सोमबार, भाद्र १५, २०७७ || 608  पटक पढिएको

नदी कटानका कारण कर्णाली नदी फुट्ने खतरा बढेको छ । टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनको मूलपानीमा कर्णाली नदीले तटबन्ध कटान गर्दा टीकापुरमा जोखिम बढेको हो ।

नदीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध कटान शुरु गरेको छ । “कटान तीव्ररुपमा भइरहेको छ । नदीले बहाव बदल्ने देखिन्छ”, स्थानीय झपट सोडारीले भने, “यसलाई नियन्त्रण नगरे बस्तीमा क्षति पुग्ने निश्चित छ । नदी बस्तीमा पसे टीकापुर २, ७, ८ सखाप हुने देखिन्छ । हजारौँ घर डुबानमा पर्नेछन् ।”

सोडारीका अनुसार यस वर्ष नै निर्माण गरिएको तटबन्ध कमजोर रहेकाले नदी कटान बढेको हो । नदीले कटान तीव्र पार्दा नदी बस्तीमा फर्किने अवस्था आएको उनको भनाइ छ । उनी भन्छन्, “नदीलाई तत्काल नियन्त्रणको प्रयास नभए बस्ती सखाप हुन्छ ।” नदी कटानले करिब १०० मिटर तटबन्ध बगेर जाने अवस्थामा पुगेको छ । तटबन्ध बगे कर्णालीको पानी नगरक्षेत्र पस्ने जोखिम रहेको छ । नदीले कटान गरिरहेको क्षेत्रलाई टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल, सिँचाइ आयोजनाका प्रतिनिधि, प्राविधिकसहितको टोलीले निरीक्षण गरेको छ ।

“नदी कटानका कारण बस्ती जोखिम पर्ने देखिएको छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा विपद् समितिको बैठक बसी तत्कालका लागि जैविक तटबन्ध गर्ने निर्णय भएको छ”, नगर प्रमुख रावलले भने, “नदीमा पानीको बहाव घट्न थालेपछि कटान बढेको छ । नदी कटान नरोके वडा नं २ पूरै उच्च जोखिममा पर्नेछ ।”

विपद् समितिले तत्काल जैविक तटबन्धका लागि नदी नियन्त्रण एकल प्रयासबाट मात्र सम्भव नभएकाले सशस्त्र र जनपद प्रहरीको सहयोग लिने निर्णय गरेको छ । नदीमा आजैबाट नियन्त्रणको प्रयास शुरु गरिने भएको छ । यसका साथै नदी नियन्त्रणका लागि थप व्यवस्था गर्न जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिलाई गुहार गर्ने निर्णय गरी जिल्लालाई अनुरोध गरेको नगर प्रमुख रावलले बताए । “हामी एक्लैले नियन्त्रण सम्भव छैन, जिल्लालाई पहल गर्नका लागि अनुरोध गरेका छौँ”, उनी भन्छन्, “तत्काल सिँचाइ र नगरपालिकाले मिलेर स्थानीय, सशस्त्र प्रहरी र जनपद प्रहरीको सहयोग लिएर स्थानीय स्रोतको प्रयोग गरी नियन्त्रणको प्रयास गर्छौैं ।”

कर्णाली नदीको कटानले टीकापुर–५ स्थित टीकापुर पार्क क्षेत्रमा बनेको तटबन्धको माटोसमेत बगाउन थालेको छ । त्यहाँ पनि कटानको जोखिम रहेकाले यहाँ थप त्रास सिर्जना भएको छ । पार्क क्षेत्रमा तटबन्ध भत्किए टीकापुर पार्क तहसनहस हुनेछ । “पार्क किनारमा रहेको कर्णाली नदीको तटबन्ध भत्किए टीकापुर–५, ७, ८ वडामा डुबान र कटान हुनेछ”, स्थानीय बडघर धर्मराज जैसीले भने, “सिँचाइले नदी नियन्त्रणको काम निरन्तर गर्न आवश्यक छ ।”

बर्दियाको राजापुर नगरपालिका पनि जोखिममा

कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीले बर्दियाको राजापुर नगरपालिका–१ चनौरा, टिउनी, वडा नं ३ को तिघरामा कटान तीव्र पारेको छ । नदीले कटान तीव्र पारेपछि स्थानीयवासीले जैविक तटबन्ध गर्न थालेका छन् ।

कर्णाली नदीमा पानीको बहाव बढ्दा बर्दियातर्फ बग्न थालेपछि राजापुर नगरपालिकाको वडा नं १ र ३ जोखिममा परेको हो । वडा नं १ मा नदी नियन्त्रण गर्न नसके दौलतपुर, चनौरा र टिउनीका हजारौँ घर डुबान र कटानमा पर्नेछन् । साथै वडा नं ३ को तिघराका सयौँ परिवार विस्थापित हुने अवस्था आउनेछ ।

बर्दियातर्फ कर्णाली वन व्यवस्थापन आयोजनाको सहयोगमा नदी नियन्त्रणको काम भइरहेको छ । आयोजनाले बर्दियातर्फ तटबन्ध कार्य गरिरहेको छ । “कर्णालीको पानी बर्दियातर्फ बग्दा आयोजनाले बनाएको तटबन्ध भत्कने जोखिम बढेको छ”, दौलतपुरका लोकराज ढुङ्गानाले भने, “नदीले वडा नं ३ मा पाँच बिघा जग्गा कटान गरिसकेको छ भने वडा नं १ मा कर्णाली नदी व्यवस्थापन आयोजनाले बनाएको बाँध भत्कने जोखिम बढेको छ ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!