुन्छ, “यसपालि कोरोनाले अप्ठ्यारो थपेको छ, त्यसैले पहिलेदेखि नै सामानको जोहोसँगै मन पनि बनाइराखेकी छुु ।”
असोज कृष्णपक्ष (पितृपक्ष) को अष्टमी शुरु हुनु एक घडी (करिब साढे दुई घण्टा) पूर्व शुरु हुने उपवास एक अहोरात्रपछि नवमी तिथि एक घडी कटाएर समापन गरिने मैथिल परम्परा छ । तिथिको घटबढले यो व्रत कहिलेकाहीँ ४० घण्टासम्मको भएको मिथिलानी बताउँछन् । पर्वमा निराहार व्रत शुरु गरिएपछि समापन नगरियुञ्जेल थुक निल्न, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा र झारपात मार्न, चुँँड्न नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ ।
सन्तानको सौर्य वृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै शुरु हुने गरेको हो । पहिले सन्तान (छोरा÷छोरी)को कल्याण कामनार्थ गरिँदै आइएको यो व्रतपछि पुत्रका नाउँमा सीमित गरिएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ) का साहित्य विषयका उपप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।
पर्र्वमा बर्तालुले अष्टमी तिथि शुरु हुन एक घडी पहिले दहीचिउरा खाइसक्नु पर्छ । बर्तालुले दहीचिउरा खाने यो विधिलाई मिथिलामा ‘ओगटन’ (दर) भनिन्छ । यो व्रत एक अहोरात्र कटाएर नवमी तिथि एक घडी नाघेपछि समापन गर्ने मैथिल परम्परा छ । यसअनुसार यसपालि आउने बुधबार राति १० बजेर ०९ मिनटको समयमा अष्टमी शुरु हुने हुँदा ‘ओगटन’ यसको एक घडीपूर्व गरिने छ । त्यसैगरी व्रतको दिन बिहीबार राति ११ बजेर १२ मिनटमा नवमी लागे पनि एक अहोरात्र कटाउने विधिले बर्तालुले शुक्रबार बिहान सूर्योदयसँगै समापन गर्नसक्ने छन् । यसअनुसार यसपालि ३६ घण्टाभित्रैको उपवास परेको छ । यो व्रतको महिमा जनजिब्रोमै रहने गरेको मिथिला संस्कृति र परम्पराका ज्ञाता एवं कर्मकाण्डी पुरोहित ब्राह्मण बर्दिवास नगरपालिका–२ का महेशकुमार झा बताउनुहुन्छ । मिथिलामा विद्यापति पञ्चाङ्ग, मिथिला पञ्चाङ्ग र अभिजित पञ्चाङ्ग (पात्रो) को आधारमा व्रत, कर्मकाण्डीय विधि र पर्व मनाउने परम्परा छ ।
“तोहर माय जितिया कैने छौ त आ भिड” (तिम्री आमाले जितिया गरेकी छन् भने आउ भिड) मिथिला क्षेत्रमा हुने झैझगडामा एकअर्कोपक्षलाई ललकार्नु पर्यो भने यस्तै भनिन्छ । झैझगडा र ललकार्ने कुरा ठिक नभए पनि जितियाको महत्व भने यस्तो भनाइले उजागर हुने महोत्तरीकै भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय भङ्गाहाका प्रधानाध्यापक श्रीराम यादव बताउनुहुन्छ । “सन्तानको सौर्य वृद्धि र कल्याणको कामना गर्दै आमाले गर्ने जितिया व्रतको प्रभावले नै सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने मैथिल हिन्दू जनविश्वास छ”, प्रधानाध्यापक यादवले भन्नुभयोे, “कुनै मानिस लुरे, डरछेरुवा वा हुतिहारा देखिए यसका लागि आमाले जितिया व्रत गरिनछन् भन्ने टिप्पणी जोसुकैले गर्ने गर्छन् ।” मिथिलामा यो व्रतबारे गरिने यस्ता टिप्पणीले पनि यसको महत्ता बुझ्न सकिने यादवको थप भनाइ छ ।
सन्तान (पुत्र) को कल्याण र सौर्य वृद्धिको कामनासहित पुत्रवती मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन व्रत बस्ने परम्परा रहेको छ । यस व्रतमा पुरुषहरुले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै आफूहरुले पनि दिवङ्गत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको भङ्गाहा–४ कै थारुटोल बनराकी ७० वर्षीया रामसुनरदेवी थारु बताउनुहुन्छ ।
पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) एकाबिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्रत सङ्कल्प गरिन्छ । बर्तालुले दिवङ्गत सासू, जेठानी, बूढीसासू, नन्द–आमाजू र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितहरुको भनाइ छ । ती सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर’ भन्ने कामना गरिन्छ ।
मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिदै आइएको यो पर्वबारे अब पछिल्लो पुस्ताले बहस र तर्कवितर्क गर्न थालेका छन् । पर्वमा सन्तानका लागि नभनिएर पुत्रको कल्याण र सौर्य वृद्धिको कामना भनिने परम्परा रहेकाले यस पर्वले सन्तानभित्र नै लैङ्गिक विभेद गरेको भन्ने स्वर नयाँ पुस्ताको छ । पर्वको महत्ता र गरिमालाई अझ मजबुत बनाउन अब सन्तानका लागि भनेर व्रतको कामना गर्ने परम्परा बसाल्न पर्ने महिला जागरण क्षेत्रमा क्रियाशील रहँदै आएका अधिकारकर्मी बताउँछन् । वास्तवमा पहिलेका आमाहरुले सन्तानकै लागि यो व्रत शुरु गरेका भए पनि कालान्तरमा परिवार र समाजमा पुरुष प्रभुत्व बढ्दै गएपछि ‘पुत्र’ का लागि भन्न थालिएको महोत्तरीकै बर्दिवास नगरपालिका–९ पशुपतिनगरकी सामाजिक, राजनीतिक कार्यकर्ता दिपीयादेवी महतो बताउनुहुन्छ । आपूmले पछिल्लो ३० वर्षदेखि गर्दै आएको यो पर्व ‘पुत्र’का लागि मात्र नभएर सन्तानको कल्याणका लागि गरेको दिपीयाको भनाइ छ ।
व्रत अवधिमा बर्तालुले राजा जिमुतवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एकजना विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जिमुतवाहन (देवरुप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइ दिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको मिथिला लोकसंस्कृति र परम्पराका ज्ञाता बताउँछन् । राजा जिमुतवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै शुुरु भएको हुनसक्ने महोत्तरीको जलेश्वर नगरपालिका–६ बखरीका बासिन्दा पूर्वप्रशासक एवं साहित्यकार महेश्वर राय बताउनुहुन्छ ।
भारतवर्षको प्रसिद्ध नर्र्वदा नदीले सिञ्चेको क्षेत्रलाई भविष्य पुराणले अत्यन्त पवित्र र उर्वरक्षेत्र उल्लेख गरेको छ । नर्वदा सभ्यता क्षेत्रमै द्वापरयुगमा प्रतापी राजा शालीवाहनका छोराका रुपमा देवदूत (देवताको अंश) लिएर जिमुतवाहन पैदा भएका र उनले दुष्टात्माहरुको संहार गरी धर्मनिष्ठहरुको संरक्षण गरेका कथाका आधारमा यिनको आराधनाले सन्तानको कल्याण हुने विश्वाससाथ ‘जितिया’ पर्व परम्परा शुरु भएको पूर्वप्रशासक महोत्तरीका वरिष्ठ पत्रकार ८० वर्षीय कृष्णचन्द्र झा बताउनुहुन्छ । जितिया पर्वमा बर्तालुले यिनै प्रतापी राजा जिमुतवाहनको कुशको प्रतिमा स्थापित गरेर आराधना गर्दै कठोर व्रत पूरा गर्छन् । यो व्रतको महत्व र व्रत विधि भगवान् शङ्करले देवी पार्वतीलाई बताएपछि चलनमा आएको भविष्य पुराणमा उल्लेख छ ।
जितिया मिथिलाको आम जनजिब्रोमा रहेको साझा पर्व हो । आमाका लागि सन्तान कति प्रिय छन् भन्ने दृष्टान्त पनि यो पर्वले दिने पछिल्लो पुस्ताका मिथिलानी पनि बताउँछन् । यद्यपि पुत्रको सौर्य वृद्धि र कल्याणमात्र नभनिएर सबै स्वैच्छिक व्रत बस्ने आमाहरुले यो सन्तानका लागि (छोराछोरी दुवैका लागि) गरिएको भन्न चाहिँ अब नछुटाउन मानअधिकार क्षेत्रमा कार्यरत महोत्तरीकै चिरपरिचित सामाजिक कार्यकत्र्ता रेखा झाको बर्तालु आमाहरुसँग आग्रह छ । यसले सबै सन्तान माया, स्नेह र अवसरका लागि समान हकदार छन् भन्ने सन्देश पनि प्रवाह हुने झाको विश्वास छ ।