नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । कुनै पनि व्यक्ति संक्रमित हुनु ठूलो कुरा होइन । कोरोना भनेको सामान्य रुघा खोकीजस्तै हो । तर, के चाहिं सत्य हो भने निको हुनका लागि संक्रमितमा उच्च आत्मबल चाहिं हुनुपर्छ । कोरानाका नाममा विश्वमै आतंक मच्याइएको छ । के कारणले र कसले आतंक मच्याइरहेको छ भन्ने विषय त विस्तारै प्रस्ट हुँदै जाने नै छ । तर, कोरोना नियन्त्रणका नाममा लकडाउन र निषेधाज्ञा जारी गरेर अर्थतन्त्रलाई नै तहसनहस बनाउने काम भइरहेको छ ।
निषेधाज्ञा र लकडाउनले कोरोना नियन्त्रणमा आउन सक्दैन । लकडाउन लगाएर सरकार चाहिं चुप लागेर बस्ने हो भने त्यसको कुनै अर्थ छैन । नेपालमा त्यस्तै अवस्था देखिएको छ । गत चैत ११ गतेदेखि लकडाउन लगायो सरकारले । तर लकडाउन लगाएर सरकारले आइसोलेसन, आइसीयू, भेन्टिलेटरलगायतका स्वास्थ्यसँग सम्बन्धित पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने थियो । तर, सरकारको ध्यान सत्ता टिकाउनेतर्फ मात्रै केन्द्रित भएको देखिन्छ ।
सरकारले हालसम्म १२ अर्बभन्दा बढी रुपैयाँ कोरोना नियन्त्रण र रोकथामका नाममा खर्च गरिसकेको तथ्यांक सार्वजनिक भएको छ । त्यो पैसा कहाँ खर्च भयो ? त्यो पैसाको उपलब्धि के ? थुप्रै प्रश्न उब्जिएका छन् यतिबेला । लकडाउन र निषेधाज्ञा जारी गर्दा पनि संक्रमित र मृतकको संख्या बढ्दै गएको छ । यदि सही रुपमा सरकारले खर्च गरेको थियो भने संक्रमण रोकथाम हुनुपर्ने थियो । जे भए पनि यस्तो संकटको बेला भ्रष्टाचार भयो भने त्यसको मूल्यांकन इतिहासले गर्नेछ । के लकडाउन र निषेधाज्ञा नै कोरोना रोक्ने उत्तम विकल्प हो भने साढे ५ महिनाभन्दा लामो समयदेखि लकडाउन जारी छ । खोई त संक्रमण रोकिएको ?
नेपालको अर्थतन्त्र रेमिट्यान्स र आयातमा आधारित छ । युवाहरू विदेशमा रोजगारी गुमाएर धमाधम फर्किरहेका छन् । जसका कारण अब रेमिट्यान्स घट्ने निश्चित छ । यस्तो अवस्थामा सरकारले लकडाउन र निषेधाज्ञा होइन अर्थतन्त्रलाई चलायमान बनाउने नीति अबलम्बन गर्नुपर्छ । अब सबै किसिमका उद्योग व्यवसाय सञ्चालन गर्न दिनुपर्छ । तर, त्यसका लागि स्वास्थ्य सावधानी र सतर्कता भने अपनाउनुपर्छ । अनिवार्य रुपमा मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, साबुन–पानीले हात धोइरहने, सामाजिक दूरी कायम गरेर उद्योग व्यवसाय सञ्चालन गरेमा आर्थिक गतिविधि बढ्छ । अमेरिका, युरोपलगायतका विकसित मुलुकहरूले पनि कोरोनाकै बीच पनि आर्थिक गतिविधिलाई चलायमान बनाएका छन् । व्यवसायीलाई निराश हुने अवस्था सिर्जना गरेका छैनन् । नेपालमा अब विस्तारै लकडाउन र निषेधाज्ञाको अन्त्य गर्नुपर्छ । यदि लकडाउन र निषेधाज्ञा लगाउँदा संक्रमित नहुने हो भने अहिले नै यतिधेरै नेपालमा संक्रमित किन भइरहेका छन् ? यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।
सरकार जिम्मेवार भएन भनेर नागरिक पनि सरकारले जस्तै गैरजिम्मेवार हुनुहुँदैन । नागरिक सचेत भएमा कोरोनालाई परास्त गर्न सकिन्छ । मुलुकको आर्थिक गतिविधिलाई पुरानै लयमा फर्काउन सकिन्छ । अनावश्यक भीडभाड गर्ने, मास्क नलगाउने, स्वास्थ्य सुरक्षामा ध्यान नदिने हो भने कोरोना संक्रमण बढ्न सक्छ । मैले आफ्नै लागि मास्क लगाउनुपर्छ भन्ने सोच्नुपर्छ आमनागरिकले । भनाइको अर्थ जनता आफैं सचेत भएमा कोरोनाले केही गर्न सक्दैन । हङकङलगायतका मुलुकमा मास्कलाई अनिवार्य गरिएको छ । जसका कारण कोरोना फैलिन पाएको छैन ती देशमा ।
अर्को कुरा नेपालमा कोरोना संक्रमितलाई नकारात्मक रुपमा हेर्ने गरेको पाइएको छ । अझ कतिपय ठाउँमा संक्रमित व्यक्ति र डाक्टरमाथि नै दुव्र्यवहार हुनु दुखद हो । यसले नेपाली समाज कहाँ छ भनेर स्पष्ट हुन्छ । जतिसुकै विकासका कुरा गरे पनि समाजको मानसिकता एकदमै कमजोर देखिएको छ । संक्रमणमुक्त भएर फर्किएका व्यक्तिहरुलाई समेत समाजले हेयको दृष्टिले हेरिरहेको पाइन्छ । उनीहरुलाई हौसला दिनुको सट्टा अपराधीजस्तो मान्नुले नेपाली समाज कुन अवस्थामा छ भनेर उदाङ्गो भएको छ ।
संक्रमित हुनु पाप होइन । जो कोही पनि संक्रमित हुन सक्छन् । तर, संक्रमितलाई अपराधीको रुपमा हेरिरहेको छ नेपाली समाजले । ती व्यक्तिले भोलि आफू पनि संक्रमित हुन सक्छु भनेर सोचेको देखिँदैन । संक्रमितको उपचारमा संलग्न डाक्टरलाई छरछिमेकले समेत नराम्रो दृष्टिले हेर्ने गरेको सञ्चारमाध्यमहरूमा आइरहेका छन् । यदि ती डाक्टरहरूले उपचार गर्न छाडिदिने हो भने के अवस्था हुन्छ ? त्यसतर्फ आमनागरिकले सोचेका छैनन् । आफ्नो ज्यान र परिवार नभनी दिनरात बिरामीको उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीहरूलाई उच्च सम्मान गर्नुपर्छ । कोरोनाबाट संक्रमितको उपचारमा संलग्न चिकित्सक, सुरक्षामा खटिने सुरक्षाकर्मी, सूचना प्रवाहमा अहोरात्र घट्ने सबै सञ्चारकर्मीहरूलाई सलुट गर्न कन्जुस्याइँ गर्नुहुँदैन ।
(लेखक अष्ट्रियाको इन्स्ब्रुकमा विगत दुई दशकदेखि श्रीमती सोमत, छोरा लिओन र छोरी दिवानीसँग बसोबास गर्दै आउनुभएको छ । घमाल रेष्टुरेन्ट व्यवसायमा आबद्ध हुनुहुन्छ ।